विधानको धारा ३९ मा वर्षमा चारपटक अनिवार्य रूपमा कार्यसमिति बैठक बस्नुपर्ने प्रावधान छ, गत २ साउनपछि एन्फाको कार्यसमिति बैठक बसेको छैन
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित सात सदस्यले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । एन्फाका सात केन्द्रीय सदस्यले आइतबार आठ एजेन्डामा रहेर सामूहिक हस्ताक्षर गर्दै अध्यक्ष पंकजविक्रम नेम्वाङलाई इमेलमार्फत पत्र लेख्दै बैठकको माग राखेका हुन् । वरिष्ठ उपाध्यक्ष खड्कासहित दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी, सदस्यहरू रूपेश अधिकारी, रमेश व्यञ्जनकार, रवीन्द्र चन्द र महिला सदस्य पेमा डोल्मा लामाले हस्ताक्षर गरेका छन् ।
आठ एजेन्डामा जिल्ला फुटबल संघ सुर्खेतको विवाद, महिला फुटबल, सिस्नेरी एकेडेमी घटना, दुई वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग, तीन वर्षदेखि हुन नसकेको ‘बी’ डिभिजन लिग, महिला फुटबल मिसन २०२७, घोषणा गरेका पुरस्कार र लेखापरीक्षण समावेश छ । महासचिव किरण राईको कार्यक्षमता मूल्यांकन तथा तलब–भत्ता, सेवा–सुविधाको पुनर्मूल्यांकन गर्न बैठक बोलाउनुपर्ने माग उनीहरूले राखेका छन् ।
लामो समयदेखि बैठक बस्न नसकेकाले बैठक आह्वान गर्न माग गरिएको केन्द्रीय सदस्य रूपेश अधिकारीले नयाँ पत्रिकालाई बताए । ‘छलफल गर्नुपर्ने धेरै विषय छन् । पछिल्लो समय मनोमानी रूपले धेरै निर्णय भए, भएका निर्णय पनि कार्यान्वयन भएका छैनन्,’ अधिकारीले भने, ‘कार्यसञ्चालन मनोमानी र विधानविपरीतका क्रियाकलाप भइरहेकाले बैठक बोलाउन माग गरेका हौँ ।’ अध्यक्ष चुनिएको दुई वर्ष भइसक्दा पनि नेम्वाङले बैठक विदादमुक्त पार्न सकेका छैनन् । ६ असार ०७९ मा अध्यक्ष निर्वाचित भएपछिका हरेक बैठकमा कार्यसमिति सदस्यबिच विवाद हुँदै आएका छन् । नेम्वाङकै प्यानलबाट विजयी भएका वरिष्ठ उपाध्यक्ष खड्कासहित आधा दर्जन सदस्य असन्तुष्टि रहँदै आएका छन् । एकै प्यानलबाट निर्वाचन लडेका सदस्यले समेत अध्यक्षको साथ छाडेका छन् ।
विधानमा के छ ?
एन्फा विधानको धारा ३९ मा वर्षमा चारपटक अनिवार्य रूपमा कार्यसमिति बैठक बस्नुपर्ने प्रावधान छ । २ साउनमा पछिल्लोपटक एन्फाको आपत्कालीन कार्यसमिति बैठक बसेको थियो । तर, असन्तुष्ट अधिकांश सदस्यले बैठक बहिष्कार गरेका थिए । सोही बैठकले महासचिव राईको पारिश्रमिक दुई लाख ६८ हजार पुर्याएको थियो । त्यसपछि एन्फाको चर्काे विरोध भएको छ । उनले कार्यसमितिको निर्णयलाई कार्यान्वयन नगरेको आरोप लाग्दै आएको छ ।
एन्फा विधानको धारा ३९ को उपधारा २ अनुसार कार्यसमितिका एकतिहाइ सदस्यले बैठक बोलाउन माग गरेपछि अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्नेछ । यदि अध्यक्षले २१ दिनभित्र बैठक नबोलाए कार्यसमितिका अन्य सदस्यले बैठक बोलाउन पाउने प्रावधान छ । बैठक बस्ने तीन दिनअघि नै अध्यक्षले कार्यसूची सार्वजनिक गर्नुपर्नेछ ।
आधिकारिक जानकारी आएको छैन : सुरेश शाह, प्रवक्ता, एन्फा
सात सदस्यले एन्फाको बैठकको माग राख्नुभएको रहेछ । आधिकारिक रूपमा बैठक र उहाँहरूका मागबारे जानकारी आएको छैन । मेलमा आएको छ भन्ने पनि समाचारबाटै थाहा भयो । जे हुनु विधानअनुसार नै हुन्छ ।
विधानविपरीत क्रियाकलाप भइरहेको छ : रूपेश अधिकारी, सदस्य, एन्फा
एन्फामा पछिल्लो समय मनोमानी रूपले धेरै निर्णय भए । निर्णय पनि कार्यान्वयन भएका छैनन् । कार्यसञ्चालन मनोमानी र विधानविपरीत भइरहेकाले बैठक बोलाउन माग गरेका हौँ । कार्यसमितिको अधिकार हनन हुनुका साथै संगठनको अनुशासन र प्रभावकारितामा गम्भीर असर पुर्याएको छ ।