माघ ११ र १२ गते कर्णालीमा युवा महोत्सव हुने भएको छ। परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा महोत्सव आयोजना गर्न लागिएको हो। प्रदेश राजधानी वीरेन्द्रनगरको सिटीहलमा महोत्सव हुनेछ।
दुई दिनसम्म चल्ने महोत्सवको उद्देश्य युवाहरूमा आशा जागृत गर्नु रहेको महोत्सवका संयोजक हिमाल विष्टले बताए। उनका अनुसार महोत्सवमा प्रदेशका युवाहरूको क्षमता, कला, सीप र अनुभव आदान–प्रदान गरिनेछ।
महोत्सवले कर्णालीका युवा सशक्तीकरणमा टेवा पुर्याउने प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले बताए। कार्यक्रम स्थानीय कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, नवप्रवर्तन र कला, सीपलगायतका विषयमा केन्द्रित रहने शाहीले जानकारी दिए।
महोत्सवमा देशलाई विशिष्ट योगदान गरेका कर्णाली प्रदेशका विभिन्न क्षेत्रका व्यक्तित्वलगायत स्थानीय प्रतिभाशाली युवाहरूको उपस्थिति रहने बताइएको छ।