कास्की जिल्ला अदालतले सहकारी ठगीका फरार आरोपी गितेन्द्रबाबु राई (जिबी)को राहदानी रद्द गर्न आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको शुक्रबारको एकल इजलासले प्रक्रिया पूरा गरेर जिबीको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिबीको राहदानी रद्द गरी नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गर्न भन्दै सरकारी वकिल कार्यालयमा निवेदन दिएको थियो । सोही निवेदन वकिल कार्यालयबाट २८ पुसमा अदालतमा दर्र्ता भएको थियो । २९ पुसमा न्यायाधीश नवराज दाहालको इजलासमा पेस भए पनि हेर्न नभ्याएपछि पुनः शुक्रबार बेल्बासेको इजलासमा पेस भएसँगै राहदानी रद्दको आदेश भएको अदालतका स्रेस्तेदार राजन खनालले बताए । ‘राहदानी रद्द गर्न भएको आदेशसहित राहदानी विभागलाई पत्राचार गर्छाैँ, त्यसपछि विभागले आवश्यक प्रक्रिया पूरा गरी रद्द गर्छ,’ अदालतका स्रेस्तेदार राजन खनालले भने ।
यसअघि माघ ०८० मा पोखराको सूर्यदर्शन सहकारीमा ठगीका मुख्य तीन आरोपी सहकारीका पूर्वअध्यक्ष जिबीसँगै सहकारीका पूर्वअध्यक्षसमेत रहेका जिबीका दाइ भूपेन्द्र राई र सहकारीका वर्तमान अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगरविरुद्ध प्रहरीले १२ माघमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । १८ असोज ०८० मा जिबीसँगै १९ जनाविरुद्ध सहकारीको एक अर्ब ११ करोड १९ लाख बिगो दाबी गर्दै कास्की जिल्लामा अभियोगपत्र दर्ता भएको थियो । फेरि गत ५ पुसमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत पूरक अभियोग दर्ता भएको छ ।