कांग्रेस सांसद राजेन्द्र बजगाईंले सार्वभौम संसद्लाई सत्तारूढ दलले नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्। संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा सत्तारूढ कांग्रेस र एमालेले आफ्ना सांसदलाई सरकारको पक्षमा बोल्न र सरकारले ल्याएका अध्यादेशको प्रतिरक्षा गर्न निर्देशन दिएका वेला सत्तारूढ कांग्रेसकै सांसद बजगाईंले संसदीय दलको बैठकमा असहमति जनाएका हुन्।
कांग्रेस नेतृत्वले आफ्ना सांसदहरूलाई पार्टीका मन्त्रीहरूको कार्यशैलीविरुद्ध बोल्न वा लेख्न नदिने प्रयासको उनले कडा शब्दमा विरोध गरेका छन् भने सांसदहरू पार्टीका अधीनस्थ नभई जनताका सार्वभौम प्रतिनिधि भएको स्मरण पार्टी नेतृत्वलाई गराएका छन्।
बजगाईंले विभिन्न विवाद र भ्रष्टाचारका आरोपहरूको विश्वसनीय स्रोत रहेको दोहोर्याउँदै यस्ता विषयहरूको अनुसन्धान गर्ने जिम्मेवारी पार्टीको नभई तोकिएको राज्य निकायहरूको भएको पनि स्पष्ट पारेका छन्। 'कांग्रेस अधिनायकवादी बन्दै गयो र आन्तरिक असहमति दमन गर्न थालियो भने चिनियाँ शैली अपनाएको हुनेछ,' उनले भने। तर, गहिरो लोकतान्त्रिक मूल्य, मान्यता बोकेका सभापति शेरबहादुर देउवाले पार्टीलाई यस्तो दिशामा जान नदिने उनको विश्वास छ।
उनले पार्टी नेतृत्वको आन्तरिक गुनासाहरू केवल पार्टी फोरममै सीमित गर्नुपर्ने धारणा गलत रहेको उल्लेख गर्दै यस्तो प्रणाली कम्युनिस्ट पार्टीहरूमा हुने, तर कांग्रेसजस्तो लोकतान्त्रिक दलमा स्वीकार्य नहुने बताए।
बजगाईंले पर्यटनमन्त्री बद्री पाण्डेसहित मन्त्रीहरूको पफर्मेन्सको पनि कडा आलोचना गरे। मन्त्री पाण्डेले पर्यटन सिजनमा विमानस्थलहरू बन्द गराएर नेपालको पर्यटन उद्योगलाई नोक्सान पुर्याएको, नन्हाई सम्झौता सम्मेलन अन्तर्गत चिनियाँ विमान कम्पनीलाई पोखराबाट टिकटविहीन यात्रुहरू काठमाडौं ल्याउने छुट दिएर गम्भीर अपराध गरेको, पञ्चेन लामा नेपाल भ्रमण गराउने असफल प्रयास गरेको उनको आरोप छ।
सांसद बजगाईंले पार्टीका प्रमुख सचेतक श्याम घिमिरेको पनि आलोचना गरेका छन्। घिमिरेको ‘नेपाललाई मजदुर संघ वा समाजवादको आवश्यकता छैन’ भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बजगाईंको भनाइ थियो।
'कांग्रेस महामन्त्री गगन थापाले आलोचना र सक्रियताबाट आफ्नो राजनीतिक करिचर निर्माण गरेका हुन्। उनी त्यहाँ पुग्न हाम्रो पसिना र रगत पोखिएको छ,' उनले भने, 'शेरबहादुर देउवाले कोइराला परिवारविरुद्ध विद्रोह नगरेका भए ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ जन्मिने थिएन। अहिले गगन थापालगायत नेतृत्वमा रहेका पदाधिकारीहरू नै आन्तरिक आवाज दबाउन सक्रिय हुनु दु:खद् छ।'
बजगाईंले कांग्रेस नेतृत्व अहिले आन्तरिक आवाज दबाउने प्रयत्न गरिरहेको भन्दै प्रश्न गरे, 'पार्टीको मूल आधार नै लोकतन्त्र, बहस र आलोचनामा निर्माण भएको हो भने अहिले किन यस्ता मूल्यहरू कमजोर बनाइँदै छ।'
बजगाईंले कांग्रेस पार्टीभित्र सुधारको आवश्यकता रहेको औँल्याउँदै लोकतान्त्रिक मूल्य, पारदर्शिता र पार्टीभित्रको आन्तरिक बहसलाई जीवित राख्न सबैलाई सक्रिय हुन अपिलसमेत गरेका छन्।