मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १४ आइतबार
  • Wednesday, 01 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १४ आइतबार २१:५४:oo
Read Time : < 1 मिनेट
समाचार

मेलम्चीको पानी वितरण अवरुद्ध

चाबहिलको मुख्य ट्रंकलाइनमा चुहावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १४ आइतबार २१:५४:oo

चाबहिलको मुख्य ट्रंकलाइनमा चुहावट हुँदा मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी वितरण अवरुद्ध भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार काठमाडौं महानगरपालिका– ६, चाबहिलस्थित केयुकेएलको १४ सय मिटर थोक वितरण प्रणाली (बिडिएस) लाइनमा देखिएको चुहावट तत्कालै मर्मत गर्नुपर्ने भएकाले मेलम्चीको पानी वितरण अवरुद्ध भएको हो।

केयुकेएलका प्रवक्ता प्रकाश राईका अनुसार १० पुसदेखि मेलम्चीको पानी अवरुद्ध भएको हो । ‘ठुलो पाइप भएकाले मर्मत गर्न समय लागेको हो । त्यो व्यस्त सडकसमेत भएकाले राति मात्र काम गर्नुपर्ने अवस्था छ । तर, छिट्टै पानी वितरण गर्न सक्ने गरी काम भइरहेको छ,’ प्रवक्ता राईले भने। उनका अनुसार चुहावट मर्मत सम्पन्न गर्न अझै तीन–चार दिन लाग्नेछ ।

मर्मतका कारण केयुकेएलअन्तर्गतका महांकाल, बानेश्वर, महाराजगन्ज, त्रिपुरेश्वर, कीर्तिपुर, क्षेत्रपाटी र ललितपुर शाखा कार्यालयका कार्यक्षेत्रमा पानी वितरण हुन सकेको छैन । केयुकेएलले तीन दिन मात्र पानी वितरण अवरुद्ध हुने भनेर सूचना जारी गरे पनि ठुलो पाइप भएकाले समय लागेको बताएको छ ।

चाबहिलमा भएको चुहावट मर्मतले चक्रपथभित्रका सबै धारामा पानी आउन सकेको छैन भने चक्रपथबाहिरका कीर्तिपुर, खुमलटार, नरेफाँटलगायतका क्षेत्रमा समेत पानी वितरण अवरुद्ध भएको छ।