रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देहीमा पनि धरौटीमा रिहा भएका छन्। सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो।
बिहीबारदेखि सुरु भएको थुनछेक बहस सकिएसँगै आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
आइतबार बहस गर्न बाँकी रहेका रविका वकिलले बहस गरेका थिए। उनीहरूको बहसपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस गरेका थिए। आफूविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा मुद्दा दायर भएपछि रवि गत बुधबार अदालतमा हाजिर भएका थिए।
यसअघि कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रविलाई रिहा गर्न आदेश गरेको थियो।