फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान सुरक्षित गरेको न्युरोड टिम (एनआरटी)का कप्तान अञ्जन विष्ट आइतबार दशरथ रंगशालामा त्यति खुसी भएनन् । अञ्जनकै दुई गोलमा एनआरटी अन्तिम चारमा पुगेको हो । तर, स्ट्राइकर अञ्जनले घरेलु फुटबलमा नकआउटभन्दा पनि सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘यस मैदानमा नकआउट फुटबलभन्दा पनि लिग प्रतियोगिता खेल्न पाउँदा अझ योभन्दा धेरै खुसी हुने थिएँ,’ फ्रेन्ड्सलाई हराएपछि विष्टले भने, ‘दशरथ रंगशालामा खेल्न पाउँदा भाग्यमानी मान्छु ।’ रंगशालामा युवादेखि सिनियर खेलाडीसँग प्रतिस्पर्धा गर्ने चाहना सबैको भएको उनको भनाइ छ । ‘यस रंगशालामा लिग प्रतियोगितामा सिनियरदेखि युवा खेलाडी प्रतिस्पर्धा गर्न रुचाउँछौँ, लिग हुँदा सबै खेलाडी खुसी हुन्छन्,’ उनले भने, ‘यस्ता नकआउट प्रतियोगिताभन्दा लिगलाई नै प्राथमिकतामा दिनुपर्छ ।’
पहिलो हाफमै अञ्जनको दुई गोल
एनआरटीका कप्तान अञ्जनले पहिलो हाफमै दुई गोल गरेपछि फ्रेन्ड्स सुरुमै दबाबमा प¥यो । पहिलोपटक एनआरटीबाट खेलिरहेका उनले १९औँ मिनेटमा पहिलो गोल गरे । अञ्जल महर्जनको कटब्याक सदुपयोग गर्दै उनले एनआरटीलाई १–० को अग्रता दिलाएका हुन् । बायाँ साइडबाट प्राप्त क्रसमा अञ्जनले वानटचमा गोल गरेका थिए । खेलको २४औँ मिनेटमा अञ्जनले नै एनआरटीलाई २–० को अग्रता दिलाए । कृतिश रत्नले दायाँ साइडबाट निकालेको सटीक क्रसमा अञ्जनले डिबक्सभित्र हेडिङ गोल गरे । दोस्रो हाफको सुरुमै विल्सनले एनआरटीलाई ३–० को बलियो स्थितिमा राखे । खेलको ८१औँ मिनेटमा कप्तान विवेक पौडेलले फ्रेन्ड्सलाई ३–१ को गोलअन्तरमा झारे । यस खेलसँगै सभापति कपको सेमिफाइनल समीकरण पूरा भएको छ । एनआरटीले आयोजक लोकतान्त्रिक खेलकुद संघको बामगती क्लबविरुद्ध खेल्नेछ ।
नकआउटभन्दा लिग बलियो हुनुपर्छ : अञ्जन विष्ट, कप्तान, एनआरटी
दशरथ रंगशालामा खेल्न पाउँदा भाग्यमानी छु । यहाँ लिग भयो भने सबै खेलाडी खुसी हुन्छन् । नकआउट फुटबलमा जित निकाल्दा रमाइलो लागेको छ । यस किसिमको प्रतियोगिताभन्दा लिग नै मुख्य हो । लिग हुँदा नयाँ खेलाडी पनि उपलब्ध हुन्छन् । दशरथ रंगशालामा खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । कप्तानी आर्मब्यान्ड लगाएर जिताउँदा राम्रो लाग्छ । नयाँ खेलाडीले पनि राम्रो खेलिरहेका छन् । सेमिफाइनलमा बामगतीविरुद्ध जित्न खेल्छौँ ।
हामीहरूको तयारी पुगेन : महेश श्रेष्ठ, प्रशिक्षक, फ्रेन्ड्स
छोटो तयारीबिच प्रतिस्पर्धामा भाग लियौँ । यसकारण टिम नै सेट हुन सकेन । एनआरटीविरुद्ध खेल्न धेरै गाह्रो भयो । तयारी नभएकाले खेल राम्रो हुन नसकेको हो । खेलाडीले अवसरको सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा प्राप्त अवसरमा गोल गर्न सकेको भए एनआरटीलाई दबाबमा राख्न सकिन्थ्यो । फिनिसिङमा चुक्दा पहिलो खेलमै हार व्यहोर्न पुग्यौँ ।