मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Monday, 03 February, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ माघ २१ सोमबार o८:१५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्तनपान गराउने आमाको संख्या घट्दो, पाउडर दुधले बिग्रिँदै बच्चाको स्वास्थ्य

आमाको दुध प्रतिस्थापन गर्ने पाउडरजन्य उत्पादन बिक्री छ्यापछ्याप्ती, खुद्रा बजारदेखि सुपरमार्केटसम्मले बेच्छन् विनाअनुमति

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार o८:१५:oo

‘शिशुका लागि स्तनपान अमृतसमान’ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्वास्थ्य संस्थाहरूले वर्षौँदेखि सञ्चार गरेको यो विश्वव्यापी सूचना हरेकलाई कण्ठजस्तै भइसक्यो । विश्व स्वास्थ्य संगठनका अनुसार शिशुलाई स्वस्थ राख्न जन्मिएको एक वर्षसम्म २४ घण्टामा कम्तीमा १२ पटक आमाको स्तनपान गराउनुपर्छ । तर, नेपालमा स्तनपान गराउने आमाको संख्या घट्दो दरमा छ ।

गत वर्ष गरिएको राष्ट्रिय सर्वेक्षणले स्तनपान गराउने आमाको संख्या ५५ प्रतिशत मात्रै रहेको देखाएको छ । यो दुई वर्षभन्दा मुनिका बालबालिकालाई आधार मानेर गरिएको सर्वेक्षण थियो । जबकि आठ वर्षअघि गरिएको सर्वेक्षणमा ६५ प्रतिशत आमाले स्तनपान गराएको रिपोर्ट आएको थियो ।

आमाले नै बजारिया पाउडर दुधमा जोड गर्दा बच्चाको स्वास्थ्य बिग्रिँदै गएको चिन्ता सरोकारवालाहरूको छ । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं आमाको दुधसँग ‘फर्मुला फिड’को तुलना गर्नै नसकिने बताउँछन् । ‘आमाको दुधमा जे–जे तत्व हुन्छ, फर्मुलामा त्यो हुँदैन । आमाका दुध जति पोसिलो हुन्छ, त्यस्तो फर्मुला फिडमा त के पशुपक्षीको दुधमा पनि हुँदैन,’ उनले भने, ‘आमाको दुध खुवाउनै नसक्ने अवस्थामा यसको प्रयोग गर्नुपर्ने बाध्यता हुन सक्ला । सकेसम्म यसको प्रयोग नगरेकै राम्रो हो ।’

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. वसन्त अधिकारीले आमाले स्तनपान नगराउँदा बच्चाको स्वास्थ्यमा अनेक समस्या देखिन सक्ने बताए । बजारमा पाइने विभिन्न प्रकारका रेडिमेड दुध खुवाउने बालबालिकालाई पछि सरुवारोग, मोटोपन, पाचन प्रणालीमा समस्या, मधुमेह, मुटुरोग, मिर्गौलारोगजस्ता समस्या देखिन सक्ने उनको भनाइ छ ।

‘नवजात शिशुलाई आमाको दुध खुवाउन छाडेर बजारमा पाइने फर्मुला तथा ल्याक्टोजिनहरू खुवाउने क्रम बढेको देखिन्छ, कतिलाई रहर छ, कतिलाई कहर होला । यसले शिशुको वृद्धि विकासमा असर पार्छ,’ डा. अधिकारीले भने, ‘आमाको दुध नआउने र बाध्यकारी आमालाई एउटा परिस्थितिले रेडिमेड प्रोडक्ट खुवाउनुपर्ने अवस्था होला, तर रहर र सौन्दर्य बिग्रने भन्दै बच्चालाई स्तनपान नगराउनु राम्रो होइन ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माले ऐन समयानुकूल नभएकाले बच्चाको जीवनसँग जोडिएका वस्तु उत्पादनलाई कडाइ गर्न नसकिएको बताइन् । ‘बच्चाको जीवनसँग जोडिएको यो विषय निकै गम्भीर छ, तर कानुन समयानुकूल भएन,’ उनले भनिन्, ‘खाद्यले मात्रै चाहेर पनि यसमा कडाइ गर्न सक्दैन, सबैको समन्वय चाहिन्छ ।’

सरकारले आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ र सोसम्बन्धी नियमावली, २०५१ जारी गरेको थियो । अहिले पनि कार्यान्वयनमै रहेको उक्त ऐनले आमाको दुध प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण गर्ने व्यवस्था गरेको छ । जनस्वास्थ्य प्रमुख डा. अधिकारीका अनुसार आमाको दुध प्रतिस्थापन गर्ने वस्तुहरूको फोटो टाँस्न, विज्ञापन गर्न, सजाएर राख्न, अभिभावकलाई प्रलोभनमा पार्न पाइँदैन । यस्तो वस्तु खुवाउन प्रोत्साहन गर्नेलाई सरकारले कारबाही गर्न सक्छ । त्यस्तै, फर्मुला, ल्याक्टोजिनजस्ता दुधजन्य वस्तुहरूको प्याकेट सही र स्वस्थ किसिमले प्याकिङ गरेको हुनुपर्ने, बट्टा तथा प्याकेटको बाहिर ‘बच्चालाई आमाको दुध सर्वोत्कृष्ट मानिन्छ’ भन्ने नारा अनिवार्य लेख्नुपर्ने नियम छ ।

तर, उक्त ऐन र नियमावलीले गरेका व्यवस्था उल्लंघन गर्दै मेडिकलदेखि किराना पसलेसम्मले पाउडरजन्य दुध बिक्री गरिरहेका अनुगमनमा भेटिएको कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. सतिश विष्टले बताए । उनी यसलाई नियन्त्रण तथा कानुनसम्मत गराउन आवश्यक रहेको बताउँछन् । ‘केही दिनअघि मात्रै पनि हामीले अनुगमन गर्दा ठुला मार्टदेखि खुद्रा पसलसम्म आमाको दुधलाई प्रतिस्थापन गर्ने रेडिमेड वस्तुहरू बिक्री गरेको भेटियो । पहिलो चरणमा हामीले सम्झाइबुझाइ गरेर छाडेका छौँ । अबको अनुगमनमा पनि त्यस्तै भेटिए जरिवाना तिराइनेछ,’ उनले भने ।

किन घट्दै छन् स्तनपान गराउने आमा ?
आमाको व्यस्तता, स्तनको आकार बिग्रिने डर र झन्झटका कारण स्तनपान गराउने आमाहरूको संख्या घट्न थालेको विज्ञहरू बताउँछन् । जनस्वास्थ्य कार्यालय काठमाडौंकी जनस्वास्थ्य अधिकृत अनिता खनालका अनुसार कामकाजी महिलाले व्यस्त दैनिकीका कारण स्तनपान गराउन सकेका छैनन् । तर, अधिकांशले भने स्तनको आकार बिग्रिने डर तथा विज्ञापनको भ्रममा परेर बच्चालाई ल्याक्टोजिन, फर्मुलाजस्ता उत्पादन खुवाउने गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. सतिश विष्ट बताउँछन् । आफ्नो शरीर बिग्रिने बहानामा आमाहरूले बच्चाको स्वास्थ्य बिगारिरहेको उनको चेतावनी छ । त्यसो त आफ्नो दुध नआएपछि बट्टाको दुध खुवाउनुपर्ने बाध्यतामा पनि कतिपय आमा रहेको उनले बताए ।