गत साता यही समयतिर स्टेवार्ट रोड्स १८ वर्ष लामो जेलसजाय भोगिरहेका थिए । अमेरिकी संसद् भवनमाथिको घातक आक्रमणमा संलग्न भएका रोड्समाथि राज्यविप्लवको षड्यन्त्रमा सरिक भएको आरोपमा उक्त सजाय दिइएको थियो । तर, बुधबार (जनवरी २३) डोनाल्ड ट्रम्पले राष्ट्रपतिले सत्ता सम्हालेको तेस्रो दिन रोड्स पुनः अमेरिकी संसद् भवनमा देखिए । ‘ट्रम्प २०२०’ लेखिएको टोपी लगाएका रोड्स आरामसँग कफी पिइरहेका देखिन्थे । ट्रम्पको एक हस्ताक्षरले रोड्ससँगै सन् २०२१ मा अमेरिकी संसद् भवनमाथि (क्यापिटल हिल) भएको आक्रमणमा संलग्न १५०० दोषी रिहा भएका छन् ।
शृंखलाबद्ध कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले अमेरिकामा दक्षिणपन्थी क्रान्तिको उद्घोष गरेका छन् । उनका आदेशले अमेरिका–मेक्सिको सीमामा सेना तैनाथ हुनेदेखि, अमेरिकामा जन्मिएका व्यक्तिले स्वतः नागरिकता पाउने संवैधानिक अधिकारलाई उल्ट्याउने प्रयास गरेको छ । त्यस्तै, उनले सबै लैंगिक अभिमुखीकरणप्रति उदार र विविधतायुक्त नीतिहरूलाई उल्ट्याउने र जलवायु संकटविरुद्ध भएका अन्तर्राष्ट्रिय प्रयासबाट बाहिरिने र हिंसात्मक अपराधका लागि दोषी ठहरिएका आफ्ना समर्थकलाई रिहा गर्नेसम्मका काम गरिसकेका छन् ।
ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा सत्तामा फर्किएको एक हप्ता पनि भएको छैन । यसबिच उनले देशलाई नै पुनः आकार दिने खालका क्षमादान र कार्यकारी आदेशका शृंखला चालिसकेका छन् । यसमार्फत उनी आफ्ना समर्थकहरूमा आशा जगाउन सफल देखिन्छन् । उद्घाटन भाषणमा आफूलाई भगवान्ले नै अमेरिकाको नेतृत्वमा चुनेको दाबीदेखि लिएर समर्थक भिडलाई अगाडि राखेर नाटकीय रूपमा कार्यकारी आदेशमा गर्नेसम्मका ट्रम्पका कदमलाई राजतन्त्रभित्रका सर्वेसर्वा राजासँग तुलना भएको छ ।
तथापि, ट्रम्पका उग्र कदमले कानुनी चुनौती र राजनीतिक प्रहार खेप्न थालेका छन् । सन् २०२१ को जनवरी ६ मा संसद्माथि भएको दंगामा भाग लिनेहरूलाई आममाफी र ‘प्राउड ब्वाइज’ वा स्टेवार्ट रोड्स संलग्न ‘ओथ किपर’जस्ता उग्र दक्षिणपन्थी समूहहरू राजनीतिक समूह भएको भन्ने उनको भनाइले पहिलो कार्यकालको विवादित दिनको झल्को दिन थालेको छ ।
ट्रम्प र उनका सहयोगीहरू अहिले ‘क्रान्तिको अवस्था सिर्जना गर्न लागिपरेको’ र औसत अमेरिकी त्यसका लागि तयार नरहेको क्यापिटल हिलका पूर्वरिपब्लिकन सञ्चार निर्देशक तारा सेटमेयरले चेतावनी दिन्छिन् । ‘हामीले ट्रम्पको नेतृत्वमा अमेरिकामा हाबी हुँदै गएको उग्र दक्षिणपन्थी फासीवादी अभियान रोक्न प्रतिबद्ध छौँ कि छैनौँ भन्नेमा स्पष्ट हुनु राम्रो हुन्छ,’ सेटमेयरले भनिन् ।
सोमबार शपथ लिएको केही मिनेटपछि उद्घाटन सम्बोधनका क्रममा ट्रम्पले छेउमा बसिरहेका पूर्ववर्ती जो बाइडेनलाई समेत आलोचना गर्न बाँकी राखेनन् । उनले बाइडेन प्रशासनलाई प्राकृतिक प्रकोपबाट प्रभावित मानिसहरूलाई ‘आधारभूत सेवा’समेत प्रदान गर्न नसक्ने ‘भ्रष्ट संस्था’ भने । जबकि उनलाई बाइडेनले एक बलियो अर्थतन्त्र र न्यून अवैध आप्रवासीको विरासत छाडेर गएका छन् । ‘अमेरिकाको पतन अब रोकिनेछ,’ ट्रम्पले सम्बोधनमा घोषणा गरे ।
यस्तो कुरा ट्रम्पका समर्थक अर्थात् ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन)मा विश्वास राख्ने उनका प्रशंसकका लागि संगीतजस्तो लाग्न सक्छ । वासिङटनको ठिहिर्याउने ठन्डीमा उनीहरू ट्रम्प र अन्य रिपब्लिकन नेतालाई नजिकबाट हेर्न र सुन्न भेला भएका थिए । ट्रम्पको प्रशासनअन्तर्गत ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ नेतृत्व गर्ने प्रविधि अर्बपति एलन मस्कले सहरको केन्द्रको खेलमैदानमा बोल्ने क्रममा ‘नाजी सलाम’ गरेको चर्चा भइरहेको छ ।
राष्ट्रपतिका रूपमा ट्रम्पले हस्ताक्षर गरेका दर्जनौँ कार्यकारी आदेशले लाखौँ अमेरिकी र गैरअमेरिकीहरूको जीवनमा प्रभाव पार्न सक्छ । आफ्नो प्रमुख चुनावी वाचालाई सम्बोधन गर्ने गरी उनले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । उनले दक्षिणी सीमाबाट प्रवेश गरेर शरणका लागि गरिने अनुरोधमाथि विभिन्न प्रकारको प्रतिबन्ध लागू गरेका छन् । ट्रम्पले देशको रक्षा मन्त्रालय (पेन्टागन) लाई सिमाना बन्द गर्न प्राथमिकता दिन र सीमाक्षेत्रमा पर्खाल निर्माण, हिरासत केन्द्र र आप्रवासी फिर्तीलाई सघाउन आदेश दिएका छन् । सेनाले यसै आदेशअनुरूप सीमाक्षेत्रमा १५ सय थप सैनिक पठाउने तयारी गरिरहेको बताइन्छ । त्यस्तै, अब अमेरिकाले थप शरणार्थी लिन बन्द गर्ने घोषणा गरेको छ ।
ट्रम्पले आमा वा बुबामध्ये कोही पनि अमेरिकी नागरिक वा पिआरधारी नभए तिनबाट अमेरिकामा जन्मिएका बच्चाहरूले पाउने जन्मसिद्ध नागरिकताको प्रावधानलाई अन्त्य गर्ने आदेश जारी गरेका छन् । तर, बिहीबार नै एक संघीय न्यायाधीशले आदेशलाई ‘स्पष्टतः असंवैधानिक’ भएको भन्दै त्यसको कार्यान्वयन रोक्न आदेश दिएका छन् ।
ट्रम्पले सांस्कृतिक युद्ध उचालेका छन् । उनले सरकारी विविधता कार्यक्रम हटाउने एउटा आदेशमा हस्ताक्षर गरेका छन् । योसँगै ‘विविधता, समानता र समावेशीकरण (डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसिभ–डिइआई)’सँग सम्बन्धित सबै संघीय कार्यालय र जागिर समाप्त हुनेछ । उनले सरकारी कागपत्रमा ‘दुई लिंग, पुरुष र महिला’लाई मात्र स्विकार्ने अर्को एक आदेशमा पनि हस्ताक्षर गरेका छन् । अब अमेरिकी एजेन्सीहरूले समलिंगी पहिचान वा तिनले प्रयोग गर्ने गरेको सर्वनाम प्रयोग गर्न पाउनेछैनन् ।
राष्ट्रपतिले अब संघीय कर्मचारी सम्पूर्ण समय कार्यालयमा रहनुुपर्ने व्यवस्था गरेका छन् । कोभिड– १९ महामारीपछि कैयौँ अमेरिकी कर्मचारीले ‘वर्क फ्रम होम’(घरबाट काम)लाई निरन्तरता दिँदै आएका थिए । त्यसबाहेक उनले आफ्नो पहिलो कार्यकालको अन्त्यतिर ल्याउने प्रयास गरेका ‘अनुसूची एफ’ कार्यकारी आदेशलाई पुनस्र्थापित गरेका छन् । यसले दशौँ हजार अमेरिकी सरकारी कर्मचारीहरूको रोजगार सुरक्षा खोस्नेछ, जसले उनीहरूलाई बर्खास्त गर्न सजिलो हुनेछ ।
अर्को कार्यकारी आदेशमा ट्रम्पले राष्ट्रिय ऊर्जा संकटकाल घोषणा गरेका छन् । योसँगै पेट्रोलियम पदार्थको उत्पादन विस्तार गर्न बाटो खुलेको छ । बाइडेनको पालामा नयाँ पेट्रोलियन उत्खननमा लागू गरिएका प्रतिबन्ध र विद्युतीय सवारी साधनलाई शीघ्र आमप्रयोगमा ल्याउन सघाउने नियम अन्त्य गरेका छन् । ट्रम्पको आगमनसँगै अमेरिका पुनः पेरिस जलवायु सम्झौताबाट बाहिरिएको छ । योसँगै विश्वको सबैभन्दा ठुलो हरितगृह उत्सर्जक मुलुकमध्ये एक जलवायु संकटलाई सम्बोधन गर्न देशहरूलाई दबाब दिने उद्देश्यले गरिएको विश्वव्यापी सम्झौताबाट बाहिरै रहने भएको छ ।
ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठनबाट अलग हुने प्रक्रिया सुरु गर्न पनि आग्रह गरे । यस विश्वव्यापी स्वास्थ्य एजेन्सीले कोभिड– १९ महामारी र अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य संकटलाई गलत तरिकाले सम्हालेको कारण बाहिरिन लागेको उनको तर्क छ ।
ट्रम्पले पद सम्हालेको पहिलो दिन हस्ताक्षर गरेका कार्यकारी आदेशमा सबैभन्दा बढी विवादित रह्यो चार वर्षअघि अमेरिकी क्यापिटल हिलमा भएको आक्रमणमा संलग्न १५ सय समर्थकलाई माफी दिने निर्णय । ट्रम्पको हार उल्टाउन अमेरिकी संसद् पसेका हुलदंगाकारीमध्ये झन्डै २५० जनाले त्यस दिन झन्डा, हक्की छडी, बैसाखी र स्टनगनजस्ता साधनमार्फ प्रहरीमाथि आक्रमण गरेको अनुसन्धानले देखाएको थियो । तर, उनीहरूसमेतले माफी पाए । आममाफीको केही रिपब्लिकन सिनेटरहरूले विरोध जनाए । तर, धेरैजसोले या त उनलाई समर्थन गरे वा मौन रहे । यसले पनि ट्रम्पको विशाल राजनीतिक पुँजीप्रति रिपब्लिकन पार्टीभित्रको मौन स्वीकृतिलाई संकेत गर्छ । फक्स न्युजको आफ्नो अन्तर्वार्तामा, ट्रम्पले सन् २०२१ मा भएको प्रहरीविरुद्धको हिंसालाई ‘अत्यन्त सामान्य घटना’ भनेका थिए ।
ट्रम्पको कट्टरपन्थी–दक्षिणपन्थी रूपान्तरणप्रति उनको फिर्तीका लागि चार वर्षदेखि काम गरिरहेका उनका सहयोगी र वकिलहरू सबैभन्दा उत्साहित छन् । तिनले यसपटकको ट्रम्पको विजयलाई ‘भारी जित’को संज्ञा दिँदै आएका छन् । ट्रम्प आफैँले यस जितलाई सन् २०२० मा उनीमाथि भएको धोकाको (जिते पनि हारेको देखाउने) ‘कोर्स–करेक्सन’का रूपमा देखाउने प्रयास गरिरहेका छन् ।
उसो त अमेरिकी सांस्कृतिक मनोविज्ञान पनि ट्रम्पको पक्षमा सरेको देखिन्छ । यो कुरा शपथग्रहण समारोहमा विश्वका सबैभन्दा धनी प्राविधिक उद्यमीहरूको उपस्थितिले नै संकेत गर्छ । उनको फिर्तीलगत्तै फेसबुकबाट भएको तेस्रो पक्ष तथ्य जाँच परित्याग गर्यो । केही कम्पनीहरूबाट तिनको कार्यस्थलमा लागू भएको ‘विविधता, समानता र समावेशीकरण’ कार्यक्रमको उन्मूलन गरेका छन् । ट्रम्पप्रतिको माहोल दर्साउने अर्को घटना शपथग्रहणअघि आयोजना गरिएको ‘पिपुल्स मार्च’का क्रममा पनि देखियो । सो मार्च सन् २०१७ को शपथग्रहणअघि आयोजना गरिएको ‘महिला मार्च’भन्दा उलेख्य सानो रह्यो । त्यस्तै, डेमोक््रयाटहरूसमेत विगतमा जस्तो प्रतिद्वन्द्वी दलको राष्ट्रपतिको आलोचना गर्नुको सट्टा उनीसँग सहकार्य गर्न इच्छा देखाइरहेका छन् ।
‘द वर्किङ क्लास रिपब्लिकन’का लेखक तथा वासिङटनस्थित ‘एथिक्स एन्ड पब्लिक पोलिसी सेन्टर’ नामक थिंकट्यांकका वरिष्ठ फेलो हेनरी ओल्सेन पनि अहिले ट्रम्पको हात माथि रहेको स्विकार्छन् । ‘ट्रम्प अहिले रिपब्लिकन पार्टीमा मात्र होइन, देशैभरि हाबी छन् । उनले यसलाई आफ्ना चुनावी वाचा पूरा गर्ने नीति लागू गर्न प्रयोग गर्न खोज्नेछन् । तर, उनी यसमा सफल होलान् या नहोलान् भन्ने भन्न सकिँदैन । निश्चित रूपमा आगामी दिनमा अवरोध आउनेछन् । बाटोमा विभिन्न बाधा हुनेछन् । र, जवाफमा ट्रम्पले तिनको सामना कसरी गर्नेछन् वा यस सम्बन्धमा उनी कति गम्भीर छन् पनि भन्न सकिने अवस्था छैन,’ ओल्सनले भने ।
ट्रम्पको आगमनले ल्याएको पछिल्लो दक्षिणपन्थी उभारको स्थायित्वमाथि प्रश्न गर्ने पनि धेरै छन् । लेखक तथा मतसर्वेक्षक जोन जोग्बी ट्रम्पको नेतृत्वमा अहिले दक्षिणपन्थी क्रान्तिको प्रयास भइरहेको मान्छन् । ‘तर, प्रयास क्रान्तिमा बदलिन्छ वा थर्मिडोर(फ्रान्सेली क्रान्तिको समयमा छोटो समय टिकेको प्रतिक्रान्ति कू) मात्र हुनेछ हेर्न भविष्य कुर्नुपर्छ,’ जोग्बीले भने ।
प्रारम्भिक गतिका बाबजुद ट्रम्पको राजनीतिक क्रान्ति नटिक्ने टिप्पणीकार बताउँछन् । तिनका अनुसार ट्रम्पले अहिले नै कंग्रेसका रिपब्लिकन सांसदमाझ र ‘मागा’ आन्दोलनभित्र विभाजनको सामना गर्न थालिसकेका छन् । त्यस्तै, द्रुत परिणामको माग गर्ने मतदाताहरूले चाडै परिणाम नपाउँदा उनीबाट निराश हुने जोखिम छ । उनको पहिलो कार्यकालमा पनि उनकै समर्थकमाझ अव्यवस्था र बेमेल सिर्जना भएको इतिहास छ ।
मिनेसोटा विश्वविद्यालयअन्तर्गतको ‘राजनीतिक तथा शासन अध्ययन केन्द्र’का निर्देशक ल्यारी ज्याकोब्स ‘ट्रम्पको शासन शैली पहिले हावादारी चर्का कुरा गर्ने र पछि तिनलाई कार्यान्वयन गर्न धम्की दिने खालको’ भएको बताउँछन् । ‘ठुला भाषण र चमकधमकपूर्ण घोषणा कार्यान्वयन गर्ने वेला एक समयमा शासनको झ्याउलाग्दो घर्षणको अवधिमा आउँछ । यस अल्छीलाग्दो कठिन अवधिमा पुग्दा ट्रम्प निदाएझैँ देखिन्थे । यसपटक पनि उनी पूर्ण रूपमा कट्टरपन्थी दक्षिणपन्थी एजेन्डामा कति टाढासम्म पुग्छन् अहिले ढुक्कसँग भन्न सकिँदैन,’ ज्याकोब्सले भने ।
ज्याकोब्स ट्रम्पको जितले अमेरिका मूलभूत रूपमै बदलिएको दाबीसँग सहमत छैनन् । ‘अमेरिका दक्षिणपन्थी देश होइन । उनका नीति बाहिरिन थालेपछि तिनले निश्चित रूपमा प्रतिरोध सामना गर्नुपर्नेछ । त्यतिवेला जनमतमा तीव्र उतारचढाव आउनेछन् । हेर्दै जानुस् आगामी गृष्मसम्ममा, ट्रम्पको अनुमोदन दर धेरै घटिसक्नेछ,’ ज्याकोब्सले भने । विगतको अनुभव हेर्दा पनि कांग्रेस बिस्तारै राष्ट्रपतिप्रति कठोर बन्दै जाने गरेको देखिन्छ । ट्रम्पको आफ्नै दल रिपब्लिकन पार्टीले पनि सन् २०२६ को मध्यवर्ती चुनावमाथि केन्द्रित हुनुपर्दा मतदातामाझ राष्ट्रपति(ट्रम्प)बाट दूरी देखाउनुपर्ने हुन्छ । त्यसपछि ट्रम्पका कठिन दिन सुरु हुनेछ ।
–द गार्जियनबाट
स्मिथ गार्जियनमा आबद्ध लेखक हुन्