प्रधानमन्त्री केपी ओलीले समावेशिता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु नै अहिलेको मूल मन्त्र भएको बताएका छन् ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले शुक्रबार आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
पार्टीले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको बताउँदै उनले हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने प्रतिबद्धता पनि जनाए ।