पोखरास्थित सूयर्दशन सहकारी ठगी प्रकरणमा जोडिएका थप दुईजनाको बयान सकिएको छ। आइतबार कास्की जिल्ला अदालतले नेचर हर्ब्स इन्टरनेसनल प्रालि, गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी रामबहादुर खनाल र सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङसँगको बयान सकेको हो।
यसैगरी, आइतबार नै सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङको बयान सुरु गरे पनि नसकिएको र उनको बयानपछि सहकारीकी कोषाध्यक्ष आरती गुरुङको बयान लिने अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। उनीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग दर्ता भएका खनालबाट १४ करोड ३० लाख ९१ हजार ९११ रुपौयाँ बिगो माग गरिएको छ।
बयानका क्रममा इजलासमा खनालसँग १९ वटा प्रश्न सोधिएको थियो। खनाललाई सहकारी ठगी, नेचर हर्ब्सको सेयर, सम्पति शुद्धीकरण, रकम खातामा आएको, संगठित अपराधलगायतका विषयमा प्रश्न सोधिएको थियो । अभियोगपत्रमा लगाइएको अभियोग उनले इन्कार गर्दै संस्थाहरूमा आबद्ध भए पनि आर्थिक कारोबार र ठगीमा सहभागी नभएको र नजोडिएको बताएका थिए । आर्थिक कारोबारमा नजोडिएकाले आफूमाथि लगाइएका आरोप सबै झुठो रहेको भन्दै इन्कारी बयान दिएका थिए ।
सहकारी ठगीको अभियोग लागेकी सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङसँग इजलासमा सामान्य प्रश्नहरू सोधिएको थियो। कहिलेदेखि सहकारीमा आबद्ध भएको? कहिले राजीनामा दिएको? लगायतका प्रश्न सोधिएको थियो। एमालेको केन्द्रीय सदस्य गुरुङ गण्डकी प्रदेश सभाकी पूर्वसदस्य पनि हुन्।
यस्तै, कृष्ण गुरुङको बयान सुरु भए पनि नसकिएको स्रोतको भनाइ छ । सहकारीका पूर्वसञ्चालक गुरुङलाई सहकारी ठगीको अभियोग लगाइएको छ । कृष्ण, मीना गुरुङका बुबा हुन् । कृष्णको बयान मंगलबार सकेर सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान लिने तयारी छ ।
यसअघि सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनको आधारमा ७ पुुसमा थप ४४ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको थियो। उनीहरू ४४ जनामध्ये कास्की प्रहरी हिरासतमा रहेका पाँचजना र अभियोगपत्र दर्तापछि पक्राउ परेका तीन गरी आठजनाको बयान अदालतमा भइरहेको छ।
अदालतले रास्वपा सभापति रवि लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआईजी छवीलाल जोशी र लीला पछाईको बयान लिइसकेको छ।