आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको दुई अर्ब हिनामिनाका आरोपित एमाले नेता केबी उप्रेतीविरुद्ध ठगीका थप जाहेरी परेका छन् । तर, प्रहरीले भने उनीमाथि सामान्य सहकारी ठगीको कसुरमा मात्र अनुसन्धान गरेको छ ।
हाल डिल्लीबजार कारागारमा रहेका उप्रेती नेतृत्वको समूहले उक्त सहकारी संस्थाको दुई अर्ब हिनामिना गरेको थियो । जसमा थप जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले थप तीनवटा पूरक अभियोग दर्ता गरेको छ ।
पाँच करोड ७७ लाख, १८ करोड ४५ लाख र अर्काेमा ४१ लाख ४६ हजार बिगो कायम गरी तीनवटा छुट्टाछुट्टै पूरक अभियोग दर्ता गरिएको छ । उप्रेतीको समूहले विभिन्न सहकारी मर्ज गरी सहकारीको पैसा विभिन्न कम्पनी र जग्गामा लगानी गरेको थियो ।
तर, सहकारीको दुई अर्बभन्दा धेरै कुन–कुन कम्पनीमा लगानी गरियो भनेर प्रहरीले खोजी गरेको छैन । पक्राउ पर्दा उनी राष्ट्रिय सहकारी बैंकको समेत अध्यक्ष थिए । एमालेकै आडमा उनले सो पद पाएका थिए । पक्राउ परेपछि एमालेले उनलाई सहकारी विभागको सचिवबाट निलम्बन गरेको थियो ।
रवि लामिछाने जोडिएबाहेकका सहकारीको अपचलनमा प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरतर्फ अनुसन्धान नगरेपछि अनुसन्धानमा प्रतिशोधको आरोप लाग्दै आएको छ ।