एउटा गाउँमा एक साधु बस्थे । उनी दिनरात कडा तपस्या गर्थे । उनमा भगवान्प्रति अटुट विश्वास थियो । एकपटक गाउँमा घनघोर वर्षा भयो । आसपासका नदीमा पानीको सतह बढ्दै गयो । सारा गाउँले गाउँ छाडेर सुरक्षित स्थानतिर जान थाले ।
गाउँलेले साधुलाई पनि आफूहरूसितै सुरक्षित स्थानमा जान अनुरोध गरे । तर, उनले गाउँलेको प्रस्ताव ठाडै अस्वीकार गर्दै भने– तपाईंहरू जानुहोस्, मलाई मेरा भगवान्प्रति पूरापूर भरोसा छ । उहाँ मलाई बचाउन अवश्यै आउनुहुनेछ ।
बिस्तारै गाउँमा पानी भरिँदै गयो । साधुको कुटी पनि पानीले भरियो । हुँदाहुँदा साधुको पनि घुँडाघुँडासम्म पानी पुग्यो । त्यति नै वेला त्यहाँ एउटा गाडी आइपुग्यो । गाडीमा सवार व्यक्तिले साधुलाई गाडी चढेर सुरक्षित स्थानतर्फ जान अनुरोध गरे । तर, फेरि पनि साधुले अस्वीकार गर्दै भने– मलाई तपाईंहरूको सहायताको कुनै आवश्यकता छैन । मलाई बचाउन मेरा भगवान् अवश्यै आउनुहुनेछ । त्यसैले, अरू गाउँलेलाई लिएर तपाईंहरू जानुहोस् । साधु आँखा चिम्लेर भगवान्को स्मरण गरिरहे । गाउँलेको उद्धारका लागि त्यहाँ एक डुंगा आइपुग्यो । उद्धार दलका सदस्यहरूले साधुलाई भने– छिटो गर्नुहोस् साधु महाराज, हामी तपाईंलाई सुरक्षित स्थानमा पुर्याइदिन्छौँ । छिटो डुंगामा आउनुहोस् । अरूलाई पनि सुरक्षित स्थानमा छाड्नु छ । समय बर्बाद नगर्नुहोस् ।
तर, उद्धारकर्ताको अनुरोधपछि पनि साधुले आफ्नो जिद्दी छाडेनन् । उनले डुंगा चढ्न अस्वीकार गरे । डुंगा बाँकी गाउँलेको उद्धार गरेर सुरक्षित स्थानतिर लाग्यो । केही समयमै उर्लंदो बाढीले साधुलाई उनको कुटीसहित बगाएर बेपत्ता पार्यो । साधुको मृत्यु भयो ।
मृत्युपछि जब साधु स्वर्ग पुगे, तब उनले भगवान्सित दुःखी हुँदै प्रश्न गरे– हे भगवान्, मैले कैयौँ वर्षसम्म कडा तपस्या गरेँ । हजुरमाथि असीम विश्वास गरेँ । तर, संकटको समयमा मलाई बचाउन हजुर किन आउनुभएन ? भगवान्ले मुसुक्क मुस्कुराउँदै प्रश्न गरे– मैले तिमीलाई बचाउन एकपटक होइन, तीन–तीनपटक प्रयास गरेँ । तर, तिमीले मेरो अनुरोध मान्दै मानेनौ । तिम्रा सामु गाउँले, गाडी र डुंगालाई कसले पठाएको थियो त ?