
सरकारले नारायणहिटी दरबार संग्रहालयआसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि राजावादीहरूले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन् । संयुक्त जनआन्दोलन समितिको आह्वानमा उनीहरूले नारायणहिटीअगाडि प्रदर्शन गर्ने योजना बनाएका थिए । तर, निषेधाज्ञाका कारण निर्धारित स्थानमा भेला हुन नपाएपछि प्रदर्शनकारी रत्नपार्कमा जम्मा भई बालुवाटारतर्फ अघि बढेका थिए ।
बालुवाटार पुगेपछि प्रदर्शनकारी प्रधानमन्त्री निवासतर्फ अघि बढ्ने प्रयास गरेका थिए । जसक्रममा सुरक्षाकर्मी र उनीहरूबिच केहीबेर धकेलाधकेलसमेत भएको थियो । प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध नाराबाजी गरिएको थियो ।
सुरुमा रत्नपार्कमा भेला भएका उनीहरू राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै नारायणहिटी दरबारतर्फ अघि बढ्न खोजेका थिए । तर, प्रहरीले नारायणहिटीतर्फ बढ्न नदिएपछि नक्साल हुँदै बालुवाटार मोडिए । बालुवाटार पुगेर आन्दोलनकारीले नाराजुलुस, नाचगान र सभा गरे । राजावादीले नारायणहिटीमा प्रदर्शनको घोषणा गरेपछि सरकारले त्यस स्थानमा निषेधित क्षेत्र घोषणा गरेको थियो ।
समितिका संयोजक नवराज सुवेदीले दरबारमार्ग क्षेत्रमा सरकारले लगाएको निषेधाज्ञाले जनआन्दोलन सफलताको दिशामा अघि बढिरहेको स्पष्ट भएको दाबी गरे । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि शान्तिपूर्ण आन्दोलनलाई निर्णायक तहमा पुर्याउने उनको दाबी छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शान्तिपूर्ण बाटोबाट नवीन समझदारीका लागि बाध्य पार्ने बताए । जनताको अवस्था र देशको व्यवस्था बदल्नुको विकल्प नभएको उनले बताए । ‘हामी शक्ति प्रदर्शन र शक्ति सञ्चय गर्दै क्रमशः अघि बढ्छौँ र बढ्दै छौँ,’ उनले भने, ‘राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजीजस्ता एजेन्डा लिएर अघि बढ्ने देशभक्त शक्तिहरू कमजोर होइन, झन् सबल, मजबुत र शक्तिशाली हुन्छन् ।’
सभामा राप्रपा सांसदद्वय ज्ञानेन्द्र शाही र दीपक सिंह तथा नेवाः समुदायको तर्फबाट रञ्जिता क्षेत्रलगायतले सम्बोधन गरेका थिए । उनीहरूले देशमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, जनजीविकाको विषय कमजोर भएको बताउँदै व्यवस्था परिवर्तन हुनुपर्ने बताएका छन् ।
समितिका अनुसार आन्दोलनमा ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह सहभागी छन् । हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीले जनाएका छन् ।
त्यसैबिच आइतबार नक्साल नारायणचौरमा दिउँसो २ बजे प्रदर्शन गर्ने तय भएको श्रेष्ठले जानकारी दिए ।
सरकार डराएर निषेधित क्षेत्र घोषणा गर्यो : राप्रपा
राप्रपाले सरकारले डराएर निषेधित क्षेत्र घोषणा गरेको ठहर गरेको छ । शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलनपछि सरकारले डराएर निषेधाज्ञा तोक्नुले सरकारको कमजोर धरातल पुष्टि भएको ठहर गरेको हो । ‘हाम्रो आन्दोलन सफलतातिर अगाडि बढ्दै छ । हामी लक्ष्यतर्फ अगाडि बढ्दै छौँ । हाम्रो प्रदर्शन हुन्छ भनेर सरकारले डराएर निषेधित क्षेत्र घोषणा गर्यो । हाम्रो आन्दोलन कसैले छेकेर छेकिँदैन,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकपछि भने ।