जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसमेतविरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको बिहीबारदेखि सुरु भएको थुनछेक बहस आइतबार सकिएपछि अदालतले लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरेको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।
जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले दिएको आदेशमा मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ७४ बमोजिम एक करोड नगद धरौटी, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।
आदेशअनुसार लामिछानेले एक करोडबराबरको बैंक ग्यारेन्टी जम्मा गरेको रास्वपा लुम्बिनी प्रदेश सल्लाहकार विनोद खरेलले बताए।
सहकारी ठगीसम्बन्धी रुपन्देहीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी माग्ने आदेश भएको हो। लामिछाने पोखराको सूर्यदर्शन सहकारी रकम ठगीको अभियोगमा कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए।