मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
२o८१ माघ ५ शनिबार १o:५४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

माथिल्लो तामाकोसीबाट शनिबार र आइतबार विद्युत् उत्पादन बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार १o:५४:oo

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट शनिबार र आइतबार उत्पादन बन्द गरिएकाे छ । आयोजनाले उत्पादन बन्द गरेर संरचनाकाे सफाइ गर्न लागेको छ । सोमबार देखि उत्पादन सुचारु हुने छ ।

बाढीले क्षतिग्रस्त संरचनाको बालुवा थिग्राउने पोखरी र भूमिगत कल्भर्टको सरसफाइ र आंशिक मर्मत गरेर ८८ दिनपछि सञ्चालनमा आएको थियो । अहिले नदी प्रवाहमा आधारित भएर सञ्चालन हुँदै आएको छ । 

अर्धजलाशययुक्त आयोजना भएकाले अब विद्युतको उच्च माग हुने बिहान र साँझमा मात्रै आयोजना सञ्चालन गर्ने तयारी छ । यो जलविद्युत केन्द्रको जलाशयमा पानी जम्मा गरेर दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ ।

दोलखाको विगू गाउँपालिका–१ मा रहेको जलविद्युत केन्द्रको क्षमता ४५६ मेगावाट रहेको छ । अपर तामाकोसी हाइड्रोपावर कम्पनीका सुचना अधिकारी मित्रमणी पोखरेलले अब विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन गर्ने पूर्व तयारीमा लागेको जानकारी दिए ।

विद्युत उत्पादन सुचारु गर्दै गर्दा दुईवटा पोखरीको बीचको क्षतिग्रस्त कंक्रिट वालको काम पनि जारी भएकाले त्यसमा स्क्याफोल्डिङ गरिएको छ । परामर्शदाताले वालमा कंक्रिट गरेपछि कम्तीमा २१ दिन स्क्याफोल्डिङ नखोल्न सुझाव दिएको छ ।

अब काम गर्दा रहेका स्क्याफोल्डिङ, फर्मा निकाल्ने लगायतका फलामका टुक्रा सफा गर्नका लागि दुई दिन लाग्ने भएकाले त्यो बीचमा उत्पादन बन्द गरिएकाे उनले बताए । सबै स्क्याफोल्डिङ खोलेपछि केही ठाउँमा ग्राउडिङ समेत गर्नुपर्छ उनले भने । पोखरी सफाइका लागि नदी फर्काएर सफा गरिन्छ । सबै पूर्व तयारीको काम गर्नका लागि कम्तीमा दुई दिन लाग्ने सुचना अधिकारी पोखरेलले  जानकारी दिए ।

असोजमा आएको पहिरोले हेडवक्स क्षेत्रको सुरक्षा नियन्त्रण गृहसमेत पूर्ण रूपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका दुईजना र माथिल्लो तामाकोसीकै दुईजना कर्मचारीसहित चार जनाको ज्यानसमेत गएको थियो ।

माथिल्लो तामाकोसीको दुईवटा पोखरीमध्ये दायाँतर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँतर्फको २० प्रतिशत क्षति भएको थियो । हेडवर्क्स क्षेत्रमा बाढी र पहिरोले क्षति भएको एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरेको छ ।