राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक आह्वान गरेको छ। दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी विधानको दफा १३(१) बमोजिम १६ माघ बिहान ११ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन्।
दलका नेता रवि लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएको नेताहरूले बताएका छन्।
केन्द्रीय कार्यालयमा बुधबार बस्ने बैठकमा संसद्को आगामी अधिवेशन तयारीका सम्बन्धमा छलफल हुनेछ। यसैगरी, समसामयिक जनसरोकारका विषय, रास्वपाले उठाउनुपर्ने मुद्दाहरू टुंग्याइने उपनेता श्रेष्ठले बताए।
‘अध्यादेशको विषय उठाउँछौँ। अध्यादेश अध्ययन गर्न कार्यदल बनाएर छलफल गर्दै छौँ,’ केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘यसैगरी सरकार गठन र ढल्ने कुरामा जोडिएको नयाँ स्टक लाइसेन्स पनि छ। अदालत र संसद् छलेर ल्याएको यो विषय पनि सशक्त उठाउँछौँ।’ यो विषयमा संसदीय समितिमै आफूहरूले नोट अफ डिसेन्ट राखेको उनले स्मरण पनि गराए।
उपनेता श्रेष्ठले संसदमा उठाउनुपर्ने बेथितिका प्रमुख विषयवस्तुमा विपक्षी दलहरूसँग परामर्श भइरहेको र विपक्षी बेन्चबाट साझा रूपमा प्रस्तुत हुने तयारी रहेको सुनाए।