मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
२o८१ मङ्सिर ३ सोमबार २o:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

असइ थमन विक हत्याका आरोपी देवेन्द्र चौधरी १८ वर्षपछि पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार २o:१४:oo

मधेश आन्दोलन (०६३) को वेला हत्या गरिएका सशस्त्र प्रहरीका असइ थमन विकको हत्यामा संलग्न रहेको आरोप लागेपछि फरार रहेका देवेन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ। अदालतमा उपस्थित नभई फरारको सूचीमा रहेका रामानन्द विश्वेश्वर महेन्द्र (राविम) क्याम्पसका अध्यक्ष चौधरीलाई सोमबार क्याम्पसपरिसरबाटै प्रहरीले पक्राउ गरेको हो।

राविम क्याम्पस जलेश्वरका प्रधानाध्यापक अजयकुमार झाले सोमबार क्याम्पसमा बैठक चलिरहेको वेला सादा पोसाकमा आएका दुईजनाले केही कुरा गर्नु छ भनेर चौधरीलाई लगेको बताए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले पनि उनलाई सशस्त्र असइ थमन विक हत्या आरोपमा पक्राउ गरेको पुष्टि गरे।

मधेश आन्दोलनका वेला घाइते भई उपचारका लागि जनकपुर लैजाने क्रममा असइ विकको फुल्हट्टा भगवानपुर सडक खण्डमा पर्ने सोनुषडा भन्ने स्थानमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। विकको हत्यामा चौधरीको पनि संलग्नता रहेको भन्दै मुद्दा परेको थियो। अध्यक्ष चौधरीको हकमा असइ विक हत्या र आगजनी मुद्दा अदालतमा मुलतबीमा छ।
पक्राउ परेका चौधरीलाई मंगलबार जिल्ला अदालत महोत्तरीमा उपस्थित गराउने प्रवक्ता डिएसपी जयसवारको भनाइ छ। आजै अदालत लैजाने तयारी भए पनि सार्वजनिक बिदाका कारण सम्भव नभएको उनले बताए। 

सोही मुद्दामा जिल्ला अदालत महोत्तरीले गत २८ मंसिरमा फैसला सुनाउँदै प्रदीप साह माझी र संजयकुमार साहसहित लोसपा नेता मोहन ठाकुर, लोसपाका केन्द्रीय सदस्य तथा जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख शंकर शाही भन्ने रामशंकर मिश्र, पूर्वराज्यमन्त्री तथा लोसपाका संसदीय दलका नेता अभिराम शर्मा, लोसपाका केन्द्रीय सदस्य सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई ज्यानसम्बन्धी महलको १ र १३ (३) नम्बरबमोजिम कसुर गरेकाले जन्मकैदको फैसला सुनाएको थियो। सोही मुद्दामा संसदबाट निलम्बित रहेका लक्ष्मी महतो कोइरी र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरलाई अदालतले सफाइ दिएको थियो।

अदालतले जन्मकैद सजाय तोकिएका सातजनालाई एम्बुलेन्समा आगलागी गरेको अभियोगमा जनही थप ६ महिना कैद र दश लाख क्षतिपूर्तिको फैसला गरेको थियो। 

पक्राउ परेका चौधरीसहित रमेशप्रसाद साह, सतेन्द्र चौधरी भन्ने सबिन्द्र चौधरी, चन्देश्वर साह मेहत्तरी, राजु चौधरी भन्ने राजा चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र राम चमार, रंजित साह, बिकी साह, फुले यादव, रोहितकुमार शर्मा, ललवा भन्ने लालबाबु बिन, शम्भु साह, अनिल ठाकुर र देवेन्द्र यादवको हकमा मुद्दा मुलतबीमा राखेको थियो। प्रहरीले मुद्दा मुलतबी राखेकामध्ये पूर्वसभासद कौशलकुमार यादवलाई प्रहरीले पहिले नै पक्राउ गरी अदालत बुझाइसकेको र अदालतले पूर्वसांसद यादवलाई पुर्पक्षको लागि जलेश्वर कारागारमा राखेको छ। 

जन्मकैदको सजाय पाएकाहरूले पुनरावेदन गरेकोमा उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेको छ।