गुल्मीमा १२ स्थानीय तहका करिब ११ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउँदै छन्। २२ माघबाट ६ फागुनसम्म चल्ने देशव्यापी खोप अभियानअन्तर्गत गुल्मीमा सो संख्यामा किशोरीलाई एचपिभी खोप लगाइनेछ।
१८५ सामुदायिक र २५ संस्थागत विद्यालय तथा विद्यालयबाहिरका गरेर अभियानमार्फत जिल्लाका ११ हजार २८८ किशोरीले खोप लगाउनेछन्। कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालयबाहिर भएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले खोप पाउनेछन्। गुल्मीमा विद्यालयबाहिर रहेका २४४ किशोरीलाई खोप लगाइनेछ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार देशभर दैनिक चार महिलाले पाठेघरको मुखको क्यान्सरको कारण ज्यान गुमाउँछन्। गत वर्ष दुई हजार १६९ जना संक्रमितमध्ये एक हजार ३३१ महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाए।
मंगलबार जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालयको आयोजनामा एचपिभी खोप अभियानको विषयमा गुल्मीमा सरोकारवालाबिचमा अन्तर्क्रियासमेत गरिएको छ। कार्यक्रममा खोप समन्वय समितिका पदाधिकारीहरू, सरकारी तथा गैरसरकारी संघसंस्था तथा पत्रकार र सञ्चारकर्मी उपस्थित थिए।
जिल्लाका सबै पालिकाका स्वास्थ्य संयोजक, स्वास्थ्य संस्थाका प्रमुख एवं खोप स्वास्थ्य कार्यकर्ताहरूलाई अभिमुखीकरण गरिसकेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले राष्ट्रिय अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे। जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले विद्यालय पहिलो प्राथमिकतामा भए पनि होटेल, घरेलु कामदार तथा विद्यालय नगएका किशोरीहरूलाई पनि एचपिभी खोप लगाउन उत्प्रेरित गर्नुपर्ने बताए।
कुन पालिकामा कति किशोरीले खोप पाउँछन् ?
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा विद्यालयमा रहेका एक हजार ५०५ र विद्यालयबाहिरका १३ जनालाई एचपिभी खोप लगाइनेछ। मुसिकोट नगरपालिकाका विद्यालयका एक हजार १५२ र विद्यालयबाहिर रहेका ७४ जना, कालीगण्डकी गाउँपालिकाका विद्यालयका ५४४ किशोरी, सत्यवती गाउँपालिकामा विद्यालयका ७६९, चन्द्रकोट गाउँपालिकामा विद्यालयका ६९० र विद्यालयबाहिर रहेका किशोरीहरू पाँचजनालाई एचपिभी खोप लगाइने प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले जानकारी दिइन्।
इस्मा गाउँपालिकामा विद्यालयका ९०२ र विद्यालयबाहिर रहेका किशोरीहरू ३५, मालिका गाउँपालिकामा विद्यालयका एक हजार ५५६, मदाने गाउँपालिकामा विद्यालयका ९८२ र विद्यालय बाहिर रहेका किशोरीहरू २५, धुर्कोट गाउँपालिकामा विद्यालयका ८७३ र विद्यालयबाहिर रहेका किशोरीहरू ४६ जनाले खोप पाउनेछन्।
यसैगरी, गुल्मीदरबार गाउँपालिकामा विद्यालयका ६४३ र विद्यालयबाहिर रहेका पाँच, छत्रकोट गाउँपालिकामा विद्यालयका ७५२ र विद्यालयबाहिर रहेका २६ तथा रुरुक्षेत्र गाउँपालिकामा विद्यालयका ६७६ र विद्यालयबाहिर रहेका १५ किशोरीहरूलाई एचपिभी खोप लगाइनेछ।