चितवन महोत्सव (२०८१ ले आयोजना गरेको गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम भएका छन् । महेश संस्कृत गुरुकुल देवघाटधाममा अध्ययनरत काफ्लेको मूल घर जुम्ला हो । प्रतियोगितामा पोखरा, कास्कीका संयोग बस्याल द्वितीय भएका छन् भने भरतपुर, चितवनकी सरस्वती पौडेलले तृतीय स्थान हासिल गरेकी छिन् ।
२०५३ सालदेखि २ वर्षको अन्तरमा हुँदै आएको महोत्सवमा पहिलोपटक गजल प्रतियोगिता गरिएको हो । प्रतियोगितामा कूल ३८ जना गजलकारका गजलहरू प्राप्त भएको कार्यक्रम संयोजक लेखराम सापकोटाले जानकारी दिए । प्राप्त भएका गजलबाट १० उत्कृष्ट गजल छनोट गरी वाचनमा सहभागी बनाइएको थियो । प्रतियोगितामा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजारसहित प्रमाणपत्र दिइयाे ।
उत्कृष्ट सूचीमा परेका मकवानपुरकी गौरी कँडेल, पाल्पाकी पूजा जिज्ञासु, नुवाकोटका प्रदीप कोइराला, चितवनका रामलाल कुमाल एवम् नवलपरासीका भानुभक्त सापकोटा र सरोज उजाडलाई २र२ हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । पुरस्कृत स्रस्टालाई कार्यक्रमका सभापति विष्णु लम्साल र प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको निर्णायकहरूमा गोविन्दराज विनोदी, केशवराज आमोदी र सरला जोशी रहेका थिए भने रमेश प्रभातले प्रतियोगिताको नतिजा सार्वजनिक गरेका थिए । कार्यक्रममा एसआर दुवाडी, गजेन्द्र अवस्थी, सुरेन्द्र अस्तफल, राजु क्षेत्री, मसान उपासक, किसान प्रेमी र सरला जोशीले अप्रतियोगी गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा चितवन महोत्सव स्मारिकाका प्रधान सम्पादक हेरम्बकुमार श्रेष्ठ असीमले स्वागत मन्तव्य राखेका थिए । पुस २५ गतेदेखि नारायणी नदी किनारमा सञ्चालन भैरहेको चितवन महोत्सव माघ १० गतेसम्म चल्नेछ ।