युवा अस्ट्रेलियालीहरू फोन छाडेर फुटबल, क्रिकेट मैदान, टेनिस र नेटबल कोर्ट, स्विमिङ पुलमा रमाएको देख्न चाहेको प्रधानमन्त्रीको भनाइ
अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्सजस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गरेका छन् । १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध गर्नेसम्बन्धी विधेयक बुधबार संसद्को तल्लो सदनबाट पारित भएको हो भने बिहीबार साँझ सिनेटले पारित गरेको हो । दुवै सदनबाट विधेक पारित भएसँगै अब कानुन बन्ने निश्चित छ । अर्को वर्षको सुरुमा हुने निर्वाचनमा पुनः विजयी हुने योजनामा रहेका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नयाँ नियमलाई उत्साहजनक रूपमा समर्थन गर्दै आएका छन् । सामाजिक सञ्जाल कम्पनीहरूले अब चाँडै युवा किशोरलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ । ऐनको पालना नगर्ने कम्पनीले पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
सामाजिक सञ्जाल कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् । विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । योसँगै अब ऐन–कानुनका रूपमा पारित हुने निश्चित भएको छ । मध्य–वाम प्रधानमन्त्री एन्थोनी अल्बानिजले अर्को वर्षको सुरुमा हुने चुनावलाई ध्यानमा राख्दै उत्साहपूर्वक नयाँ नियमहरूको समर्थन गरेका छन् । अस्ट्रेलियाका अभिभावकलाई आफ्ना बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न आह्वान गरेका छन् । संसद्को मतदानअघि उनले सामाजिक सञ्जाललाई ‘सहकर्मी दबाबको मञ्च, चिन्ताको चालक, ठगीको वाहन र सबैभन्दा खराब, अनलाइन सिकारीहरूको उपकरण’का रूपमा चित्रण गरे । उनले युवा अस्ट्रेलियालीहरू फोन छाडेर फुटबल, क्रिकेट मैदान, टेनिस र नेटबल कोर्ट, स्विमिङ पुलमा रमाएको देख्न चाहेको पनि बताए ।
पक्ष–विपक्षमा विभाजित
अस्ट्रेलियाली समाज अहिले कानुनको पक्ष र विपक्षमा विभाजित भएको छ । कतिपयले त्यसलाई समर्थन गर्दै सरकारी कदमको स्वागत गरेका छन् भने आलोचकले सूचनाको हकसँग जोडेका छन् । कानुन पारित भए पनि सबै यसको समर्थनमा देखिँदैनन् । जस्तो, १२ वर्षीय एंग्स लिडोमजस्ता युवा अस्ट्रेलियाली किशोर नयाँ परिवर्तनप्रति असन्तुष्ट देखिन्छन् । ‘म सामाजिक सञ्जाल प्रयोगलाई निरन्तरता दिन चाहन्छु । तर, नयाँ कानुनले त्यसलाई परिवर्तन गर्न खोजेको छ, जुन कार्यान्वयन भएमा अनौठो महसुस हुनेछ,’ उनले भने । धेरैले परिवर्तन छल्ने उपाय खोज्ने प्रयास गर्ने सम्भावना छ ।
‘कानुनका कमजोर पक्ष खोज्ने मैले कुनै उपाय फेला पारुँला । मेरा साथी पनि कानुन छल्ने त्यस्तो खोजी गर्ने पक्षमा छन्,’ लाइडोमले भने । त्यस्तै, ११ वर्षीया एल्सी अर्किन्स्थलले विशेष गरी बेकिङ वा कलाको ट्युटोरियल हेर्न चाहने बालबालिकाका लागि सामाजिक सञ्जालको अझै महत्व रहेको बताइन् । ‘बालबालिका र किशोर–किशोरीले ती प्रविधि अन्वेषण गर्न सक्षम हुनुपर्छ । धेरै कुरा तपाईं पुस्तकहरूबाट मात्र सिक्न सक्नुहुन्न,’ उनले भनिन् ।
सैद्धान्तिक रूपमा अस्ट्रेलियाले पारित गरेको यो कानुन सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा संसारकै सबैभन्दा कडामध्ये एक हो । तर, हाल पारित विधेयकले समाजिक सञ्जालमाथिको प्रतिबन्ध कसरी लागू गरिनेछ भन्नेबारे लगभग कुनै विवरण प्रदान गरेको छैन । त्यसैले यसले विशेषज्ञमाझ यो केवल प्रतीकात्मक र लागू गर्न असम्भव कानुन हो कि भन्ने चिन्ता जगाएको छ । नियामकहरूद्वारा विवरण तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा १२ महिना लाग्नेछ ।
सरकारले केही कम्पनीहरूलाई छुट दिने सम्भावना छ । ह्वाट्सएप र युट्युबजस्ता मनोरञ्जन स्कुलको कार्यमा सहयोगी हुने र अन्य कारणका लागि प्रयोग गर्नुपर्ने एप्सहरूमा भने सरकारले छुट दिने सम्भावना छ । सरकारले जारी गरेको डिजिटल परिचय पहिचानको उमेर प्रमाणीकरणका माध्यमका रूपमा प्रयोग गर्न सकिँदैन भनेर सुनिश्चित गर्न ढिलो संशोधन प्रस्तुत गरिएको थियो । सामाजिक सञ्जाल विशेषज्ञ सुसान ग्रान्थमले बालबालिकालाई उनीहरूले अनलाइन हेरेका कुराबारे ‘आलोचनात्मक’ रूपमा सोच्न सिकाउनुपर्ने पक्षमा छिन् । उनका अनुसार डिजिटल साक्षरता कार्यक्रम अवलम्बनमा फिनल्यान्डबाट सिक्न सकिन्छ ।
अन्य मुलुकहरूले यो विधेयकलाई नजिकबाट निगरानी गरिरहेका हुनेछन् । केहीले समान प्रतिबन्ध लागू गर्ने विचार गर्न सक्छन् । स्पेनदेखि अमेरिकी राज्य फ्लोरिडासम्मका कानुनवेत्ताहरूले युवा किशोरका लागि सामाजिक सञ्जाल प्रतिबन्ध प्रस्ताव गरेका छन् । तर, अहिलेसम्म कोही पनि अस्ट्रेलियाजत्तिको अगाडि गएका छैनन् । चीनले सन् २०२१ देखि किशोर–किशोरीको समाजिक सञ्जालमाथिको पहुँच सीमित गरेको छ । त्यहाँ १४ वर्षमुनिका बालबालिकाले टिकटकको चिनियाँ संस्करण ‘डाउइन’ दैनिक ४० मिनेटभन्दा बढी समय चलाउन सक्दैनन् । चीनमा बालबालिकाको अनलाइन गेमिङ समयसमेत सीमित गरिएको छ ।
– एएफपी