मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
जेरुसेलम
२o८१ माघ ६ आइतबार o६:४२:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पहिलो चरणमा आज ७३७ बन्दी रिहा गर्दै इजरायल

Read Time : > 1 मिनेट
जेरुसेलम
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार o६:४२:oo

इजरायलले स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत आईतबार ७३७ कैदीबन्दीलाई रिहा गर्ने भएको छ । इरानको न्याय मन्त्रालयले शनिबार उक्त जानकारी दिएको हो । मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘सरकारले हाल हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।’ यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो । विस्तारित सूचीमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फताह पार्टीका सशस्त्र शाखाका प्रमुख जकारिया जुबेदी पनि थिए । सन् २०२१ मा इजरायलको गिल्बोआ जेलबाट अन्य पाँचजना प्यालेस्टिनीसँगै जुबेदी भागेका थिए ।

सम्झौताअनुसार युद्धविरामको पहिलो दिन तीनजना बन्धकहरूलाई हमासले रिहा गर्ने अपेक्षा गरिएकोे छ । एएफपी समाचार संस्थाका अनुसार सुरुमा छुट्ने ती सबै महिला बन्धक हुनेछन् । पहिलो चरणमा १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका ३३ जना इजरेली बन्धकहरू चरणबद्ध रूपमा छुट्नेछन् । त्यसको बदलातमा इजरायलको जेलमा रहेका सयौँ प्यालेस्टिनी बन्धीहरू छाडिनेछ रिहा हुनेमा प्यालेस्टिनी वामपन्थी सांसद खालिदा जरार पनि छन् । उनलाई इजरायलले गिरफ्तार गरेर कैयौँपटक जेलमा राखेको थियो ।

जरार इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली संघले ‘आतंकवादी संगठन’ घोषणा गरेको समूहका एक प्रमुख सदस्य हुन् । सन् १९६७ देखि इजरायलले कब्जा गरेको प्यालेस्टाइनी क्षेत्र वेस्ट बैंकमा डिसेम्बरको अन्त्यतिर पक्राउ परेका ६० वर्षीय उनलाई त्यसयता विनाकुनै अभियोग हिरासतमा राखिएको छ । हमासनिकट दुई स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार रिहा गरिने बन्धकको पहिलो समूहमा तीनजना इजरायली महिला सैनिक रहेका छन् । न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलोपटक रिहा हुने कैदीको अन्तिम संख्या हमासद्वारा रिहा गरिएका जीवित बन्धकको संख्यामा निर्भर हुने बताएका छन् ।

युद्धविराम सम्झौता अनुमोदन
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो । युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको थियो । नेतन्याहुको कार्यालयले शनिबार बिहान मन्त्रिपरिषद्मा भएको मतदानपछि भने, ‘सरकारले बन्धक फिर्ता गर्ने योजनालाई अनुमोदन गरेको छ ।’ आइतबारदेखि सुरु हुने युद्धविरामपछि गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाइँ र बमबारी रोकिनेछ ।

इजरायली सेनाले युद्धविराम सम्झौताको घोषणा भएपछि पनि कारबाहीलाई जारी राखेको थियो । सेनाले बिहीबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सेनाले विगत २४ घण्टामा गाजाका करिब ५० वटा लक्ष्यमा आक्रमण गरेको छ ।’ यसैबिच, प्यालेस्टाइन राष्ट्रपति महमुद अब्बासले प्यालेस्टिनी प्राधिकरणले युद्धपछि गाजामा पूर्ण जिम्मेवारी लिने तयारी पूरा गरेको बताएका छन् । युद्धविराम सुरु हुनुअघि नै विस्थापित गाजावासीहरू घर फर्कने तयारी गरिरहेको स्थानीय सञ्चार माध्यमबाट प्रशारित समाचारमा जनाइएको छ । युद्धविराम लागु हुने समय नजिकिँदै जाँदा आफ्नो घरबाट विस्थापित भएर अस्थायी शिविरमा बसिरहेका प्यालेस्टिनीले घर फर्कने आशा राखेको बिबीसीले जनाएको छ ।