मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १२ शनिबार
  • Monday, 27 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १२ शनिबार १५:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा बैठकमा महामन्त्री राणाको चर्को आलोचना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १२ शनिबार १५:oo:oo

राजधानीमा जारी राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री धवलशमशेर राणाले ल्याएको राजनीतिक विचारको चर्को आलोचना भएको छ। राणाले शुक्रबार लिखित विचार राख्दै अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको विरोध गरेका थिए।

शुक्रबार बैठकमा महामन्त्री धवलशमशेर राणाको विचार भनेर केन्द्रीय समिति सदस्यहरूलाई बाँडिएको दस्तावेजलाई महामन्त्री कुन्ती शाहीले वाचन गरेकी थिइन्। शनिबार बोल्ने केन्द्रीय सदस्यले राणाको दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भएको भन्दै चर्को आलोचना गरेका हुन्।

तीनवर्ष संगठन विभागको प्रमुखसमेत रहेर काम गरेका राणाले संगठन कमजोर भएको भन्दै अध्यक्षलाई दोषारोपण गरेपछि केन्द्रीय सदस्यहरुले तीन वर्षमा महामन्त्रीले गरेको कार्यहरुको विवरण माग गरेका छन्। ‘देशभर राप्रपाको माहोल बढेका बेला नेतृत्वलाई कमजोर बनाउन खोजेको भन्दै कतिपय केन्द्रीय सदस्यले राणालाई कताबाट परिचालित भएको भनेर प्रश्न गरेका थिए,’ राप्रपाका एक केन्द्रीय सदस्यले भने।

महामन्त्री राणाको विचारमा अध्यक्ष लिङदेनको निष्ठामा प्रश्न उठाएपछि आक्रोशित पार्टीका सहमहामन्त्री धनबहादुर बुढाले गणतन्त्रवादी पार्टी एमालेबाट आएका राणाले जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षलाई आरोप लगाउनु अनैतिक भएको टिप्पणी गरे। ‘महामन्त्रीज्यु कुनै बेला एमाले पार्टीमा हुनुहुन्थ्यो, एमाले राजसंस्थावादी पार्टी हो ?’ उनले प्रतिप्रश्न गरे। ‘पार्टीका नेताहरु पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्र बहादुर चन्दजस्ता नेता गणतन्त्रका पक्षमा उभिँदा समेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमान्दारितको प्रश्न गर्न मिल्छ ?’ बुढाले बैठकमा भने।

पार्टीका सहमहामन्त्री प्रकाश रिमालले राजेन्द्र लिङ्देनको नेतृत्व आएपछि देशभर पार्टीको पक्षमा आकर्षण बढेका बेला नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुनः टुटफुटको श्रृंखलामा धेकेल्ने प्रयास भएको दावी गरे। महामन्त्री राणाले विचारपत्रमा पार्टी सरकारमा किन गएको भन्ने प्रश्न औंल्याएपछि उनी आफैँ समेत सहभागी केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयले प्रचण्ड सरकारमा जाने निर्णय गरेको स्मरण गर्दै रिमालले त्यसमा ‘नोट अफ डिसेन्ट’ किन नलेखेको भन्दै प्रतिप्रश्न गरे। त्यस्तै महामन्त्री राणाले आफ्नो विचारपत्रमा पार्टीले हालै खुल्ला आवेदनमार्फत पार्टीमा भित्र्याएका २० जना ४० वर्षमुनीका केन्द्रीय सदस्य ल्याउने प्रकृयालाई दुष्कर्मको संज्ञा दिएपछि अधिकांश केन्द्रीय सदस्यले त्यसको विरोध गरेका छन्।

पार्टीका केन्द्रीय सदस्य उद्धवराज भेटवालले नयाँ केन्द्रीय सदस्य बनाउने प्रकृयालाई महामन्त्रीले दुष्कर्मको संज्ञा दिएको भन्दै त्यो शब्द फिर्ता लिएर युवाहरुसमक्ष माफी माग्न महामन्त्री राणालाई अनुरोध गरे। ‘पार्टीमा आएका युवालाई तिरस्कार गर्ने तर, पार्टीको सिद्धान्त र संगठन छाडेर अर्को पार्टीका चिन्हमा चुनाव लड्न जाने नेताचाहीँ चाहिने ?’ उनले महामन्त्रीलाई प्रश्न गरे।

४० वर्षमुनीका युवा केन्द्रीय सदस्य बनाउने नवीन राप्रपाको कार्यक्रमअनुसार केन्द्रीय सदस्य बनेको लोकेन्द्र कुँवरले मापदण्डमा भिडेर आएका युवा केन्द्रीय सदस्यलाई दुस्कर्मको परिणाम भन्नु दुर्भाग्यपूर्ण भएको भन्दै महामन्त्री राणाको चर्को आलोचना गरे। ‘के हामी पार्टीमा आउनु, यो पार्टीका निम्ति जीवनपर्यन्त संघर्ष गर्छु भन्नु हाम्रो अपराध हो ?’ उनले आक्रोश पोखे। ‘युवालाई केन्द्रीय सदस्य बनाउने कार्यसम्पादन समिति बैठकमा हस्ताक्षर गरेका राणाले अहिले कुन मुखले त्यस प्रकृयाको विरोध गरेको ?’ कुवँरले भने। त्यस्तै नवीन राप्रपा कार्यक्रमअन्तर्गत केन्द्रीय सदस्य बनेकी नानु थापा, अशोक सिंह सम्राटलगायत नेताले युवालाई तिरस्कार गरेर कस्तो पार्टी बनाउन खोजेको भन्दै प्रश्न गरे।

भोलिसम्म चल्ने राप्रपाको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ। केन्द्रीय सदस्यहरूले बोलिसकेपछि पार्टीका पदाधिकारीहरूले बोल्ने र निर्णय गरेर बैठक सम्पन्न गर्ने कार्यक्रम रहेको छ।