धादिङको नीलकण्ठ नगरपालिका–८, अमेरुवामा सौराज ट्रक र स्कुटर ठोक्किँदा तीनजना घाइते भएका छन्।
जिल्ला सदरमुकाम धादिङबेँसीबाट सल्यानटारतर्फ जाँदै गरेको बा४ख २७५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००१–६८४६ नम्बरको स्कुटर एक-आपसमा ठोक्किँदा एकजना गम्भीरसहित तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएकी नीलकण्ठ नगरपालिका–९ बस्ने करिब २२ वर्षीया गायत्री लम्सालको अवस्था गम्भीर रहेको धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले बताए।
नीलकण्ठ–३ बस्ने ३४ वर्षीय हरि खनालको टाउकोमा चोट र चितवन माडी–९ का कृष्ण प्रजाको टाउकोमा चोट तथा दाहिने खुट्टामा चोट लागेको उनले बताए। धादिङ अस्पतालमा उपचारपछि गायत्री लम्साल र हरि खनाललाई थप उपचारका लागि एकजना डाक्टरसहित काठमाडौं पठाइएको छ।
प्रवक्ता सिलवालले स्कुटर बचाउन खोज्दा ट्रक पल्टिएको हुन सक्ने बताए। ट्रकचालक चन्द्रमान शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।