मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ मङ्सिर ३ सोमबार १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहलाई आयोगको निर्देशन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार १८:१४:oo

निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

निर्वाचन आयुक्त सगुनशम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ। मतदान कार्य सम्पन्न भएपश्चात् सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

उपनिर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न/गराउन, आचारसंहिता पालना भए/नभएको अनुमगन गर्न र निषेधित कार्य भए/गरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ।

यही मंसिर ५ देखि मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री-वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ।

निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न पनि आयोगले आग्रह गरेको छ।

स्थानीय तहमा विभिन्न कारणले रिक्त जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३४ वडाध्यक्ष गरी ४४ पदमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदै छ।