लुम्बिनी विकास कोषले बुद्धको अस्थिधातु रहेको नवलपरासीको रामग्रामबाट लुम्बिनीसम्म बुधबारदेखि विद्युतीय बस सञ्चालन सुरु गरेको छ। गत पुस ४ गतेदेखि सञ्चालन सुरु गरिएको विद्युतीय बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरूको सेवालाई लक्षित गरी रामग्रामबाट लुम्बिनीका लागि सुरु गरिएको हो।
बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) र रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बसमा सवार भएर सेवा सञ्चालन गरे। कोषले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकहरूलाई सेवा दिने उद्देश्यले अनुदानमा प्राप्त गरेको विद्युतीय बस कानुनी उल्झनका कारण सञ्चालन हुन सकेको थिएन।
कोषका कोषाध्यक्ष भट्टराईले सेतो नम्बर प्लेटका कारण बस सेवा सञ्चालन गर्न नसकेको अवस्थामा सबैको गुनासो आएपछि दानपेटिका राखेर परीक्षणस्वरूप बस सञ्चालन गरिएको बताए। उनले रामग्राम र बुद्धजन्मस्थल लुम्बिनी जोड्नका लागि हप्ताको तीन दिन विद्युतीय बस सञ्चालन गरिएको र भविष्यमा दैनिक एउटा बस सञ्चालन गर्ने योजना रहेको बताए।
यस्तै, रामग्रामका नगरप्रमुख यादवले आफूहरूले लामो समयदेखि विद्युतीय बस सञ्चालनका लागि माग गरेकोमा त्यसको सुरुवात भएको बताए। रामग्राम र लुम्बिनी जोड्नका लागि विद्युतीय बसले ठुलो भूमिका खेल्ने उनको भनाइ थियो। विद्युतीय बस नियमित सञ्चालनका लागि आवश्यक वातावरण बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने उनले प्रतिबद्धता जनाए।
रामग्रामबाट लुम्बिनीका लागि सोमबार, बुधबार र शुक्रबार बिहान ९ बजे बस चल्नेछ। रामग्राम स्तुपाबाट बुद्धचाेक, परासी बजार, धकधई, बेलहिया, भैरहवाको देवकोटाचाेक, बुद्धचोक हुँदै एयरपोर्टबाट लुम्बिनी बस चल्ने गरी रुट मिलाइएको कोषका देवदह कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए।
उनका अनुसार देवदह र रामग्राममा शनिबारलाई आलोपालो गरी रुट बनाइनेछ। बसमा सवारहरूले स्वेच्छिक रूपमा दानपेटिकामा सहयोग गर्न सक्नेछन्, तर कोषले भाडाबापत शुल्क भने लिनेछैन।
लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँचवटामध्ये दुईवटा बस धम्मयात्रा लेखेर पुस ३ गतेदेखि परीक्षणस्वरुप सञ्चालन गरिएको छ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ जेठ १२ गते कोषलाई हस्तान्तरण गरेको थियो।