Skip This
कर बक्यौता असुलीका लागि चितवन आन्तरिक राजस्वले घरघरमा पत्र पठाउँदै
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Tuesday, 11 August, 2026
२o८१ माघ ६ आइतबार o९:२o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कर बक्यौता असुलीका लागि चितवन आन्तरिक राजस्वले घरघरमा पत्र पठाउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार o९:२o:oo

आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ। लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो।

कार्यालयमा ७० हजार करदाता छन्। तीमध्ये १० हजार भ्याटका हुन्। कुल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन्।

कार्यालय प्रमुख पुण्यविक्रम खड्काका अनुसार चार महिनाभन्दा बढी समयदेखि कर नबुझाएकालाई पहिलो चरणमा पत्राचार गर्न थालिएको छ। कार्यालयले बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्न अभियान नै सुरु गरेको छ। लामो समयदेखि बक्यौता नतिरेका र बैंक खाता रोक्का भएका करदाताको सम्पत्ति रोक्काका लागि प्रक्रिया अगाडि बढाइएको छ।

कार्यालय प्रमुख खड्काका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागमा कर नतिर्नेको तीनपुस्ते विवरण पठाएर उनीहरूको घरजग्गाको विवरण मागिएको छ। १० लाखदेखि १४ करोड रुपैयाँसम्म बक्यौता तिर्न बाँकी रहेका दुई सय करदाता कार्यालयमातहत छन्। ती करदाताले बुझाउनुपर्ने रकम दुई अर्ब ४७ करोड रुपैयाँ छ।

कार्यालयले प्यानमा दर्ता भएर कारोबार रकम बढी भएका करदाताको पनि खोजी गरिरहेको छ। सेवा र वस्तुको हकमा रु. ३० लाख र अन्यको हकमा रु. ५० लाखभन्दा बढी कारोबार भएका मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने प्रावधान छ।

खड्काका अनुसार त्यस्ता ५० वटा फार्ममा पत्राचार गरिएको छ। थप दुई सय फार्मको अध्ययन भइरहेको छ। त्यस्ता फार्मको तीन वर्षको कारोबारको अध्ययन गरेर उनीहरूलाई भ्याटमा ल्याइने उनले बताए।

कतिपय फार्महरूले वैदेशिक अध्ययनका लागि र कतिपयले बैंक ऋणका लागि समेत वास्तविक आयभन्दा बढी देखाउने गरेका छन्। चुहावट नियन्त्रणकै लागि भरतपुर महानगरपालिकाभित्रका १८ वटा करदाताको छनोट गरी मौज्दात परीक्षण काम भइरहेको उनले जानकारी दिए। ‘विवरण हेर्दा शंकास्पद देखिएकाको अध्ययन भइरहेको छ,’ उनले भने।

जिल्लास्तरीय राजस्व चुहावट नियन्त्रण समितिमार्फत अवैध मदिरा, नक्कली अन्तःशुल्क स्टिकर, अवैध रूपमा भित्रिएका सुर्तीजन्य पदार्थको अनुगमनलाई कडाइ गरिएको छ। कार्यालयले अग्रिम करकट्टी नबुझाउने मुख्य रूपमा अस्पताल, विद्यालय, शैक्षिक परामर्शदातालगायत १५ वटा फार्मको छनोट गरी अध्ययन गरिरहेको छ।

कार्यालयले पुस मसान्तसम्ममा रु. १० अर्ब ६३ करोड राजस्व असुली गरेको छ। चालू आर्थिक वर्षका लागि विभागले कार्यालयलाई रु. २६ अर्ब ३६ करोडको लक्ष्य दिएको छ।