मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
अन्नपूर्ण बेसक्याम्प दुईमा आराम गर्दै पर्वतारोही । तस्बिर सौजन्य सेभेन समिट टे«क्स
नवीन अर्याल काठमाडाैं
२o८१ माघ ५ शनिबार १o:o४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

३५ लाखलाई धान्ने पूर्वाधार, तर साढे ११ लाख मात्रै आउँछन् पर्यटक

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार १o:o४:oo

वार्षिक एक करोड ३० लाख यात्रुलाई सेवा दिने गरी विमानस्थल विस्तार भएको छ, करिब डेढ लाख पर्यटकलक्षित होटेल–रेस्टुरेन्ट र देशभर प्राकृतिक तथा धार्मिक गन्तव्य भए पनि बर्सेनि पर्यटक आगमनको लक्ष्य भेट्टाउन मुस्किल

भारत र चीनबाट २५ करोड नागरिक विदेश घुम्न निस्कन्छन्, सबैभन्दा नजिकको रमणीय नेपालमा पाँच लाख पनि आउँदैनन्

प्राकृतिक सुन्दरताको दृश्यावलोकन र भ्रमण गर्न विश्वभरका पर्यटक रुचि राख्छन् । यसका लागि नेपाल उत्कृष्ट गन्तव्य पनि हो । तर, वार्षिक क्षमताको एकतिहाइ मात्रै पर्यटक नेपाल घुम्न आइरहेको लज्जास्पद तथ्यांक छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले हालसालै जारी गरेको ‘राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट रिपोर्ट’अनुसार ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने होटेल सेवा सञ्चालन छन् । मुलुकमा सञ्चालित अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक एक करोड ३० लाख यात्रुलाई सेवा दिन सक्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यी पूर्वाधारका बाबजुद लक्षित दरमा समेत पर्यटक आकर्षित हुन सकेका छैनन् ।

सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा सन् २०२४ मा ११ लाख ४७ हजार पाँच सय मात्रै भित्रिएका छन् । 

सन् २०२४ मा पर्यटक आगमन १३ प्रतिशतले बढे पनि अपेक्षित वृद्धि भने होइन । सो वर्ष १२ लाखभन्दा बढी पर्यटक भित्रिने अनुमान थियो । सन् २०२५ मा २० प्रतिशतले पर्यटक वृद्धि गर्ने लक्ष्य रहेको पर्यटन बोर्डका सिइओ दीपकराज जोशी बताउँछन् । त्यो हिसाबले पनि १३ लाख ७७ हजार पर्यटक भित्रिनेछन् । सरकारले चालू आर्थिक वर्षको बजेटमै १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । 

प्रत्येक महिना ठूला–साना पर्यटकीय होटेल उद्घाटन भइरहेका छन् । यी पूर्वाधारलाई दिगो रूपमा सञ्चालन गर्न ठूलो संख्यामा नियमित रूपले पर्यटक भित्र्याउनुको विकल्प नरहेको जोशीको भनाइ छ । सरकारले दशकभित्र वार्षिक ५० लाखका दरले पर्यटक भित्र्याउने लक्ष्य लिए पनि अहिलेको तयारी निकै फितलो छ ।

पर्यटकलक्षित होटेल तथा रिसोर्टहरू ३५ प्रतिशत क्षमतामा मात्रै चलिरहेको होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए । काठमाडौं, भैरहवा र पोखरा विमानस्थलबाट पर्यटक ओसार्न सके होटेल तथा रिसोर्टमा ६०–६५ प्रतिशत अकुपेन्सी पुर्‍याउन सकिने उनको भनाइ छ ।

यी हुन् पर्यटकलक्षित पूर्वाधारहरू

एक करोड ३० लाखलाई सेवा दिने विमानस्थलको क्षमता
पर्यटकलाई लक्षित गरी काठमाडौं, भैरहवा र पोखरामा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । यद्यपि, धेरै भार त्रिभुवन विमानस्थलमा छ । ‘काठमाडौंमा वार्षिक करिब ९० लाख, भैरहवामा ३० लाख र पोखरामा १० लाख गरी हाम्रो अन्तर्राष्ट्रिय हवाई पूर्वाधार एक करोड ३० लाख यात्रु क्षमताको भएको छ,’ नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘तीनवटा अन्तर्राष्ट्रिय एयरपोर्ट पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा ३५ लाख पर्यटक धान्न सकिन्छ । अहिले भइरहेको त्रिभुवन विमानस्थल विस्तारको काम सकिएपछि एक करोड यात्रुलाई सहजै सेवा दिन सक्ने क्षमता विकास हुने प्राधिकरणले जनाएको छ ।

१६ देशसँग सीधा हवाई उडान
नागरिक उड्डयन प्राधिकरणका अनुसार १६ देशका २९ वटा सहरमा नियमित हवाई उडान भइरहेको छ । यसका लागि २८ अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गरिरहेका छन् ।  भारत, चीन, हङकङ, जापान, साउथ कोरिया, मलेसिया, सिंगापुर, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, दुबई, कतार, ओमान, कुवेत, टर्कीलगायतका देशसँग सोझै हवाई सम्पर्क छ । युरोप र अमेरिकी देशमा भने सीधा हवाई उडान हुन सकेको छैन । बेलायत, अस्ट्रेलिया र जर्मनीमा सीधा उडान हुन सके धेरै पर्यटक भित्र्याउन मद्दत पुग्ने व्यवसायीको भनाइ छ ।

देशैभर छन् पर्यटकीय गन्तव्य
पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले प्राकृतिक सुन्दरता र धार्मिक पर्यटन खोज्नेका लागि नेपालभरि उत्कष्ट गन्तव्यहरू रहेको बताउँछन् । ‘सिंगो नेपाल नै पर्यटकीय गन्तव्य हो, त्यसका लागि पूर्वाधार बनाउन जरुरी छ, सरकारका तर्फबाट जति धेरै पूर्वाधारमा लगानी बढ्छ, पर्यटकीय गतिविधि पनि बढ्छ,’ जोशीले भने । काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, नेपालगन्ज, कैलाली, बर्दिया, रारा, फोक्सुन्डो, खप्तड, अन्नपूर्ण राउन्ड सर्किट, कुस्मा, मनाङ, मुस्ताङ, तिलिचो, गोसाइँकुण्ड, खुम्बु क्षेत्र, दोलखा, इलाम, पाथीभरालगायत दर्जनौँ ठाउँहरू पर्यटकका लागि आकर्षक गन्तव्य हुन् । 

डेढ लाख होटेल, रेस्टुरेन्ट
राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार पर्यटकलक्षित देशभर एक लाख ४२ हजारभन्दा बढी होटेल तथा रेस्टुरेन्टहरू सञ्चालनमा छन् । जसमा एक लाख १६ हजारभन्दा बढी कोठा छन् । यी होटेल तथा रिसोर्ट सञ्चालनका लागि अफ सिजनमा पनि पर्यटक भित्र्याउन नयाँ ढंगले लाग्नुपर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी बताउँछन् ।