सडकमा भएको विवादमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि नेपाल बिद्युत् प्राधिकरणका कर्मचारीले मुक्का हानेका छन् । शनिबार झापाको जामुनबारी चोकमा उनीमाथि मुक्का प्रहार भएको हो । उनको आँखामा चोट लागेको छ ।
थापामाथि आक्रमण गर्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीद्वय शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।
थापा सवार गाडीले विद्युत प्राधिकरणका कर्मचारी सवारी गाडीलाई ओभरटेक गर्दा विवाद भएको थियो । त्यही क्रममा थापाका पिएसओले गाडीमा भिआइपी सवार रहेको बताएका थिए । झापा कांग्रेसका सचिव कृष्ण हुमागाईका अनुसार त्यसपछि प्राधिकरणका चालकले ‘देश लुट्ने यीनै नेता हुन्’ भन्दै झापड हानेका हुन्।
घटनापछि सामान्य उपचार गरेर थापा घर फर्किएका छन् । उनी पिकनिकबाट फर्कने क्रममा सो घटना भएको हो। घटनाको विषयमा अनुसन्धान अघि बढाइएको झापा प्रहरीले जनाएको छ। थापा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति समेत हुन्।