मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ मङ्सिर २७ बिहीबार o८:४९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१० भ्रातृ संस्थाको महाधिवेशन गर्न कांग्रेसले गठन गर्‍यो निर्देशन समिति

व्यवस्था बदलियो, तर बदलिएनन् कांग्रेस भ्रातृ संस्थाका संरचना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार o८:४९:oo

भ्रातृ संस्थाहरूको महाधिवेशन सुनिश्चित गर्न कांग्रेसले आवश्यक निर्देशन समिति टुंगो लगाएको छ । कांग्रेसले गत असोजमा तीन र बुधबार सात गरी १० भ्रातृ संस्थाका निर्देशन समिति गठन गरेको हो । आगामी चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्न भ्रातृ संस्थाहरूलाई निर्देशित गर्ने कांग्रेसको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले निर्देशन समिति गठन गरेको गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

गत १९ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर दश भ्रातृ संस्थाका निर्देशन समिति बनाउने निर्णय गरेको थियो । तर, निर्णयको पाँच महिनापछि मात्रै निर्देशन समितिहरूको टुंगो लागेको हो । निर्देशन समिति नबन्दा अधिकांश भ्रातृसंस्थाले महाधिवेशनको तयारी अगाडि बढाउन सकेका छैनन् । पछिल्लोपटक पटक–पटक गरी १५ असारसम्म म्याद थप गरिएकोमा यस अवधिमा पनि अधिवेशन नहुने भएपछि शीर्ष तहको छलफलले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न फरक–फरक निर्देशन समिति बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । 

महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री, कांग्रेस
पार्टीले आवश्यकता हेरेर नै निर्देशन समिति बनाउने निर्णय लिएको हो । निर्देशन समितिहरूलाई चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्ने कार्यादेश छ । तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुनेछन् । महाधिवेशनसँगै भ्रातृ संस्थाहरूको संरचना संघीयताअनुरूप बन्नेछन् ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले निर्देशन समितिलाई चैत मसान्तसम्म अनिवार्य महाधिवेशन सम्पन्न गराउने कार्यादेश रहेको बताइन् । महाधिवेशनसँगै भ्रातृ संस्थाहरू संघीय संरचनाअनुरूप व्यवस्थित बन्ने उनको दाबी छ । ‘पार्टीले आवश्यकता हेरेर नै निर्देशन समिति बनाउने निर्णय लिएको हो । निर्देशन समितिहरूलाई चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्ने कार्यादेश छ,’ उनले भनिन्, ‘तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुनेछन् । महाधिवेशनसँगै भ्रातृ संस्थाहरूको संरचना संघीयताअनुरूप बन्नेछन् ।’

गत १६ असोजमा सहमहामन्त्री उमाकान्त चौधरीको संयोजकत्वमा महिला संघ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको संयोजकत्वमा तरुण दल र सहमहामन्त्री किशोरसिंह राठौरलाई नेविसंघको निर्देशन समिति संयोजक तोकिएको थियो । बुधबार सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा दलित संघको निर्देशन समिति, किसान महासंघको निर्देशन समिति केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा, केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा भूतपूर्व सैनिक संघको निर्देशन समिति, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा लोकतान्त्रिक खेलकुद संघको निर्देशन समिति, मधु आचार्यको संयोजकत्वमा लोकतान्त्रिक अपांग संघको निर्देशन समिति गठन भएको हो । कांग्रेसले थारू संघको निर्देशन समिति संयोजकमा केन्द्रीय सदस्य उदयशमशेर राणा र प्रजातन्त्र सेनानी संघको निर्देशन समिति संयोजकमा केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले जिम्मेवारी पाएका छन् । देउवाले यसअघि गठन भएको महिला संघ निर्देशन समितिको संयोजकको जिम्मेवारी हेरफेर गरी प्रवक्ता डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिएका छन् । 

केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर निर्देशन समिति बनाउने निर्णय लिएको थियो । ‘महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशन समिति गठन गर्ने,’ कांग्रेसको निर्णयमा भनिएको छ । महाधिवेशन हुन नसकेर नेतृत्व हस्तान्तरण हुन नपाएका र तदर्थ समिति बनाएर पटक–पटक म्याद थप मात्र भएका भ्रातृ संस्था प्रभावहीन छन् । भद्रगोल अवस्थामा रहेका कांग्रेसका १३ मध्ये जनजाति महासंघ र मुस्लिम संघको मात्र महाधिवेशन भएको छ । ठाकुर समाजको विवादका कारण बनेको तदर्थ समिति पनि खारेज गरिएको छ । लामो समयसम्म महाधिवेशन नहुँदा नेतृत्वले अनुकूलको तदर्थ समिति बनाउने र पटक–पटक म्याद थप गर्ने प्रवृत्ति देखिँदै आएको छ । 

व्यवस्था बदलियो, तर बदलिएनन् कांग्रेस भ्रातृ संस्थाका संरचना
दोस्रो जनआन्दोलनपछि मुलुक संघीय संरचनामा गएको छ । ०७८ मा भएको कांग्रेसको १४औँ महाधिवेशनसँगै कांग्रेसले संघीय संंरचनाअनुसार पार्टीका संरचना बनायो, तर भ्रातृ संस्थाका संघीय संरचना अझै बन्न सकेका छैनन् । अधिकांशको अधिवेशन नभएको नौ वर्षभन्दा बढी भइसकेको छ । 

नेविसंघको ०७३ पछि महाधिवेशन हुन सकेको छैन । ९ चैत ०७८ देखि दुजाङ शेर्पाको संयोजकत्वमा तदर्थ समिति बनेको छ । तरुण दलको ०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन । ९ चैत ०७८ मा विद्वान गुरुङ तदर्थ समितिको अध्यक्ष छन् । महिला संघको ०७३ पछि महाधिवेशन भएको छैन । २६ साउन ०७९ देखि उषा राउत मिश्रको संयोजकत्वमा महिला संघको तदर्थ समिति छ । नेपाल किसान महासंंघको ०६४ पछि महाधिवेशन हुन सकेको छैन । १० असार ०७९ मा गणेशचन्द्र तिमल्सिनाको संयोजकत्वमा तदर्थ समिति बनेको थियो ।

नेपाल भूतपूर्व सैनिक संघको २३ जेठ ०७३ पछि महाधिवेशन भएको छैन । १२ मंसिर ०८० मा मेघराज टण्डनलाई तदर्थ समिति संयोजक तोकिएको छ । प्रजातन्त्र सेनानी संघको ०६४ पछि महाधिवेशन महाधिवेशन हुन सकेको छैन । १२ मंसिर ०८० देखि बालकृष्ण दाहाल तदर्थ समिति संयोजक छन् । दलित संघको ०६९ पछि महाधिवेशन हुन सकेको छैन । १३ असोज ०८० मा लोकबहादुर विश्वकर्मा तदर्थ समिति संयोजक बनेका थिए । राष्ट्रिय लोकतान्त्रिक अपांग संघको ०६६ पछि महाधिवेशन हुन सकेको छैन । १२ मंसिर ०८० मा प्रकाश पन्थको संयोजकत्वमा तदर्थ समिति बनेको छ । नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले २ साउन ०७९ मा केन्द्रीय समितिबाट नयाँ मान्यता पाएका थिए । पहिलो महाधिवेशनको हुन सकेको छैन ।