खसम रुसमा अस्ताए, नेपालमा कुशको शव बनाएर बिदाइ

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

१५ महिनाअघि मात्रै रुसी सेनामा भर्ती भएर युक्रेन युद्धको मोर्चामा खटिएका ओखलढुंगा मोलुङ गाउँपालिका पात्लेका विनोद सुनुवारको श्रीमती सिर्जना बस्नेतसँग साढे दुई महिनाअघि अचानक सम्पर्क टुट्यो । उनी यही हिउँदमा नेपाल आउने तयारीमा थिए । घर आउनुपर्ने मान्छे साढे दुई महिनासम्म सम्पर्कविहीन भएपछि सिर्जनाको मनमा चिसो पसिसकेको थियो । नभन्दै तीन दिनअघि उनले श्रीमान्को मृत्युको खबर पाइन् । शवसमेत नआउने निश्चित भएपछि परिवारले सोमबार कुशको शव बनाएर पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरे, शवमा १४ वर्षीय छोराले दागबत्ती दिनुपरेको दृश्य हृदयविदारक थियो ।

नेपाली सेनाबाट ५ असोज ०८० मा राजीनामा दिएका विनोद त्यसको दुई साता नहुँदै १७ असोजमा रुसी सेनामा भर्ती हुन भनेर उडेका थिए । सिर्जनाका अनुसार २६ नोभेम्बर २०२४ मा विनोदले रुसी पासपोर्ट पनि पाइसकेका थिए । ‘अरू वेला त निकै कुराकानी हुन्थ्यो, साढे दुई महिनादेखि सम्पर्कविहीन हुनुभयो,’ सिर्जनाले भनिन् ।

युद्धमोर्चामा खटिएका श्रीमान्ले त्यहाँको फोटो भिडियो पनि पठाउँथे । त्यो हेरेर सिर्जनाको मुटुमा चिरा पथ्र्यो । ‘त्यहाँको फोटो, भिडियो सबै पठाउनुहुन्थ्यो, उहाँ हराएपछि त्यो हेर्दा झन् सहनै नसक्ने पीडा भयो । मैले पहिल्यै भनेकी थिएँ– यस्तो दुःख गर्नुभन्दा त फर्किनुहोस्,’ उनले श्रीमान्सँगको विगत सुनाइन् ।

सिर्जनाले घर आउन आग्रह गर्दा विनोदले जवाफ फर्काउँथे, ‘सम्झौता नसकी आउन दिँदैन । भाग्न सक्ने स्थिति छैन । यताबाट भागेका साथीहरूलाई मस्कोबाट समातेर फेरि यहीँ ल्याएको छ । भागेर गएपछि जेलमा राख्छ । भागेर दुःख पाउनुभन्दा यहीँ ठिक छ ।’

परिवारको भविष्य राम्रो होला भनेर ६ लाख रुपैयाँ नेपाली एजेन्टलाई तिरेर रुसी सेनामा भर्ती भएका थिए, विनोद । रुसी नागरिक भएपछि उनले आफ्नो करार सम्झौता पनि नवीकरण गरेका थिए । राहदानी लिएर करार सम्झौता नवीकरण गरेपछि विनोदले खुसी हुँदै श्रीमती र छोरालाई पनि रुस बोलाउने योजना सिर्जनालाई सुनाएका थिए । तर, विनोदको योजना पूरा हुन पाएन । अहिले सिर्जना छोरासँग कीर्तिपुरमा बस्छिन् । अब उनीसँग श्रीमान्को सम्झना मात्र बाँकी छ, छोराको भविष्य निर्माण गर्नुपर्ने जिम्मेवारी पनि उनको काँधमा आइपरेको छ ।

सरकारी तथ्यांकअनुसार रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ । रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गरिदिन अनुरोध गर्दै ३४१ जनाले निवेदन दिएका छन् । रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएकाहरूको खोजी गरिपाऊँ भन्दै १२२ निवेदन परेका छन् ।

तर, ‘रुसी सेनामा भर्ती भएका नेपाली नागरिकको जीवन रक्षा अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीका अनुसार रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ६५ भन्दा बढी छ । यसरी मरेकाहरूले क्षतिपूर्ति पाउनुपर्छ भनेर आफूहरूले दबाब दिइरहेको भण्डारी बताउँछिन् ।

सुझावित समाचार