मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Thursday, 26 December, 2024
टेकराज थामी काठमाडाैं
२o८१ कार्तिक २७ मंगलबार o७:४९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हत्या गर्न ६० लाखको सुपारी

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार o७:४९:oo

ककनीका जग्गा व्यवसायी विक्रम लामामाथि हत्या गर्ने उद्देश्यसहित भएको रड प्रहारको घटनामा आपराधिक पृष्ठभूमिका व्यक्ति परिचालित, मुख्य योजनाकारको खोजी हुँदै

गत ११ कात्तिकमा नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि भएको सांघातिक हमलामा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू परिचालन भएको खुलेको छ । काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा भूमि रियल स्टेटका सञ्चालक लामामाथि चार युवाले रड प्रहार गरेका थिए । शरीर, हात र खुट्टामा गम्भीर चोट लागेका उनको चार दिनपछि मात्रै होस आएको थियो । 

घटनामा संलग्नमध्ये मार्सल भनिने शैलेन्द्र तामाङलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । अजय लामा, निश्चल सुनार र दीपक बरामु भने फरार थिए । नुवाकोट बेलकोटगढी नगरपालिका–२ का शैलेन्द्रविरुद्ध वर्ष दिनअघि प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । उनी छाया सेन्टरस्थित प्लेब्वाई क्वबको पार्किङमा भएको सांघातिक हमलामा संलग्न थिए । 

अजय ठगी मुद्दामा ४० हजार जरिवानासहित तीन वर्ष ६ महिना जेल भुक्तान गरी चार महिनाअघि मात्रै छुटेका प्रतिवादी हुन् । उनले ९ पुस ०८० मा ठमेलमा बर्दीकै प्रहरीमाथि ‘किक’ प्रहार गरेका थिए । घटनामा ड्युटी गरिरहेका प्रहरी जवान लोकबहादुर बुढाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनीसहित तीनजनाविरुद्ध प्रहरीले त्यसवेला अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

प्रहरीका अनुसार रड प्रहारका लागि ‘लिड’ गर्ने काम भने अजयले गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले रड प्रहारमा संलग्नमध्ये एकजना पक्राउ परेको र अन्य तीनको खोजी भइरहेको बताए । ‘लाजिम्पाटमा एक घरजग्गा व्यवसायीमाथि रड प्रहार भएको घटनामा संलग्नमध्ये एकजना पक्राउ परेका छन् । बाँकी तीनजनाको पनि पहिचान भइसकेकाले खोजी भइरहेको छ । घटनाका अन्य पाटाको सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रहरीका अनुसार घटना योजनाबद्ध ढंगले गरिएको छ । रड प्रहारका लागि योजनाकारले अजय, शैलेन्द्र, निश्चल र दीपकलाई ६० लाख रुपैयाँको सुपारी दिएको प्रहरीको भनाइ छ । घटनामा संलग्नमध्ये शैलेन्द्रले ‘६० लाखको सुपारी प्राप्त भएको’ भन्दै हत्याका निम्ति गाउँमा युवाको खोजी गरेका थिए । यो तथ्यलाई रड प्रहारबाट घाइते विक्रमले समेत स्वीकार गरेका छन् । उनले भने, ‘मलाई रड प्रहार गर्नेमध्ये शैलेन्द्रले मेरै गाउँमा गएर ६० लाखको सुपारी आएको भन्दै हत्या गर्ने युवाको खोजी गरेको रहेछ । उनको प्रस्तावलाई युवाहरूले अस्वीकार गरेछन् । ती युवा मकहाँ आएर सबै वृत्तान्त बताए । म छक्क परेँ ।’

शंकाको सुई बेलायत निवासी लक्ष्मी राईतर्फ 
गत वर्षको कात्तिकमा विक्रमलाई अफिसको बैठक हलमा कसैले टेलिफोनमा भन्यो, ‘तिमीविरुद्ध ज्यान मार्ने गरी ठुलो षड्यन्त्र हुँदै छ । त्यसको सबै सूचना मसँग छ ।’ बैठक हलबाट बाहिरिएका विक्रम झसंग भए । टेलिफोन संवादलाई थाती राख्दै उनी पुनः नियमित काममा लागे । घर पुगेपछि भने उनी निदाउन सकेनन् । भोलिपल्ट बिहानै उनले अघिल्लो दिनको टेलिफोन नम्बरमा ‘रिडायल’ गरे । फोनमा अपरिचितले भन्यो, ‘मसँग सबै सूचना छन् । लिने हो भने तीन लाख रुपैयाँ दिनुपर्छ ।’

अपरिचित व्यक्तिको संवादले विक्रमलाई झन् कुतूहल बनायो । उनी तीन लाख रुपैयाँ बुझाएर सूचना खरिद गर्ने निष्कर्षमा पुगे । त्यसका लागि उनले ती युवासँग बैंकको खाता नम्बर मागे । तर, अपरिचितले खाता नम्बर दिन अस्वीकार गर्‍यो । पटक–पटकको आग्रहपछि अपरिचित व्यक्तिले खाता नम्बर दिए । विक्रमले प्रहरीको सहयोगमा खाताको डिटेल खोजे । अन्ततः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कैलालीबाट खातावाला सागर कडायतलाई पक्राउ गर्‍यो । सिआइबीले उनीविरुद्ध अनुसन्धान सुरु गर्‍यो । बयानका क्रममा उनले भने, ‘यी सबै षड्यन्त्रको पछि लक्ष्मी राई संलग्न छिन् ।’

जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले सिआइबीले एक वर्षअघि तयार परेको सोही फाइललाई आधार मानेर अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ । परिसरले कडायतको बयानसहितको सबै प्रतिवेदन कार्यालय ल्याइसकेको छ । घटनाको अनुसन्धानमा संलग्न परिसरका अनुसन्धान अधिकृतले भने, ‘विक्रमलाई हत्या गर्ने उद्देश्यले नै रड प्रहार भएकोजस्तो देखिन्छ ।’

लक्ष्मी र विक्रमबिच के छ रिसइबी ?
विक्रमका अनुसार भोजपुरकी ५० वर्षीया लक्ष्मी राई आफन्त पर्छिन् । लक्ष्मीले विक्रमका दाइ दीपेश लामासँग १२ वर्षअघि बेलायतमा विवाह गरेकी थिइन् । उनले बेलायतमै लक्ष्मी ज्वेलर्स नामक सुन पसल खोलेकी थिइन् । पसल श्रीमान् दीपेशलाई सञ्चालन गर्न दिएर उनी नेपाल बस्थिन् । नेपाल रहँदा उनको उठबस हुन्डी र सुन तस्करीमा संलग्न जीवन चलाउनेसँग थियो । त्यसबाहेक अन्य पुरुषसँग लक्ष्मीको बाक्लो उठबस थियो । विक्रमले यसको अन्तरंग दृश्यसमेत फेला पारे । त्यसपछि लक्ष्मीको अन्य सूचनाको खोजीमा विक्रम लागे ।

यसक्रममा उनले दाजु दीपेशसँग विवाह गर्नुअघि नै तीन युवासँग विवाह गरेको तथ्य फेला परे । सबै विवरण दाजु दीपेशलाई भने । त्यसपछि लक्ष्मी र दीपेशबीच सम्बन्धविच्छेद भयो । सोही रिसइबी साँध्न लक्ष्मीले आफूमाथि सांघातिक हमला गर्न लगाएको विक्रमले नयाँ पत्रिकासँग भने, ‘मेरो कसैसँग दुस्मनी छैन । जसले मलाई रड प्रहार गरे उनीहरूलाई म चिन्दिनँ । ममाथि यसअघि पनि ज्यान मार्नेेदेखि लागुऔषध र सुन तस्करीमा फसाउने षड्यन्त्र भए । षड्यन्त्रमा मेरी पूर्वभाउजू लक्ष्मीको संलग्नता रहेको तथ्य प्रहरीकै अनुसन्धानबाट देखियो । यसपटकको आक्रमण पनि उनकै योजनाअनुसार भएको मेरो बुझाइ छ ।’ लक्ष्मी बेलायती नागरिक हुन् । उनले नेपाली नागरिकता पनि प्रयोग गर्दै आएकी छिन् । उनीसँग बेलायती र नेपाली दुवै राहदानी छ ।