उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १४ र १५ भएर बग्ने सुनकोशी नदी तटीय क्षेत्रका स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्यले जल पर्यटन प्रवर्द्धनमा नगरपालिका जुटेको छ। सुनकोशी नदीआसपास बस्ने स्थानीयवासीलाई जल पर्यटनसँग जोड्दै व्यावसायिक रूपमा जलयात्रा (र्याफ्टिङ) सञ्चालन गर्न त्रियुगा नगरपालिका जुटेको हो।
जलपर्यटनको विकास गरी कोशी तटीय क्षेत्रका स्थानीयलाई आयआर्जनसँग जोड्ने उद्देश्यले पाँचदिने ‘आधारभूत कायक तथा र्याफ्टिङ तालिम’समेत दिइएको छ। नगरपालिकाका अनुसार आधारभूत तालिमपछि व्यावसायिक लेभलको तालिम दिने तयारी छ।
तालिममा त्रियुगा– १४ र १५ का नाैजना स्थानीय युवाले सहभागिता जनाएका छन्। र्याफ्टिङलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेकाले नगरपालिकाले र्याफ्टिङसम्बन्धी आधारभूत तालिम सम्पन्न गरी व्यावसायिक तालिमसमेत दिने भएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए।
त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा हिमालयन आउटडोर प्रोजेक्टको सहकार्य र होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजनामा र्याफ्टिङसम्बन्धी आधारभूत तालिम सञ्चालन भएको थियो। तालिममा सहभागी नाै युवालाई कायक तथा र्याफ्टिङसम्बन्धी आधारभूत तहको सर्टिफिकेटसमेत प्रदान गरिएको छ।
र्याफ्टिङको लाइसेन्स प्राप्त गर्ने युवालाई जलयात्रा व्यवसाय सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गरी आर्यआर्जनसँग जोड्ने नगरप्रमुख बस्नेतको भनाइ छ। र्याफ्टिङका लागि रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको क्षेत्रमा पर्ने सुनकोशी नदी सम्भावनायुक्त रहेको र उक्त क्षेत्र जंगल करिडोरमा पर्ने भएकाले यो स्थानमा जल पर्यटन विकास गर्न सके पर्यटन क्षेत्रमा नगरपालिकाले ठुलो फाइदा लिन सक्ने हिमालयन आउटडोर प्रोजेक्टका सञ्चालक तथा प्रशिक्षक अनुप गुरुङले बताए।
होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिट बस्नेतले सुनकोशी नदीमा तीन प्रकारका र्याफ्टिङ सञ्चालन गर्न सकिने बताए। उनले भने, ‘फोक्निटारदेखि धाप्लाङघाटसम्म १३ किलोमिटर, धाप्लाङघाटदेखि कम्फुघाटसम्म ६ किलोमिटर र धाप्लाङघाटदेखि सप्तकोशीको चतरा कोठुसम्म ५८ किलोटिरमा र्याफ्टिङ सञ्चालन गर्न सकिने एक अध्ययनले देखाएको छ।’