मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
२o८१ माघ ५ शनिबार o९:३९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात

लक्ष्यको झन्डै एक अर्ब कम हुने गरी सात अर्ब ५१ करोड राजस्व संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार o९:३९:oo

चालू आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट २३ अर्ब १२ करोड ६५ लाख ४८ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा १३ अर्ब ८४ करोड चार लाख ३९ हजारा रुपैयाँको निर्यात भएको कार्यालयले जनाएको छ ।

मेचीका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले आयात–निर्यात व्यापारबाट ६ महिनामा सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व संकलन गरिएको जानकारी दिए । संकलित राजस्व लक्ष्यभन्दा करिब एक अर्ब कम हो । मेची भन्सारलाई चालू आवको ६ महिनामा आठ अर्ब २३ करोड ५३ लाख ४५ हजार राजस्व संकलनको लक्ष्य दिइएको थियो  ।

गत आर्थिक वर्ष ०८०/८१ को यही अवधिमा भने २१ अर्ब १७ करोड २३ लाख ३४ हजारको आयात र १२ अर्ब ६० करोड ६ लाख २९ हजारको निर्यात भएको थियो भने ६ अर्ब ७७ करोड ३० लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको मेची भन्सारले जनाएको छ ।  

मेची भन्सारबाट भारत, बंगलादेश, भुटान, अमेरिका, रसिया, जर्मनी, क्यानडा, चीन, पाकिस्तान, नेदरल्यान्डलगायतका देशसँग धेरै वैदेशिक व्यापार हुने गरेको छ ।

बंगलादेश र भुटानसँग पनि व्यापार घाटा
बंगलादेशसँग पूर्वीनाकाबाट मात्रै व्यापार हुने गरेको छ । तर, बंगलादेशसँग नेपालको व्यापारमा ठूलो असन्तुलन छ । ६ महिनामा बंगलादेशसँग नेपालको व्यापार घाटा झन्डै दुई अर्ब छ । बंगलादेशबाट दुई अर्ब ११ करोड ५२ लाख ५१ हजारको सामग्री आयात हुँदा २९ करोड ९१ लाख २१ हजारको मात्र निर्यात भएको छ ।

त्यस्तै, भुटानसँगको व्यापार पनि घाटा छ । एक करोड ३७ लाख ३८ हजारको निर्यात हुँदा ६७ करोड २५ लाखबराबरको वस्तु तथा सेवा भुटानबाट आयात भएको छ । 

पेट्रोलियम पदार्थ सबैभन्दा बढी आयात
पूर्वीनाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ । चुँडालका अनुसार नौ अर्ब २५ करोड ४२ लाख ८९ हजार रुपैयाँको पेट्रोलियम आयात भएको छ । त्यसपछि जुट, तरकारी, मेसिनरी तथा पार्टपुर्जा, दलहन, खनिज पदार्थ, यातायातका साधन र पार्टपुर्जा, प्लास्टिकको कच्चा पदार्थ, फलाम, विद्युतीय उपकरण धेरै आयात हुने गरेको मेची भन्सारले जनाएको छ ।

सबैभन्दा धेरै साढे चार अर्बको अलैँची निर्यात
पूर्वीपहाडी जिल्लाका किसानले उत्पादन गर्दै आएको ‘कालो सुन’ अर्थात् अलैँची मेची भन्सारबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पर्छ । ६ महिनामा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँबराबरको २६ लाख ६८ हजार केजी अलैँची निकासी भएको मेची भन्सारले जनाएको छ । त्यस्तै, दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँको चिया निर्यात भएको छ ।

प्लाइउड, फलामे पत्ता, अम्रिसो, कुकुर तथा बिरालोको खाना, सिमेन्ट तथा क्लिंकर, अदुवा, सुठो, भेनियर सिट, काउली, बन्दागोपी, ब्रोकाउलीलगायत पनि धेरै निर्यात हुने वस्तुमा पर्छन् ।

राजेन्द्रप्रसाद चुँडाल, प्रमुख भन्सार अधिकृत, मेची भन्सार कार्यालय 
मेची भन्सारबाट चालू आवको ६ महिनामा  सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व संकलन भएको छ । २३ अर्ब १२ करोडको आयात र १३ अर्ब ८४ करोडको निर्यात भएको छ । भुटान र बंगलादेशसँगको व्यापारसमेत असन्तुलनमा छ ।