मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
गणेश लम्साल विराटनगर
२o८१ माघ ९ बुधबार १९:o३:oo
Read Time : > 1 मिनेट
समाचार

लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिवविरुद्ध ठगी मुद्दा दर्ता 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार १९:o३:oo

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेलविरुद्ध मोरङ जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको छ। ठगी आरोपमा अदालतले पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीमा आत्मसमर्पण गरेका पोखरेलविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो। 

मोरङ रंगेली नगरपालिका–२ का पोखरेलविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि २५ पुसमा आत्मसर्मपण गरेका थिए। मोरङ प्रहरीले १२ दिनमा अनुसन्धान सकेर अभियोजनका लागि सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालय उक्त अभियोग अभियोजन गरेर बुधबारमा जिल्ला अदालत मोरङमा ठगी कसुरमा मुद्दा दर्ता गराएको हो। 

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव एवं एमाले जिल्ला सदस्य तथा एमाले मोरङ काठमाडाैं सम्पर्क समितिका पूर्वपदाधिकारी अनिलकुमार पोखरेलविरुद्ध १४ दिनपछि अदालतमा मुद्दा दर्ता भएको हो। 

आरोपी पोखरेलविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुर गरेकाले प्रतिवादीलाई सोही ऐनको दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम बिगोसहित सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरीवनाको माग दाबी गर्दै अभियोग दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता तथा सूचना अधिकारी सुदर्शन निरौलाले जानकारी दिए। 

मोरङ अदालतका सूचना अधिकारी हेप्रसाद बुढाथोकीका अनुसार बुधबार दर्ता भएको अभियोगउपर बिहीबार प्रतिवादी पोखरेलको बयान हुनेछ। बयान सकिएपछि बिहीबार नै थुनछेक बहस भएर पुर्पक्षका लागि कारागार जाने वा धरौटी तारेखमा छाडिने अदालतले आदेश गर्नेछ। 

कृषि कार्यालयका पूर्वकर्मचारी सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग एमाले कोटाबाट एमबिबिएसमा छोरीको नाम निकालिदिने भन्दै अनिलले विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ। 

प्रहरीले किटानी जाहेरी लिन नमानेपछि बौआलालले विराटनगरमा ३१ साउन ०७९ मा ठगी गरी अपराधिक लाभ लिएको आरोपमा परमादेश माग गर्दै अनिलविरुद्ध निवेदन दर्ता गराएका थिए । अदालतले उक्त मुद्दामा ३१ भदौ ०८१ मा अन्तिम फैसला गर्दै अनिल पोखरेललाई पक्राउ गरेर कानुनी कारबाही गर्न प्रहरीलाई आदेश गरेको थियो।

११ पुस ०८१ मा प्रमाणीकरण भएको आदेशको पूर्णपाठ २१ पुसमा मोरङ प्रहरीले प्राप्त गरेको थियो भने पीडित बौआलालले पनि सम्पर्कमा आएर किटानी जाहेरी दिएका थिए। प्रहरीले २२ पुसमा अदालतबाट पक्राउ पुर्जी लिएर फरार अनिलको खोजी थालेको थियो। २५ पुस बिहान आरोपी अनिलले प्रहरीमा आत्मसमर्पण गरेका थिए। 

अनिल पोखरेलले ठगी गरेको अदालतबाट प्रमाणित आदेश भैसकेको समाचार सार्वजनिक भएपछि प्रतिनिधिसभाका सार्वजनिक लेखा समिति सभापति तथा मोरङ २ नम्बर क्षेत्रका संघीय सांसद ऋषिकेश पोखरेलले हतारहतार स्वकीयसचिव अनिललाई हटाएका थिए। 

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा कार्यालय रहेको उमागौरी कृषि सहकारीमा दुई कार्यकाल सञ्चालक समिति रहेकी सांसदपत्नी अन्जाला कोइराला सहकारी ठगीमा मुद्दा दर्ता भएपछि फरार भए पनि २८औँ दिनमा हाजिर भएर एकैदिनमा १० लाख धरौटीमा छाडिएकी थिइन्।