नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरू आज धनकुटा आएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जराकेन्द्रित तीनमहिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा आएका हुन् ।
कार्यक्रमलाई एमाले महासचिव पोखरेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईलगायतले सम्बोधन गर्नेछन् । धनकुटाको सामुदायिक भवनमा आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
कार्यक्रममा सहभागिताका लागि एमालेले पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूलाई आग्रह पनि गरेको छ । एमालेले माघदेखि चैतसम्म तीन महिना वडाकेन्द्रित अभियानमा जुटेको हो ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि देशव्यापी रूपमा सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई ‘जराकेन्द्रित अभियान’ नाम दिइएको छ । यो अभियानमा संगठनका कमी–कमजोरीको मूल्यांकन गर्दै जनताको चासो र गुनासो बुझेर सम्बाेधनको प्रयास गरिने एमालेले जनाएको छ ।