आइसिसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएमवाइएसडी ओभल क्रिकेट मैदानमा आज बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।
अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि जुलिटी मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान दुई–दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो । अस्ट्रेलियाका लागि काइम्हे ब्रेले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाइन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोई क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् ।
बलिङतर्फ नेपालकी कप्तान पूजा महतोले तीन विकेट लिइन् भने सीमना केसीले दुई र रिया शर्माले एक विकेट झारेकी थिइन् । विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।
यो जितसँगै अस्ट्रेलिया समूह चरणको खेलमा अपराजित रहँदै सुपर सिक्समा छनोट भएको छ । अस्ट्रेलियाले यसअघि स्कटल्यान्डलाई नौ र बंगलादेशलाई दुई विकेटले पराजित गरेको थियो । रासस