सिर्जना बस्नेत आज यतिखेर आफ्नो श्रीमानको सम्झनामा हराइरहेकी छिन् । रुसी सेनामा भर्ति भएर युक्रेनविरुद्धको युद्धको मोर्चामा गएका उनका श्रीमान विनोद सुनुवारको मृत्युको खबरसँगै सिर्जनाको जिन्दगी रित्तिएझै भएको छ । जीवनसाथी गुमाउनुको पीडासँगै १४ वर्षे छोरालाई हुर्काउनुपर्ने जिम्मेवारी उनको काँधमा आईलागेको छ ।
१५ महिना अघि, सिर्जनाका श्रीमान परिवारको सुन्दर भविष्यको सपना बोकेर रुसी सेनामा भर्ति भएका थिए । तर, त्यो आशा यतिखेर चकनाचुर भएको छ । नेपाली सेनाबाट ५ असोज २०८० मा राजीनामा दिएका विनोद १७ असोजमा रुसी सेनामा भर्ति हुन भनेर नेपालबाट रुसतिर गए ।
सन् २०२२ देखि रुस युक्रेनसँग युद्ध लडिरहेको छ । रुसी सेनमा भर्ति भएपछि पनि सिर्जनाको दैनिकजसो विनोदसँग कुराकानी भईरहन्थयो । विनोद युद्ध मोर्चाका फोटो भिडियो सिर्जनालाई पठाउँथे ।
२६ नोभेम्बर २०२४ मा रुसी पासपोर्ट पाईसकेका विनोदले यो जाडोमा नेपाल आउने तयारी गरेका थिए । सिर्जना पनि श्रीमानको बाटो कुरिरहेकी थिईन् । तर, जाडो बित्न लागिसक्दा उनका श्रीमान त आएनन बरु मृत्युको खबर आयो ।
सिर्जना भन्छिन्, ‘दैनिक कुरा हुने श्रीमान साढे दूई महिनादेखि सम्र्पकविहिन हुनुभयो।’ पछिल्लो साढे दूई महिना यता उनको श्रीमानसँग कुराकानी भएको थिएन । घर आउनुपर्ने मान्छे सम्र्पकविहिन भएपछि सिर्जनाको मनमा चिसो पस्यो । तीन दिन अगाडि उनले श्रीमानको मृत्यु भएको खबर पाईन् ।
जसको बाटो कुरेर बसेकी थिईन उसैको मृत्युको खबर आएपछि सिर्जनाको होस हवास उड्यो । उनको आँखामा पीडाको बादल छायो । श्रीमानसँग हरेक दिन भएका कुराकानी उनको स्मृतिमा आउन थाले । “त्यहाँको फोटो, भिडियो सबै पठाउनु हुन्थ्यो,” सिर्जना सम्झिन्छन्, “त्यो हेरेर पनि भित्रै मनदेखि सहनै नसक्ने हुन्थ्यो ।”
श्रीमानले युद्ध मोर्चाबाट पठाएका फोटो भिडियो हेरेर कोशौं टाढा रहेकी सिर्जनाको मुटुमा चिरा पथ्र्यो । अनि उनी श्रीमानलाई भन्थिन्, “यस्तो दुःख गर्नु भन्दा त फर्किनुहोस ।”
जवाफमा विनोद भन्ने गर्थे, “सम्झौता नसकी आउन दिदैंन । भाग्न सक्ने स्थिती छैन् । यताबाट भागेका साथीहरुलाई मस्कोबाट समातेर फेरी यही ल्याएको छ । भागेर गएपछि जेलमा राख्छ । भागेर दुःख पाउनु भन्दा यही ठिक छ ।”
६ लाख रुपैयाँ नेपाली एजेन्टलाई तिरेर रुसी सेनामा भर्ति भएका थिए विनोद । परिवारको भविष्य राम्रो होला भनेर रुसी सेनामा गएका थिए विनोद । रुसी नागरिक भएपछि उनले आफ्नो करार सम्झौता पनि नविकरण गरेका थिए । राहदानी लिएर करार सम्झौता नविकरण गरेपछि विनोदले खुसी हुँदै श्रीमती र छोरालाई पनि रुस बोलाउने योजना सिर्जनालाई सुनाएका थिए । तर, विनोदको योजना पुरा हुन पाएन् ।
श्रीमानको शव समेत नपाएपछि सोमबार सिर्जनाले पशुपति आर्यघाटमा कुशको शव बनाएर दाहासंस्कार गरिन् । उनका १४ वर्षे छोराले दागबत्ती दिए ।
ओखलढुंगा मोलुङ गाउँपालिका पात्ले स्थायी घर भएकी सिर्जना छोरासँग किर्तिपुरमा बस्छिन् । ३६ वर्षे सिर्जनासँग अब श्रीमानको सम्झना मात्र बाँकी छ । कुशको शव बनाएर दाहसंस्कार गरेकी सिर्जनालाई कतैबाट चमत्कार भईदिएर श्रीमानको फोन आए हुन्थ्यो भन्ने लागिरहेको छ । तर, उनलाई थाह छ यो चमत्कार अब कल्पनामा मात्र सम्भव छ ।
नेपाल सरकारको तथ्याङ्कअनुसार रूसी सेनामा भर्ती भइ युक्रेनसँगको युद्धको क्रममा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ । रूसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गरिदिन अनुरोध गर्दै ३४१ जनाले निवेदन दिएका छन् ।
‘रुसी सेनामा भर्ति भएका नेपाली नागरिकको जीवन रक्षा अभियान’ चलाईरहेकी अभियन्ता कृतु भण्डारीका अनुसार रूसी सेनामा भर्ती भइ युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ६५ भन्दा बढी छ । यसरी मरेकाहरुले क्षतिपुर्ति पाउनुपर्छ भनेर आफूहरुले दबाब दिईरहेका उनी बताउँछिन् । भण्डारीका अनुसार रुसी सेनामा भर्ति भएर मृत्यु भएका केही परिवार क्षतिपुर्तिका लागि भनेर रुस समेत पुगेका छन् ।