१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
टेकराज थामी काठमाडाैं
२o८२ जेठ १९ सोमबार o६:१४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ नक्कली ऋणी बनाएर साढे दुई अर्ब घोटाला

०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट बनेका थिए उम्मेदवार

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार o६:१४:oo

नक्कली ऋणी बनाएर साढे दुई अर्ब अपचलन गरेका कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष एवं पूर्वसिइओ राजेन्द्रवीर राय पक्राउ परेका छन् । सिआइबीले उनलाई शनिबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका– १, बेलहियाबाट पक्राउ गरेको हो । 

नेपालगन्जको कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले ११ पुस ०८१ मा समस्याग्रस्त घोषणा गरेको थियो । त्यसलगत्तै राष्ट्र बैंकले तीन सदस्यीय व्यवस्थापन समूह गठन गरी उक्त बैंकमा भएको अनियमितताको पनि अनुसन्धान गरेको थियो । नक्कली ऋणी खडा गरेर बैंकको साढे दुई अर्बभन्दा धेरै हिनामिना भएको अनुमानसहित घटनाको थप अनुसन्धान गर्न सिआइबीमा जाहेरी दिएको थियो । 

सिआइबी प्रवक्ता एसपी युवराज खड्काले नक्कली ऋणी खडा गरेर दुई अर्ब ५० करोडभन्दा धेरै अपचलनको सम्बन्धमा अनुसन्धान सुरु भएको र बैंकका पूर्वसञ्चालक पक्राउ परेको बताए । ‘बैंकमा भएको रकम अपचलनको सम्बन्धमा अनुसन्धान सुरु भएको छ । यस क्रममा बैंकको पूर्वसञ्चालक तथा पूर्वसिइओ राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनले नक्कली ऋणी खडा गरी रकम अपचलन गरेको देखिन्छ । बैंकको ‘भल्ट’ (बैंकका बहुमूल्य वस्तु, नगद र महत्वपूर्ण कागजात भण्डारण तथा सुरक्षित राखिने विशेष कोठा)बाट पनि रकम मनोमानी ढंगले झिकेको देखिन्छ ।’ 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका– २० का राय राष्ट्र बैंकले कर्णाली विकास बैंकको अनुसन्धान सुरु गरेलगत्तै फरार थिए । ०७० मा उक्त बैंक स्थापना गरेका उनलाई ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले सल्यानबाट टिकट दिएको थियो । उनले स्थापनालगत्तै बैंकमा जम्मा भएका निक्षेप अपचलन सुरु गरेका थिए । कर्णाली विकास बैंकको व्यवस्थापन अहिले राष्ट्र बैंकले लिएको छ । 

बाँकेको नेपालगन्ज उपमहानगर– २० का राजेन्द्रवीर राय राष्ट्र बैंकले कर्णाली विकास बैंकको अनुसन्धान सुरु गरेलगत्तै फरार थिए । ०७० मा उक्त बैंक स्थापना गरेका उनलाई ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले सल्यानबाट टिकट दिएको थियो । उनले स्थापनालगत्तै बैंकमा जम्मा भएका निक्षेप अपचलन सुरु गरेका थिए । कर्णाली विकास बैंकको व्यवस्थापन अहिले राष्ट्र बैंकले लिएको छ । 

रकम हिनामिनामा पूर्वसिआइओ दिनेशकुमार रावत, पूर्ववित्त प्रमुख वेदप्रकाश सिंह र वर्तमान सिआइओ नीरजविक्रम शाह पनि संलग्न रहेको देखिएको छ । त्यस्तै, बैंकमा अन्य कर्मचारीको समेत संलग्नता देखिए पनि मुख्य योजनाकार राय नै रहेको सिआइबी प्रवक्ता खड्काले बताए । ‘बैंकको रकम हिनामिना गर्नेमा अरूको पनि भूमिका छ । ती कर्मचारी तल्लो दर्जाका छन् । तर, मुख्यगरी रकम हिनामिनामा राय नै संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । नयाँ तथ्य खुल्दै जलान्,’ उनले भने । हिनामिनामा संलग्न राय ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको टिकटमा सल्यानबाट उम्मेदवारसमेत बनेका थिए । उनी एकीकृत समाजवादीका नेता प्रकाश ज्वालासँग २२ हजार ६६८ मतले हारेका थिए । निर्वाचनमा १३ हजार ३९ मत ल्याएका उनी निर्वाचनमा तेस्रो भएका थिए । ज्वाला ३५ हजार ७०७ मत ल्याएर विजयी भएका थिए । 

अध्ययनमा अपचलनको अनुमानपछि राष्ट्र बैंकले नै सिआइबीलाई गरेको थियो सिफारिस
बैंकको कुल पोर्टफोलियो चार अर्ब ६५ करोड थियो । त्यसमध्ये दुई अर्ब ५० करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको थियो । बैंकको उद्धार गर्न राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेलगत्तै बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको थियो ।

समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाह सदस्य छन् । १० पुस ०८१ मा राष्ट्र बैंकले उक्त बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको भोलिपल्ट ११ पुसदेखि समूहले बैंकको जिम्मेवारी सम्हालेको थियो । 

आफूहरूले दुई अर्ब ५० करोडभन्दा धेरै अपचलन भएको अनुमानसहित २९ पुस ०८१ मा सिआइबीमा जाहेरी दिएको व्यवस्थापन समूह संयोजक खतिवडाले बताए । ‘हामीले अनुसन्धान गर्दा दुई अर्ब ५० करोडभन्दा धेरै अपचलन भएको अनुमान गर्‍यौँ । कर्जाको अनुसन्धान गर्दै जाँदा एकपछि अर्काे अपचलनका विषय जोडिँदै गएकाले यो रकम थप बढ्न सक्ने देखिन्छ ।

उनले भने, ‘२९ पुसमा पहिलो जाहेरी दिएपछि पूरक जाहेरी पनि दिएका थियौँ ।’ कर्णाली विकास बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने देखिएकाले समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ । 

 युवराज खड्का, प्रवक्ता, सिआइबी
बैंकमा भएको रकम अपचलनको सम्बन्धमा अनुसन्धान सुरु भएको छ । यस क्रममा बैंकको पूर्वसञ्चालक तथा पूर्वसिइओ राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनले नक्कली ऋणी खडा गरी रकम अपचलन गरेको देखिन्छ । बैंकको ‘भल्ट’ (बैंकका बहुमूल्य वस्तु, नगद र महत्वपूर्ण कागजात भण्डारण तथा सुरक्षित राखिने विशेष कोठा)बाट पनि रकम मनोमानी ढंगले झिकेको देखिन्छ ।