आइएमई ग्रुपले बागलुङमा ‘इला कम्फर्ट’ होटेल सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गृह जिल्ला बागलुङमा सुविधायुक्त होटेल सञ्चालनमा ल्याएका हुन् ।
करिब ३० करोड रुपैयाँ लगानी रहेको होटेलको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरे । बागलुङ बजारक्षेत्रभित्र करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा ३० कोठा रहेका छन् । थ्री स्टारको मान्यताबराबरको यो होटेलको सुविधा भने पाँचतारे होटेलबराबरको रहेको अध्यक्ष ढकालले बताए । उनले आफ्नी आमाको आग्रहमा छोरा सचिन ढकालको अगुवाइमा आफ्नै जन्मभूमिमा होटेल सञ्चालन गरेको बताए । पर्यटनमन्त्री पाण्डेले निजी क्षेत्रको लगानीमा बनेका पर्यटकीय पूर्वाधारले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पु¥याएको बताए । उनले बागलुङमा सञ्चालन गरेको यो होटेलले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पु¥याउने बताए । उनले धौलागिरि क्षेत्रमा पर्यटनको अधिक सम्भावना रहेको भन्दै यस क्षेत्रमा लगानी गरेर लाभ लिन निजी क्षेत्रलाई आग्रह गरे ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दीपक गिरी, नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारलगायतले सुविधासम्पन्न होटेलको स्थापनाले यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याउने बताए । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्र र लगानीलाई राज्यले विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले होटेल सञ्चालनमा आएपछि बागलुङमा व्यवसायमैत्री वातावरण भएको सन्देश गएको बताए । बागलुङमा सुविधासम्पन्न होटेल खोज्ने पर्यटकका लागि इला कम्फर्ट विकल्प बनेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले बताए ।
ढकालले केही वर्षअघि बागलुङबाटै महासंघको वरिष्ठ उपाध्यक्ष उम्मेदवारी घोषणा गर्ने क्रममा आफ्नो जन्मभूमिमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्ने सोच रहेको बताएका थिए ।