१६ महिनादेखि प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ महेन्द्रनगरका नेपाली युवक विपिन जोशी आइतबार छुट्ने आशामा परिवार थियो । तर, उनी नछुटेपछि विपिनको परिवारमा सन्नाटा छाएको छ ।
विपिनका बाबु महानन्द जोशीले छोरा छुट्ने आसले आइतबार राति १२ बजेसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हेरेको, तर नछुटेपछि दुःख लागेको बताए । ‘टेलिभिजनका च्यानलमा समाचार हेर्दै गयौँ, तर इजरायलसहित अरू देशका नागरिक छुटे, विपिन छुटेनन्,’ उनले भने, ‘छुट्ला भन्ने आशा थियो, नछुटेपछि हाम्रो आशा निराशामा बदलियो ।’
विपिनको रिहाइ नभएपछि जोशी परिवार थप बेचैन बनेको छ । ‘पहिलो लटमै छुट्ने आशा थियो, तर छुटेनन् । किन छुटेनन्, त्यो हामीलाई थाहा छैन,’ महानन्दले भने, ‘अब सरकारले सीधै इजिप्ट र कतारसँग वार्ता गर्नुपर्ने देखियो ।’
गत वैशाख दोस्रो साता कतारका राजा अमिर शेख तमिनविन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा पनि जोशी परिवारले छोरा छुट्न नसक्नुमा कतै सरकारी पहल मुख्य ठाउँमा नपुगेको त होइन भनेर दुखेसो पोखेको थियो । ‘१९ असोज ०८० मा विपिनको कुरा आमा र दाजुसँग भयो, तर मेरो सम्पर्क भएन, त्यसवेलादेखि अहिलेसम्म विपिनकै यादले हामीलाई बेचैन बनाएको छ,’ बुबा महानन्दले भने, ‘एक सेकेन्ड भए पनि छोरासँग कुरा गर्न पाए हुन्थ्यो ।’ यसअघि मंसिरमा पनि हमास समूह र इजरायलबिच युद्धविराम हुँदा छोरा नछुटेकाले अहिले पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता लागेको उनले बताए ।
सरकारले सीधै कतार र इजिप्टसँग वार्ता गर्नुपर्ने माग विपिनको परिवारले गरेको छ । परिवारले विपिनको रिहाइका लागि राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, पूर्वपरराष्ट्रमन्त्रीद्वय एनपी साउद र नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्री रवि लामिछाने, मुख्य दलका नेता, सांसदसहित सरकारी अधिकारीहरूसँग निरन्तर भेटघाट गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विपिनसहितका विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ २० असोज ०८० मा हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई हमास समूहले नियन्त्रणमा लिएको थियो ।
विपिन छुटाउन इजिप्टसँग आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतिलाई सोमबार फोन गरेर विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । उपचारका लागि थाइल्यान्डको बैंककमा रहेकी परराष्ट्रमन्त्री राणाले उतैबाट टेलिफोन गरेकी हुन् ।
इजरायल सरकार र हमासबिच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री राणाले पहिलो चरणमा नै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा. अब्देलमार्फत इजिप्ट सरकारसँग आज आग्रह गरेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए । अब्देलले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने जानकारी दिएको परराष्ट्रमन्त्री राणालाई उद्धृत गर्दै पाठकले बताए ।