जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार विहान १० बजे अदालतमा उपस्थित हुने गरी सर्तमा श्रीमती निकिता पौडेल र कानुन व्यावसायीको जिम्मा लगाउने आदेश दिएको छ ।
बुधवार बिहान अदालतमा उपस्थित हुन मंगलवार नै काठमाडौंबाट भैरहवा आइपुगेका लामिछाने विहान साढे ९ बजे अदालतमा उपस्थित भएका थिए ।
अदालतको गोलाप्रथाबाट ५ नम्बर इजलासमा परेका उनको बयान न्यायाधीश प्रह्लादकुमार योगीको इजालसमा भएको थियो । समय अभावका कारण बुधवार थुनछेक बहस हुन नसकेपछि रविलाई कानुन व्यावसायी र श्रीमती निकिता पौडेलको जिम्मा लगाएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
उनले थुनछेक बहस बिहीबार हुने जानकारी दिए । जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी, संगठित अपराध लगायत विषयमा रविसहित २२ जनाविरुद्ध मुद्दामा परेको थियो ।
बुटवलको सुप्रिम सहकारीको वचत रकम ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो । लामिछानेसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।