मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
२o८२ असोज २ बिहीबार १९:२४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङका पहिरोपीडितको एक सातादेखि त्रिपालमुनि वास

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १९:२४:oo

गत बुधबार (२४ भदौ) बिहान ताप्लेजुङ मैवाखोला– ६ का वडासदस्य पासाङ ग्याबु शेर्पा भर्खरै उठेका थिए । मैवाखोला गाउँपालिका– ६ कै फाकुम्बाको भित्तेटोलमा पहिरो गएको खबर आयो । उनको गाउँ पनि त्यही भित्तेमै हो । तर, उनी साङ्रपामा डेरी गरी बस्छन् । वडा कार्यालय र गाउँपालिका जान सहज होस् भनेर उनी त्यहाँ बसेका हुन् । गाउँ पहिरोले बगाएको जानकारी पाएपछि शेर्पा हतारहतार त्यतै लागे । उनी बसेको ठाउँदेखि गाउँ पुग्न आधा घण्टा लाग्छ । 

बिहान करिब ८ बजे गाउँ पुग्दाको दृश्य सम्झँदा अहिले पनि भावुक बन्छन् । गाउँका छिमेकी दुईजनाले ज्यान गुमाइसकेका थिए । कालो सुनको नामले चिनिने अलैँचीबारी पहिरोले लगेको थियो। अलैँची त्यस क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत पनि हो । ‘गाउँ जान निकै मुस्किल पर्‍यो । पहिरो नै पहिरो भएर जसोतसो गाउँ पुगियो,’ उनी भन्छन्, ‘गाउँ पुग्दा दुईजनाको मृत्यु भएको रहेछ । एकजनाको लास प्रहरीले निकालिसकेको थियो । अर्कोको लास निकाल्दै थियो । त्यो दृश्य सम्झन अहिले पनि निकै गाह्रो हुन्छ ।’

गत हप्ताको बुधबार अविरल वर्षाका कारण माैवाखोला–६ फाकुम्बास्थित भित्तेटोलका  लाक्पा खाण्डु शेर्पाको करिब दुई सय मिटर माथिबाट पहिरो झर्‍यो । पहिरोमा परी ७१ वर्षीय लाक्पा र सोही ठाउँकी निङ्मा लाकी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । निङ्मा साइनोमा लाक्पाकी भाइबुहारी पर्छिन् । उनी त्यस दिन गाउँमै महिला समूहको बैठकमा भाग लिन जाँदै थिइन् । बाटोमै लाक्पाको घर परेकाले त्यहाँ निस्किएकी उनलाई पहिरोले पुर्‍यो । पहिरोमा परी लाक्पाकी १४ वर्षीया नातिनी निमा याङजी शेर्पा, ११ वर्षीय नाती दारेञ्जेन शेर्पा र त्यही घरमा खेल्न आएका १३ वर्षीय टासी जाङबु शेर्पा घाइते भएको प्रहरीले जनाएको छ । पहिरोका कारण तीन घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

यद्यपि, पीडितसमेत रहेका वडासदस्य पासाङ ग्याबु शेर्पाले भने ११ घर विस्थापित भएको जानकारी दिए । उनका अनुसार तीन घरपरिवार एक सातादेखि त्रिपालमुनि बसेका छन् । मृतक लाक्पा खाण्डु शेर्पाका नातिनी निमा र नाती  दारेञ्जेन भने नजिकैको गुम्बामा शरण लिएर बसेका छन् । बाँकी सात परिवार आफन्तको घरमा शरण लिएर बसेका वडा सदस्य पासाङले बताए । ‘त्रिपालमुनि बसेकालाई पनि कहीँ कतैबाट सहयोग आएको छैन । छिमेकीले दिएको खाएर बसिरहेका छन् । त्यहाँ जाने बाटो पनि निकै अप्ठ्यारो छ,’ उनले भने, ‘मंगलबार गाउँपालिकाको टोली र सुरक्षाकर्मी जसोतसो पुगेर आएको छ । अब पालिकाले सहयोग गर्छ कि भन्ने आसामा पीडितहरू बसेका छन् ।’

पहिरोले दुईजनाको ज्यान लग्यो। करिब एक दर्जन परिवारलाई विस्थापित ग¥यो । त्योसँगै उनीहरूको आम्दानीको मुख्य स्रोत पाक्न लागेको अलैंचीसमेत बगाएको वडासदस्य पासाङ बताउँछन् । ‘अहिले अलैंचीको मूल्य प्रतिमन ८० हजारभन्दा धेरै छ । दसैं यही अलैंचीले मनाउने योजना थियो । मेरोसहित सबैको गर्दा पाक्न लागेको करिब २० मन अलैंची पहिरोले बगायो । अलैंची पाक्न लागेको थियो,’ उनी भन्छन्, ‘सरकारले विस्थापितलाई चाँडो केही व्यवस्थापन गरोस् । त्रिपालमुनि बसेकाको खाने अवस्था पनि छैन । त्यसको व्यवस्थापन पनि गरोस् ।’

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार फाकुम्बाको भित्तेमा ११ घरपरिवार विस्थापित भएका छन् । विस्थापितमध्ये केही आफन्तकहाँ, केही परिवार, गुम्बा र केही त्रिपालमुनि छन् । उनीहरू छिमेकीको सहयोगमा बसिरहेका अध्यक्ष वनेम बताउँछन् ‘हामीले अनुगमन गरेर आयौँ । अनुगमन गर्न पनि बाटोका कारण मुस्किलले पुग्यौँ । फर्किएपछि म आफैँ बिरामी परेँ,’ उनी भन्छन्, ‘अब केही दिनमै हामी त्यहाँ राहत सामग्री लिएर जान्छौँ ।’

उनका अनुसार मैवाखोला गाउँपालिका पहिरोको अति जोखिममा छ । अहिले पनि वडा नम्बर २ मा दुई घर, वडा नम्बर ४ मा पाँच घर र वडा नम्बर ५ मा सात घर जोखिममा छन् । यस्तै, ०८० सालमा वडा नम्बर ४ का ६५ घर विस्थापित भएका अध्यक्ष वनेमले बताए । ‘त्यसवेला विस्थापित भएका परिवारलाई अस्थायी रूपमा राखेका छौँ,’ उनले भने,‘पहिरोपीडितलाई पुनस्र्थापित गर्न गाउँपालिकाले मात्रै सक्दैन । यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ ।’

निमा र दारेञ्जेनको सहारा गुम्यो
माैवाखोला गाउँपालिका–६ फाकुम्बाको भित्तेटोलका १४ वर्षीय निमा याङ्जी शेर्पाको र ११ वर्षीय दारेञ्जेन शेर्पा हजुरबुवा लाक्पा खाण्डु शेर्पासँग बस्दै आएका थिए। उनका बुवा वैदेशिक रोजगारीमा छन् । आमा अन्तै विवाह गरेर गएको वडासदस्य पासाङ ग्याबु शेर्पा बताउँछन्। हजुरआमा पनि केही वर्षअघि नै बितेका कारण उनीहरूको सहारा हजुरबुवा लाक्पा थिए ।

तर, हजुरबुवालाई पनि एक साताअघिको पहिरोले घरमै पुर्‍यो । जसोतसो निमा र उनका भाइ दारेञ्जेनले ज्यान बचाए । पहिरोमा परी घाइते भएकी निमाको गाउँकै स्वास्थ्य चौकीमा उपचार भयो । भाइ दारेञ्जेन जिल्ला अस्पतालमा उपचारपछि  गाउँ फर्किसकेका छन् । उनीहरू अहिले नजिकैको गुम्बामा बस्दै आएका छन्।