सिराहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत आठजनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। सात महिनाअघि दायर मुद्दामा विशेष अदालतले बुधबार यस्तो फैसला गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवराजपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। आर्थिक वर्ष ०७७-७८ मा मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको माटो र ग्राभेलबाट सडक निर्माणमा अनियमितता गरेको अभियोग उनीहरूमाथि थियो।
यसै मुद्दामा उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी र सचिव रामउदगार मण्डलसमेत प्रतिवादी थिए। नवराजपुर– २ का अध्यक्ष खुसीलाल साहसमेत विरुद्ध मुद्दा दायर भएकोमा आठैजनालाई सफाइ दिइएको छ।
यस मुद्दामा विशेषका सदस्यहरू रामबहादुर थापा र विदुर कोइरालाको इजलासले फैसला गरेको हो। सडक ग्राभेलका क्रममा हुँदै नभएको काम देखाई सरकारी रकम भुक्तानी गरिएको अभियोग प्रतिवादीहरूमाथि थियो। यस क्रममा १२ लाख सात हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको दाबी नपुग्ने फैसला भएको हो।