मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
२o८१ माघ ५ शनिबार o९:१२:oo
Read Time : > 5 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मलेसियामा आजदेखि आइसिसी यू–१९ महिला विश्वकप, यस्ता छन् १६ प्रतिस्पर्धी टिम 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार o९:१२:oo

मलेसियामा शनिबारदेखि दोस्रो संस्करणको आइसिसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । पहिलोपटक सहभागी नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै विश्वकपमा डेब्यु गर्नेछ । गत कात्तिकमा घरेलु टोलीलाई स्तब्ध पार्दै नेपाल एसिया छनोटको शीर्ष स्थानमा रहँदै पहिलोपटक विश्वकपमा पुगेको हो । 

नेपालले विश्वकपको समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूहबाट कम्तीमा पनि सुपर–६ मा पुग्ने लक्ष्य नेपालको छ । सुपर सिक्समा स्थान पक्का गर्न नेपालले कम्तीमा एक खेल जित्नुपर्नेछ । ‘हाम्रो लक्ष्य नै सुपर सिक्समा स्थान बनाउनु हो, यसका लागि एक जित आवश्यक छ,’ अन्तर्राष्ट्रिय मिडियासँग नेपालकी कप्तान पूजा महतोले भनिन्, ‘नेपालको तयारी राम्रो छ ।’ 

सन् २०२३ देखि सुरु भएको यू–१९ विश्वकपमा नेपाल एसियन छनोटमा तेस्रो भएको थियो । यसपटक विश्वकपमा १६ टोलीले भाग लिँदै छन् । १६ टोलीलाई समान चार टोली समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समान तीन–तीन टोली सुपर–६ मा पुग्नेछन् । सुपर–६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।

समूह 'ए'

भारत : आइसिसी यू–१९ विश्वकपको साबिक विजेता हो । भारतको लक्ष्य उपाधि रक्षा गर्नु हो । सहभागी राष्ट्रमध्ये भारत सबैभन्दा बलियो टोलीका रूपमा देखिन्छ । सन् २०२२ मा महिला यू–१९ टोलीले न्युजिल्यान्डविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । डेब्यु गरेको एक वर्षमै भारतले यू–१९ विश्वकप ट्रफी उचाल्यो । भारतीय टोली सन् २०२४ मा एसिया कप जितेको थियो । वर्तमान भारतीय टोलीमा अघिल्लोपटक विश्वकप खेलेका खेलाडीको बाहुल्य छ । भारतको यू–१९ टोलीले अहिलेसम्म १८ मध्ये १५ अन्तर्राष्ट्रिय खेल जितेको छ ।

मलेसिया : आयोजक राष्ट्रका रूपमा मलेसिया सीधै विश्वकपमा छनोट भएको राष्ट्र हो । सन् २०२२ मा मलेसियाले पहिलोपटक यू–१९ विश्वकप छनोटमा अन्तर्राष्ट्रिय डेब्यु गरेको हो । मलेसियाले विश्वकपमा स्थान बनाउन सकेन । मलेसियाले अहिलेसम्म आठमध्ये दुई अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । पाँच खेलमा हार सामना गरेको मलेसियाले एक खेलमा बराबरी खेल्यो । समूह ‘ए’मा मलेसियालाई कमजोर टोलीका रूपमा हेरिएको छ । 

श्रीलंका : श्रीलंका गत संस्करणको विश्वकपमा सुपर सिक्ससम्म पुगेको थियो । टेस्ट राष्ट्र भएकाले श्रीलंकाले सीधै विश्वकपमा स्थान बनाएको हो । सन् २०२२ मा दक्षिण अफ्रिकाविरुद्ध यू–१९ अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको श्रीलंकाले पहिलो संस्करणको विश्वकपको सुपर सिक्समा एक जित मात्र निकालेको थियो । टी–२० एसिया कपमा श्रीलंकाले चारमध्ये एक खेलमा जित निकालेको छ । यस समूहमा भारतपछि सुपर सिक्समा पुग्ने राष्ट्रका रूपमा श्रीलंकालाई लिइएको छ । श्रीलंकाली क्रिकेट बोर्डले पछिल्लो विश्वकपमा सहभागी सबै खेलाडी मलेसिया पठाएको छ । यस टोलीले अहिलेसम्म नौमध्ये दुई अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । 

वेस्ट इन्डिज : गत संस्करणमा वेस्ट इन्डिज पनि सुपर सिक्समा पुगेको राष्ट्र हो । टी–२० फम्र्याटमा वेस्ट इन्डिजका खेलाडी आक्रामक देखिन्छन् । मलेसियाको ब्याटिङ पिचमा वेस्ट इन्डिजले आक्रामक शैलीमै ब्याटिङ गर्ने लक्ष्य राखेको छ । वेस्ट इन्डिजको यू–१९ महिला टोलीले विश्वकपबाहेक अन्य अन्तर्राष्ट्रिय खेलमा मिश्रित नतिजा निकालेको छ । यस टोलीले अहिलेसम्म पाँचमध्ये दुई अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । दुई खेलमा हार सामना गरेको वेस्ट इन्डिजले इन्डोनेसिया र रावडालाई मात्र हराएको छ । 

समूह 'बी'

इंग्ल्यान्ड : यू–१९ विश्वकपको साबिक विजेता इंग्ल्यान्डको लक्ष्य नै दोस्रोपटकको प्रयासमा उपाधि जित्ने हो । गत संस्करणमा इंग्ल्यान्ड केवल फाइनल खेलमा मात्र पराजित भएको थियो । यसबाहेक इंग्ल्यान्डले सातमध्ये ६ खेलमा जित हात पा¥यो । सन् २०२२ मा यू–१९ अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको इंग्ल्यान्डले अहिलेसम्म यू–१९ टी–२० फम्र्याटमा सातमध्ये पाँच खेलमा जित हात पारेको छ । ब्याटिङ र बलिङमा इंग्ल्यान्ड बलियो देखिन्छ । इंग्ल्यान्डकी ग्रेस सर्भिनेसले व्यक्तिगत रूपमा २९३ अन्तर्राष्ट्रिय रन तथा बाकेरले सर्वाधिक १० अन्तर्राष्ट्रिय विकेट लिएकी छिन् । इंग्ल्यान्डले पहिलो चरणमा सहजै सुपर सिक्स स्थान बनाउने अपेक्षा छ ।

आयरल्यान्ड : टेस्ट राष्ट्रको हैसियतले आयरल्यान्डले सीधै विश्वकपमा स्थान सुरक्षित गरेको हो । गत संस्करणको सुपर सिक्स स्थान बनाएको आयरल्यान्डले समूह ‘सी’मा कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ । सन् २०२३ मा यू–१९ अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको आयरल्यान्डले गत संस्करणको विश्वकपको सुपर सिक्समा पाँचमध्ये एक खेलमा जित हात पारेको थियो । आयरल्यान्डले सन् २०२३ मा इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड र वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाएको थियो । मलेसियामा शनिबारदेखि सुरु हुने विश्वकपमा आयरल्यान्डले दुई अलराउन्डर खेलाडीलाई समावेश गरेको छ । ब्याटिङ र स्पिनर पक्षमा समान चार खेलाडी विश्वकपमा समावेश गरेको छ ।

पाकिस्तान : यस समूहमा पाकिस्तान पनि सुपर सिक्स पुग्ने दाबेदार टोलीका रूपमा रहेको छ । पाकिस्तानले गत संस्करणको विश्वकपको सुपर सिक्समा पाँचमध्ये तीन खेलमा जित निकालेको थियो । गत विश्वकपकै खेलाडीको बाहुल्यता रहेको पाकिस्तानको बलियो पक्ष नै बलिङ एट्याक्ट हो । सन् २०२४ सम्म पाकिस्तानले आठमध्ये तीन अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । टेस्ट राष्ट्रमा पाकिस्तानले आयरल्यान्डविरुद्ध मात्र जित निकालेको छ । टोलीमा व्यक्तिगत धेरै रन बनाउने खेलाडी इमान फातिमा हुन् । उनले ५२.२३ स्ट्राइकमा १५७ रन बनाएकी छिन् ।

अमेरिका : एसोसिएट राष्ट्र अमेरिकाले पहिलो संस्करणको यू–१९ विश्वकपमा स्थान बनाएको थियो । यद्यपि, अमेरिकाले विश्वकपमा राम्रो नतिजा निकाल्न सकेन । लगातार दोस्रोपटक विश्वकप खेल्न अवसर पाएको अमेरिकाले आफ्नो समूहमा बलियो राष्ट्रविरुद्ध खेल्नुपर्छ । शिवनारायण चन्द्रपाउलको प्रशिक्षणमा रहेको अमेरिकाले पनि यसपटक अनुभवी खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । सन् २०२२ मा वेस्ट इन्डिजविरुद्ध यू–१९ विश्वकपमा डेब्यु गरेको अमेरिकाले सन् २०२३ मा सबै अन्तर्राष्ट्रिय खेल गुमाएको थियो । अमेरिकाको बलियो पक्ष नै स्पिन हो ।

समूह 'सी'

न्युजिल्यान्ड : सन् २०२२ मा भारतविरुद्ध अन्तर्राष्ट्रिय डेब्यु गरेको न्युजिल्यान्डको पहिलो लक्ष्य नै सुपर सिक्स पुग्ने हो । गत संस्करणको सेमिफाइनल यात्रा गरेको न्युजिल्यान्ड सहज समूह परेको छ । समूह ‘सी’ न्युजिल्यान्डको मुख्य चुनौती दक्षिण अफ्रिका हो । न्युजिल्यान्ड क्रिकेट बोर्डले गत संस्करणकै खेलाडीलाई पहिलो प्राथमिकतामा राखी खेलाडी छनोट गरेको थियो । अहिलेसम्म युवा टोलीले १० अन्तर्राष्ट्रिय खेलमध्ये चारमा जित निकालेको छ । भारतविरुद्धको ६ खेल गुमाएको न्युजिल्यान्डले एसोसिएट राष्ट्रमा इन्डोनेसिया र रवाडालाई हराएको छ । बलियो ब्याटिङ लाइनअप रहेको न्युजिल्यान्डका मुख्य खेलाडी नै जर्जिया पिलिमेर हुन् । अना ब्राउनले सर्वाधिक ६ अन्तर्राष्ट्रिय विकेट लिएकी छिन् ।

दक्षिण अफ्रिका : सन् २०२२ मा भारतविरुद्ध डेब्यु गरेको दक्षिण अफ्रिकाले गत संस्करण घरमै आयोजना भएको विश्वकपमा गतिलो नतिजा निकाल्न सकेन । दक्षिण अफ्रिकाले पनि यसपटक अघिल्लो संस्करणकै खेलाडीलाई समावेश गरेको छ । दक्षिण अफ्रिकाको बलिङ पक्ष बलियो छ । सन् २०२३ को २४ जनवरीसम्म दक्षिण अफ्रिकाले ११ मध्ये चार अन्तर्राष्ट्रिय खेल मात्र जित्यो । दक्षिण अफ्रिकाले भारतविरुद्धको पाँच खेल गुमाएको थियो । दक्षिण अफ्रिकाले एसोसिएट राष्ट्रमा स्कटल्यान्ड र युएईलाई हराएको छ । सहज सुपर सिक्समा पुग्न सक्ने दक्षिण अफ्रिकाले न्युजिल्यान्डविरुद्धको समूह विजेता खेलमा चुनौती सामना गर्नुपर्ने हुन्छ ।

सामोआ : दोस्रो संस्करणको विश्वकपमा डेब्यु राष्ट्रका रूपमा सामोआ रहेको छ । सामोआले इस्ट एसिया प्यासिफिक छनोटमा शीर्ष स्थान रक्षा गर्न मलेसियामा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको थियो । दुई वर्षअघि सामोआ क्रिकेट संघले यू–१९ महिलो क्रिकेट गठन गरेको थियो । दुई वर्षभित्र नै यस राष्ट्रले विश्वकपमा स्थान बनाउन सफल भयो । पहिलो सहभागितामै सामोआले टेस्ट राष्ट्र न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नाइजेरिया : विश्वकपमा डेब्यु गर्ने अर्को राष्ट्र नाइजेरिया हो । दक्षिण अफ्रिकाको छनोटमा शीर्ष स्थानमा रहँदै नाइजेरियाले यू–१९ विश्वकपमा स्थान पक्का गरेको हो । फुटबल कल्चर रहेको नाइजेरियामा बिस्तारै क्रिकेटको विस्तार भइरहेको छ । नाइजेरिया क्रिकेट संघले सन् २०२२ मा यू–१९ महिला टोली घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय खेलमा त्यति अनुभव नभए पनि नाइजेरियाले कम्तीमा एक जित लक्ष्य राखेको छ ।

समूह 'डी'

अस्ट्रेलिया : दोस्रो संस्करणको दाबेदार राष्ट्रका रूपमा हेरिएको छ । सिनियरतर्फ अस्ट्रेलियाले आइसिसीले आयोजना गरेका सबै प्रतियोगिता जितेको छ । अब अस्ट्रेलियाको लक्ष्य आइसिसी महिला यू–१९ विश्वकप हात पार्नु हो । अस्ट्रेलियाले आफ्नो समूहमा नवप्रवेशी नेपालसँगै बंगलादेश र स्कटल्यान्डको सामना गर्नेछ । अस्ट्रेलियाले पछिल्लो संस्करणको सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । अस्ट्रेलियाले सन् २००३ मै महिलातर्फ यू–१९ टोली बनाइसकेको थियो । सन् २०२३ को २७ जनवरीसम्म अस्ट्रेलियाले ६ मध्ये चार अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको थियो । इंग्ल्यान्ड र बंगलादेशसँग अन्तर्राष्ट्रिय खेल गुमाएको अस्ट्रेलियाले एसोसिएट राष्ट्रमा युएई र अमेरिकालाई हराएको छ ।

बंगलादेश : गत संस्करणमा सुपर सिक्स स्थान रक्षा गरेको बंगलादेशले आफ्नो समूहमा अस्ट्रेलिया र नेपालको कडा चुनौती सामना गर्नुपर्ने हुन्छ । सन् २०२३ को विश्वकपमा बंगलादेश आफ्नो समूहमा तेस्रो हुँदै सुपर सिक्समा पुगेको थियो । बंगलादेशले एसिसी यू–१९ एसियामा सहभागी खेलाडीलाई विश्वकपमा पठाएको छ । बंगलादेशले अहिलेसम्म १९ मध्ये १३ अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । बंगलादेशले भारत, श्रीलंका र दक्षिण अफ्रिकाविरुद्धको अन्तर्राष्ट्रिय खेल गुमाएको छ । अहिलेसम्म मलेसिया, अमेरिका, नेपाल र युएईविरुद्धको खेलमा जित निकालेको बंगलादेशको लक्ष्य सुपर सिक्स पुग्नु हो । 

नेपाल : नेपालले पहिलोपटक यू–१९ महिला विश्वकपमा खेल्दै छ । एसियन छनोटमा युएईलाई निराश बनाउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । पुरुषतर्फको नेपाली युवा टोलीले विश्वकपमा ‘जायन्ट राष्ट्र’ उपनाम पाएको छ । अब महिला खेलाडीले पनि यस्तै सफलता चुम्ने अपेक्षा छ । सिनियर टोलीकी पूजा महतोको कप्तानीमा रहेको नेपालले कम्तीमा समूहमा तेस्रो स्थान रक्षा गरी सुपर सिक्सको आशा बनाएको छ । महेशप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपालले अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । विश्वकपमा पनि यस्तै ब्याटिङ र बलिङको स्तरीय प्रदर्शनको आशा छ ।

स्कटल्यान्ड : युरोपिन छनोटमा शीर्ष स्थानमा रहँदै स्कटल्यान्डले विश्वकपमा स्थान सुरक्षित गरेको हो । नेदरल्यान्ड्सविरुद्धको ३–० को जितसँगै स्कटल्यान्ड विश्वकपमा पुग्यो । सन् २०२१ मा स्कटल्यान्ड क्रिकेट संघले यू–१९ महिला टोली घोषणा गरेको थियो । सन् २०२३ मा स्कटल्यान्डले युएईविरुद्ध डेब्यु गरेको थियो । दोस्रोपटक विश्वकप खेल्न अवसर पाएको स्कटल्यान्डले आफ्नो समूहबाट सुपर सिक्सको लक्ष्य राखेको छ । विश्वकपबाहेक अन्य अन्तर्राष्ट्रिय खेलमा स्कटल्यान्डले चारमध्ये एक खेलमा मात्र जित निकालेको छ ।