मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ पौष २७ शनिबार o६:५२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मूलपानी क्रिकेट रंगशालामा ८१ लाखमा बनाइएको खेलाडी आवासीय भवन सञ्चालनमा नआउँदै तहसनहस

सरकारी सम्पत्तिमा यस्तो विध्वंस गरियो कि मर्मतमै ५० लाख लाग्ने प्रारम्भिक अनुमान

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार o६:५२:oo

८१ लाख खर्चेर मूलपानी किक्रेट रंगशालामा खेलाडीका लागि बनाइएको आवासीय भवन सञ्चालनमा नआउँदै तहसनहस पारिएको छ । सरकारी सम्पत्तिको यस्तो विध्वंस गरिएको छ कि मर्मतमै ५० लाख लाग्ने प्रारम्भिक अनुमान छ । कागेश्वरी–मनोहरा नगरपालिकाले गत असारमै निर्माण सम्पन्न गरे पनि भवन नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरिएको थिएन । 

बाहिर टाढाबाट हेर्दा भवनको छानो र भित्तो सग्लो देखिए पनि भित्री भाग क्षतविक्षत पारिएको छ । नौकोठे भवनका सबै कोठा, भान्सा, शौचालयदेखि रेलिङसम्म तोडफोड गरिएको छ । कुनै पनि काम लाग्ने अवस्थामा छैनन् । झ्याल र भित्ता भुइँमा खसेका छन् । छानोतर्फ लगाइएको जिप्सन बोर्ड फुटाइएको छ । हरेक कोठाका भित्ता फुटाएर ह्वांग पारिएको छ । बिजुलीका तार तथा स्विच थुतिएका छन् । शौचालयको कमोट र बेसिन तोडफोड भएको छ भने ट्वाइलेटमा जोडिएको धारा चोरिएका छन् ।

कुनै समूह वा व्यक्ति भवनभित्र पसेर तोडफोड गरेजस्तो देखिन्छ । तर, कसले र कहिले विध्वंस गर्‍यो भन्नेबारे नगरपालिका नै बेखबर छ । ‘भवन त उपभोक्ता समितिमार्फत हामीले नै बनाएका हौँ । तर, अहिलेको अवस्थाबारे थाहा छैन,’ कागेश्वरी–मनोहराका मेयर उपेन्द्र कार्कीले भने, ‘जसले गरेको भए पनि तोडफोड हुनु राम्रो भएन ।’ 

स्थानीयवासी र टोल सुधार समितिका केही व्यक्तिले भवनमा क्षति पुर्‍याएको आरोप छ । तर, सरकारी सम्पत्तिमा गरिएको यस्तो ज्यादतीबारे जनप्रतिनिधि बोल्नै चाहँदैनन् । असोज अन्तिम सातातिर भवनमा तोडफोड गरिएको स्थानीयको अनुमान छ । तर, कसले, किन र कहिले तोडफोड गर्‍यो भनेर नगरपालिकाले छानबिनसमेत गरेको छैन । त्यसैले, नगरपालिका र वडा नम्बर ६ कार्यालय उल्टै तोडफोड गर्नेहरूलाई संरक्षण गर्न लागिपरेको आरोप पनि लागेको छ । 

मूलपानीका अभिषेक थापाले भवन तोडफोड गरिनु सरकारी बजेटको चरम दुरुपयोग भएको बताए । ‘यो भवन यसै क्षेत्रका केही व्यक्तिको मिलेमतोमा क्षतविक्षत पारिएको सुनिन्छ । वास्तविकता के हो– नगरपालिकाले छानबिन गर्नुपर्ने हो,’ उनले भने, ‘भवन बनाएर यसरी तोडफोड गर्नु भनेको बजेटको चरम दुरुपयोग पनि हो ।’ 

हस्तान्तरण गरिनसकेको अवस्थामा भवनको रेखदेख गर्ने दायित्व नगरपालिका, वडा र उपभोक्ता समितिको हो । तर, क्षति गर्ने व्यक्तिको खोजी गर्नुको साटो नगरपालिका आफैँ भवन मर्मतसम्भारको तयारीमा छ । वडा कार्यालयले तोडफोडबाट भएको क्षति मर्मतमा ५० लाखभन्दा बढी लाग्ने अनुमान गरेको छ । 

नगरपालिकाले अर्जुन थपलियाको संयोजकत्वमा उपभोक्ता समिति बनाएर ०७९ देखि भवन निर्माण थालेको थियो । थपलियालाई संयोजक बनाउन वडा नम्बर ६ ले नै सिफारिस गरेको थियो । ०८१ असारमा भवन निर्माण पूरा भयो । तर, ६ महिना बित्दा पनि क्यानलाई हस्तान्तरण भने गरिएको थिएन । भवन निर्माणमा अनियमितताको आरोप पनि छ । ८१ लाख खर्च गरिएको भवनमा कमसल सामग्री प्रयोग गरिएको र गुणस्तरीय नबनाइएको स्थानीयकै आरोप छ ।

वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाँलले हस्तान्तरण तयारीमा रहेको भवन तोडफोड गरिएको बताए । ‘भवन बनेर तयार भएको थियो, तर कसले फुटायो यकिन छैन,’ उनले भने, ‘उपभोक्ता समितिले स्टिमेटअनुसार नै बनाएको थियो, उक्त भवन बनेको जग्गा पनि राष्ट्रिय खेलकुद परिषद्को नै हो ।’ 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राजनीतिक प्रतिशोधका रूपमा एक पक्षले आवासीय भवन बनाउने र अर्को पक्षले तोडफोड गरेको बताए । ‘खेलाडीका लागि आवासीय भवनको खाँचो निकै छ, तर जेनतेन बनेको भवन पनि नपाउँदै तोडफोड भएछ । यो राजनीतिक प्रतिशोधका कारण तोडफोड भएको मैले बुझेको छ,’ उनले भने, ‘त्यहाँ खेलाडीका लागि पूर्वाधार अभाव छ, स्टाफ बस्ने ठाउँ छैन । तर, बनेको भवन पनि तोडफोड हुनु राम्रो भएन ।’ भवन निर्माणको जिम्मा पाएको उपभोक्ता समितिका संयोजक अर्जुन थपलियासँग यस विषयमा बुझ्न खोज्दा फोन सम्पर्कमा समेत आउन चाहेनन् ।

यस्तो छ भवन तोडफोडको कारण
कागेश्वरी–मनोहरा नगरपालिकाका प्रवक्ता हरिभक्त पुडासैनीले रंगशालाआसपास क्षेत्रका मानिसले नै भवन तोडफोड गरेको बताए । उनका अनुसार स्थानीयवासी तथा टोल सुधार समितिले नगरपालिका र क्यानसँग विभिन्न माग राख्दै आएका थिए । उनीहरूले आफ्नो क्षेत्रमा रंगशाला बनेकाले आफूहरूलाई सुविधा दिनुपर्ने, आवासीय भवन निर्माणपछि त्यसको रेखदेख स्थानीयलाई दिनुपर्नेलगायत माग राखेका थिए ।

भवन निर्माण सुरु हुँदादेखि नै स्थानीयवासीले नाजायज माग राखेर अवरोध गर्दै आएको प्रवक्ता पुडासैनीको भनाइ छ । ‘त्यस क्षेत्रका स्थानीय तथा टोल सुधार समितिहरूले भवन निर्माण सुरु भएदेखि नै विभिन्न माग राख्दै आउनुभएको थियो, तर भवन निर्माण भइसकेपछि एकाएक फुटाउनुभएछ । कसले फुटायो व्यक्ति किटान गर्न सकिँदैन,’ उनले भने, ‘जे–जस्तो भए पनि अब नगरपालिकाले मर्मतसम्भार गरेर क्यानलाई हस्तान्तरण गर्छ ।’ विवादको मुख्य कारण फोहोरमैला र डम्पिङसाइट रहेको पुडासैनीको दाबी छ । उनका अनुसार भवन बनेको ठाउँ कुनै समय डम्पिङसाइट रहेको र त्यहाँ भवन बनाउन नहुने स्थानीयवासीको सुरुदेखिकै माग थियो । त्यसवेला काठमाडौं महानगरपालिका, कागेश्वरी–मनोहरा नगरपालिका र स्थानीयवासीबिच उक्त विषयमा छलफल भएपछि भवन बनाउन थालिएको थियो । भवन बनेपछि भने स्थानीयले एकाएक तोडफोड गरेको पुडासैनीको दाबी छ । 

कसरी आएको थियो आवासीय भवन बनाउने बजेट ? 
खेलाडीका लागि आवासीय व्यवस्था नभएपछि केन्द्र सरकारकै बजेटले भवन निर्माण गरिएको थियो । सरकारले गणेशमान सिंह फाउन्डेसनलाई एक करोड २० लाख रकम दिएको थियो । फाउन्डेसनले क्रिकेट क्षेत्रमा लगानी गर्ने भन्दै उक्त रकम काठमाडौं महानगरपालिकालाई ०७९/८० मा हस्तान्तरण गरेको थियो । कानुनअनुसार कुनै पनि फाउन्डेसनको कार्यालय जहाँ छ, उसले सोही पालिकाभित्र मात्रै रकम खर्च गर्न पाउँछ । सोही कारण फाउन्डेसनले काठमाडौं महानगरपालिकालाई रकम दिएको थियो । महानगरपालिकाले आवासीय भवन बनाउन फाउन्डेसनबाट आएको सबै रकम कागेश्वरी–मनोहरा नगरपालिकाको खातामा पठायो । यो बजेट भवन बनाउनकै लागि पठाइएको थियो । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागका तेज बडालले सरकारी बजेटमा बनेको भवन प्रयोगमा नआउँदै तोडफोड हुनु दुर्भाग्य भएको बताए । ‘फाउन्डेसनले खेल क्षेत्रमा केही गर्नका लागि भनेर बजेट छुट्याएको रहेछ, सो बजेट हामीकहाँ आयो, हामीले कागेश्वरीलाई खेलाडी आवासीय भवन बनाउन भनेर दियौँ । तर, बनिसकेको भवन तोडफोड हुनु राम्रो भएन,’ उनले भने ।