मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खो–खो विश्वकपका उपविजेता पुरुष तथा महिला खेलाडीहरू ।  तस्बिर : ज्ञानेन्द्र कार्की/ नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ ८ मंगलबार o७:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ऐतिहासिक पदकसहित फर्केको खो–खो टोलीको भव्य स्वागत 

दुवै टोलीले ४५/४५ लाख पुरस्कार पाउने, प्रक्रिया थाल्न राखेपको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार o७:१७:oo

पहिलो खो–खो विश्वकप प्रतियोगिताको पुरुष तथा महिला टोलीका उपविजेता खेलाडीहरूलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नयाँदिल्लीको इन्दिरा गान्धी रंगशालामा आइतबार खो–खो विश्वकपअन्तर्गत पुरुष तथा महिलातर्फका फाइनलमा नेपाल आयोजक भारतसँगै पराजित भएको थियो । पुरुषतर्फ भारतसँग ५४–३६ र महिलामा ७८–४० ले स्तब्ध हुँदा नेपाल उपविजेतामा सीमित भएको हो । 

विश्वकपको उपविजेता बनेको पुरुष तथा महिला खेलाडीहरूले राज्यबाट नगदसहित पुरस्कृत हुने प्रावधान छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विश्वकपका उपविजेता खो–खोका खेलाडीले समान ४५ लाख रुपैयाँ पाउनेछन् । राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरूको स्वागत गर्दै नेपाल खो–खो संघलाई १५ दिनभित्र नगद पुरस्कार प्राप्तिका लागि आवश्यक निवेदन दिन भनेको छ । 

‘राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा व्यवस्था भए अनुसार खेलाडीलाई पुरस्कृत गरिने छ, यसका लागि १५ दिनभित्र आवश्यक कागजात पेश गर्न आग्रह गर्दछु,’ घिसिङले भने, ‘त्यसपछि राज्यले पुरस्कृत गर्ने प्रक्रिया अगाडि बढाइने छ ।’ नियमावली २०७९ मा अन्तर्राष्ट्रिय महासंघ (आइएफ) विश्व च्याम्पियनसिप खेलको सामूहिक प्रतिस्पर्धातर्फ रजत जित्नेले ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ । 

खो–खो विश्वकप पनि आइएफको सामूहिक खेलमा पर्छ । खेलकुद विकास नियमावलीमा विश्वकपका खेललाई ओलम्पिकसरह मानिएको छ । सोही नियमावलीअनुसार खेलाडी मात्र नभएर प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो र खेल संघले पनि पुरस्कार पाउनेछन् । जसअनुसार रजतले सात लाख ८० हजार प्राप्त गर्नेछन् । विश्वकपमा रजत जितेको नेपाल खो–खो संघले सरकारबाट १५ लाख ६० हजार पाउनेछ । सदस्यसचिव घिसिङले सबैका मिहिनेत कारण खो खो विश्वकपमा नेपालको पुरुष र महिला टोलीले ऐतिहासिक सफलता प्राप्त गरेको बताए । नेपालको दुवै टोली फाइनल पुगेपछि उनी पनि प्रतिस्पर्धा हेर्न सोमबारै नयाँदिल्ली पुगेका थिए । खेलाडीसँगै फर्किएका घिसिङले उमेर समूहका खेलाडीलाई मध्यनजर गर्दै राखेपले सञ्चालन गरिरहेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत खो–खोलाई पनि समावेश गरिएको बताए । यसैबिच कप्तानद्वय हेम पनेरू र सरस्वती कडायतले विश्वकपमा पदक जित्ने लक्ष्य पूरा भएको बताए । 

स्वर्ण पदक पनि जित्न सकिन्थ्यो : समिर चन्द, खेलाडी
विश्वकपमा पदक ल्याउँदा भाग्यमानी भएको महसुस गरेको छु । हामीले देशलाई चिनाउने अवसर पायौँ । त्यसैले निकै खुसी छु । विश्वकपका लागि धेरै अभ्यास गर्न पाएनौं । सोचे जस्तो लामो समय अभ्यास गरेको भए नेपालले विश्वकप उपाधि जित्न सक्थ्यो । थोरै अभ्यासले पनि हामी विश्वकपको उपविजेता भएका छौँ । यो पदकले खो खोलाई हेर्ने नजर फरक पर्छ । 

रजतपछि हामीलाई हेर्ने नजर फरक भयो : निशा शाही, खेलाडी
पहिलोपटकको सहभागीमै विश्वकपमा रजत पदक जित्दा खुसी छु । नेपाल २४ राष्ट्रमा दोस्रो भएकोछ । हामीले एक महिना मात्र अभ्यास गरेका थियौँ । अभ्यास ठिकै थियो । विश्वकपको सफलतापछि खो–खो खेल र हामी खेलाडीलाई हेर्ने नजर फरक भएको छ । भारतका खेलाडी निकै स्तरीय छन् । हामीले पनि राम्रो अभ्यास पाए सफल हुनेछौँ ।