मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक १८ शुक्रबार १०:४७:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बेलायतले त्याग्यो इजरायलस्थित दूतावास जेरुसेलम सार्ने योजना

Read Time : > 1 मिनेट
२०७९ कार्तिक १८ शुक्रबार १०:४७:००

बेलायतको नयाँ सरकारले इजरायलस्थित बेलायती दूतावासलाई जेरुसेलममा सार्न पूर्ववर्ती ट्रस सरकारले सुरु गरेको प्रक्रियालाई परित्याग गरेको छ । लिज ट्रस प्रधानमन्त्री हुँदा बेलायतले तेलअभिभस्थित बेलायती दूतावासलाई विवादित जेरुसेलममा सार्नेबारे मूल्यांकन गर्न निर्देशन दिएकी थिइन् । तर, अहिले आएर बेलायतका सरकारी अधिकारीले विदेशी पत्रकारहरूको समूहलाई ‘बेलायती दूतावासलाई तेलअभिभबाट जेरुसेलम सार्ने कुनै योजना नभएको’ बताएका छन् । यस खबरलाई बेलायतस्थित प्यालेस्टिनी मिसनले स्वागत गरेको छ । 

गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा निवर्तमान इजरायली प्रधानमन्त्री यायर ल्यापिडसँगको भेटमा ट्रसले उनको मुलुकको दूतावास सार्ने विषयमा पुनः मूल्यांकन गरिरहेको बताएकी थिइन् । प्यालेस्टाइनको समेत दाबी रहेको जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने गरी चालिने उक्त कदमप्रति धेरैले विरोध जनाएका थिए । प्यालेस्टाइन समर्थक समूहहरू, धार्मिक नेताहरू, लन्डनमा अरब राजदूत, युरोपेली विदेश मन्त्रालय र मुस्लिम बहुसंख्यक रहेका क्षेत्रका कन्जर्भेटिभ सांसदले समेत राजधानी सार्नेबारे पुनः मूल्यांकनको आलोचना गरेका थिए । 

सुनकले बुधबार बेलायतमा इजरायली तथा अरब कूटनीतिज्ञको समूहसँग भेटेपछि पछिल्लो निर्णय बाहिरिएको हो । बुधबार सुनकले अब्राहम एकर्ड(सम्झौता)मा हस्ताक्षरको दोस्रो वर्षगाँठको परिप्रेक्ष्यमा ती कूटनीतिज्ञलाई भेटेका थिए । इजरायल र कैयौँ अरब देशबीच कूटनीतिक सम्बन्ध सुचारु गराएको ‘अब्राहम एकोर्डले व्यापार, पर्यटन, सुरक्षा र अन्य क्षेत्रमा सम्बन्धको नयाँ युगको सुरुवात गरेको’ भन्दै सुनकले प्रशंसा गरे । 

उनले अगाडि भने, ‘अनवर सादातले इजरायली संसद् नेसेटलाई सम्बोधन गर्न इजरायलको यात्रा गरेको लगभग ४५ वर्ष भयो । अब्राहम एकोर्डमा हाम्रो पुस्ताले नयाँ प्रयास थालनी ग¥यो । हामीले यात्रा जारी राख्नुपर्छ, सँगै मिलेर काम गरी दिगो शान्ति, स्थायित्व र समृद्धि ल्याउन सक्छौँ भन्ने देखाउनुपर्छ ।’ इजरायल पक्षधर नेता मानिने ऋषि सुनकको पछिल्लो युटर्न उनी स्वयंले प्रधानमन्त्री पद सम्हाल्नुअघि व्यक्त भनाइविपरीत देखिन्छ । अगस्टमा ‘कन्जर्भेटिभ फ्रेन्ड्स अफ इजरायल’को कार्यक्रममा सुनकले जेरुसेलम ‘निर्विवाद रूपमा इजरायलकोे ऐतिहासिक राजधानी भएको बताएका’ थिए । उनले जेरुसेलमलाई इजरायलको राजधानी घोषणा गर्ने बलियो आधार रहेको’ र आफूले त्यही गर्न चाहेको बताएका थिए ।