मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
२o८१ माघ ५ शनिबार o६:o५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आफैँ बिरामी छन् दुर्गमका बर्थिङ सेन्टर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार o६:o५:oo

हरेक गर्भवतीलाई सुरक्षित र गुणस्तरीय प्रसूति सेवा दिने भन्दै सरकारले दुर्गममा स्थापना गरेका प्रसूति केन्द्र (बर्थिङ सेन्टर)ले जनशक्ति र उपकरणको अभाव झेलिरहेका छन् । जसकारण बर्थिङ सेन्टरमा प्रसूति गराउन आउनेको संख्या पनि निकै न्यून छ । 

बैतडीको सिगास गाउँपालिकामा रहेका २१ मध्ये ११ वटा बर्थिङ सेन्टरमा वर्षमा मुस्किलले दुईदेखि ६ जना प्रसूतिका लागि आउने गरेका छन् । जीर्ण भवन, जनशक्ति र उपकरणको अभाव तथा अपायक ठाउँमा स्थापना भएकाले यहाँका बर्थिङ सेन्टर नाम मात्रका बन्न पुगेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०६५ (तेस्रो संशोधन ०७३) अनुसार बर्थिङ सेन्टरमा अक्सिजनसहित १०४ प्रकारका उपकरण सामग्री, २१ प्रकारका औषधि, दुई अनमीसहितको जनशक्ति हुनुपर्छ ।

धाना धामी, उपाध्यक्ष, सिगास गाउँपालिका
बर्थिङ सेन्टर पायक पर्ने ठाउँमा छैनन्, तिनमा पनि सुविधा छैन । सिगासको भूगोल पनि त्यस्तै छ । स्थानीय सरकारले ध्यान दिएर पायक पर्ने ठाउँमा बनाउनुपर्ने हो, तर हामी महिलाको कुरा पालिका नेतृत्वले सुन्दै सुन्दैन ।

तर,  सिगास–१ को दुदिलाखानको बर्थिङ सेन्टरको भित्ता चर्किएको छ झ्याल भत्किएको छ ।  एक कोठे भवनको बीचमा पर्दा राखेर एकातिर दुईवटा बेड छन् भने अर्कातिर भित्तामा फलामको र्‍याक छ । यही सेन्टरमा प्रसूति गराइन्छ । सात वर्ष अघि स्थापना भएको बर्थिङ सेन्टरमा अनमी निर्मला सार्कीसहित एक सहयोगी कर्मचारी मात्र छन् । यहाँ गर्भवती आएमा एक घण्टा टाढा पैदल दुरीमा रहेकोे जुकेपानी बर्थिङ सेन्टर सामग्री ल्याएर प्रसूति गराइन्छ 

अनमी  सार्कीका अनुसार यो वर्ष दुई र अघिल्लो वर्ष एक जना मात्र यो बर्थिङ सेन्टरमा प्रसूति गराएका छन् । ‘औषधि  र उपकरण अभाव छ, त्यही भएर पनि सेवाग्राही आउँदैनन् । त्यसैमा भवन चर्किएर भत्किनै लागेको छ, भित्र बसिरहन डर लाग्छ,’ अनमी सार्कीले भनिन् । 

केही दिन अघि बर्थिङ सेन्टरको अनुगमनमा पुगेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरिक्षक हरिशप्रशाद भट्टले दुदिलाखानम बस्न लायक भवन नै नरहेको र सुरक्षित सेवा दिन सक्ने अवस्था नरहेको बताए । ‘न्युनतम उपकरण त छन् तर नवजात शिशुका लागि न्यानो लुगा थिएन, हिटर थिएन,’ उनले भने, ‘संक्रमण नहुने सुरक्षित भवन हुनपर्छ, त्यहाँ थिएन । इन्फेक्सन हुने खतरा थियो ।’ 

बर्थिङ सेन्टर नजिकै पसल चलाइरहेका स्थानीय दिनेश महराका अनुसार सुरुसुरुमा बर्थिङ सेन्टरमा सेवाग्राही आउथे । तर, औषधि उपचार पनि नपाउने भएपछि आउन छाडेका हुन् । यो बर्थिङ सेन्टरले बजकोट, गद्दीबसे, रेलादानी, दवानीखोला, खल्तड, दुदिलाखान लगायत गाउँका नागरिकलाई सेवा दिने गरेको छ ।  

त्यस्तै, सिगास–१ कै जुकेपानीमा रहेको रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र जंगलको बीचमा छ । यहाँ पक्की भवनको दुई कोठामध्ये एउटा स्वास्थ्य चौकी र अर्को कोठामा बर्थिङ सेन्टर छ । गाउँभन्दा टाढा र जंगलको बीचमा भएकाले सेवाग्राही कम छन् ।  ‘चारैतिर जंगल छ, चितुवा कराइरहन्छ, डर लागिरहन्छ’ स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सविना कार्कीले भनिन् ‘स्वास्थ्य संस्थाभन्दा निकै टाढा मात्र बस्ती छन, एक्लै हिड्न र राती सेवा दिन गाह्रो छ ।’

यो स्वास्थ्य केन्द्रभन्दा करीव तीन किलोमिटर उत्तर–पुर्वतिर भौनी टोलमा गाउँघर क्लिनिक छ । हप्तामा एक दिन स्वास्थ्यकर्मी गएर सेवा दिन स्थापना भएको एक कोठाको पक्की भवन पनि प्रयोगविहीन छ ।  बेसरा, अंगडेगाडा, सैनागाउँ र भौनी टोललाइ सेवा दिने गरेर स्थापना भएको यो क्लिनिकमा बाख्राको खोर बनाइएको फेला परेपछि केही समय अघि जिल्ला अस्पतालका डा. शुसिल बिक अचम्ममा परेका थिए ।  

२१ बर्थिङ सेन्टरमध्ये स्वास्थ्य चौकीसँगै रहेका १० वटा बाहेकको अवस्था सन्तोसजनक नरहेको पालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले बताए । ‘स्वास्थ्यचौकीमा रहेका बर्थिङ सेन्टरको अवस्था ठिकै छ, बाँकी सबैको अवस्था विजोग छ,’ स्वास्थ्य संयोजक बोहराले भने, ‘यी बर्थिङ सेन्टरमा वार्षिक दुई देखि सातजना सम्म मात्र सेवाग्राही आउँछन् ।’ 

बर्थिङ सेन्टरमा पुर्‍याइए पनि सुत्केरी गराउने उपकरण नहुँदा दार्चुलामा गयो आमा र बच्चाको ज्यान

दार्चुला/ अपिहिमाल गाउँपालिका– १ की २५ वर्षीया द्रोपती जागरीको मृत्यु भएको छ । सुत्केरी बेथा लागेपछि गाउँबाट एक घण्टा बोकेर आधारभूत स्वास्थ्य केन्द्र सितीमा पुर्‍याइएकी जागरीको गत मंगलबार मृत्यु भएको स्थानीय कमानसिंह धामीले बताए । ‘बर्थिङ सेन्टर रहेको स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा आमा र बच्चाको अवस्था राम्रै भएको जानकारी थियो,’ उनले भने ।

सुत्केरी बेथाले निकै च्यापेपछि उनलाई स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । केन्द्रमा प्रसूतिका निम्ति पर्याप्त उपकरणसमेत छैनन् । उनलाई अनमी पार्वती जागरीले चेकजाँच गरेकी थिइन्् । पार्वतीले दुई–तीन घण्टापछि बच्चा जन्माउने अवस्था रहेको द्रोपतीका परिवारलाई जानकारी गराएकी थिइन् । तर, उनको सुत्केरी बेथाले नै ज्यान लियो । दार्चुलाको अपिहिमालमा सडक सञ्जाल र विद्युत् पुगेको छैन । गाउँबाट गाडीसम्म पुर्‍याउनै चार घण्टाभन्दा बढी समय लाग्छ । दुर्गममा राम्रो उपचारको व्यवस्था नहुँदा अकालमै ज्यान गुमाउन बाध्य छन् ।