
पश्चिम नेपालको पहाड र तराई क्षेत्र जोड्ने सिद्धार्थ राजमार्ग निर्माण भएको ५४ वर्षपछि स्तरोन्नति हुने भएको छ । भारतको आर्थिक सहयोगमा सन् १९६४ मा सुरु भएको एक सय ८२ किलोमिटर यो राजमार्ग (सुनौली–पोखरा)को निर्माण सन् १९७१ मा सम्पन्न भएको थियो । पाँच दशकपछि अहिले एक सय ५८ किमि लामो बुटवल–पोखरा खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्न लागिएको हो ।
यो सडक पर्यटन, व्यापारिक तथा आर्थिक क्रियाकलापका लागि निकै महत्वपूर्ण मानिन्छ । तर, अहिले उक्त सडकको चौडाइ ५.५ मिटरदेखि ६ मिटरसम्म मात्रै हुँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । अर्थात्, उक्त सडकमा दोहारो रूपमा सवारीसाधन वारपार गर्न सक्दैनन् । लामो समयसम्म स्तरोन्नति नहुँदा कतिपय ठाउँमा सडक जीर्ण अवस्थामा पुगेको पनि थियो । तर अब यसको स्तरोन्नति गर्न आगामी आवको बजेटमा यसलाई समावेश गरिएको छ ।
‘आर्थिक वर्ष ०८२/८३ मा पर्यटन प्रवद्र्धन तथा आर्थिक क्रियाकलाप विस्तारका दृष्टिले उच्च सम्भावना रहेको सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने कार्य प्रारम्भ गरिनेछ,’ बजेटको बुँदा नम्बर २५१ भनिएको छ । सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले अब उक्त सडकको स्तरोन्नति गर्ने कार्य अघि बढ्ने बताए । ‘यो सडक स्तरोन्नति गर्न खोजेको पहिलेदेखि नै हो । अहिले बल्ल बजेटमा परेको छ । अब यसको काम अघि बढ्नेछ,’ उनले भने, ‘तर, बजेटमा डेडिकेटेड डबल लेन भनेर लेखिएछ, त्यो विषयमा भने हामीले थप बुझ्नुपर्छ ।’
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो गृहजिल्लासँग जोडिएकाले पनि यो परियोजना बजेटमा समावेश गरेका हुन् । यद्यपि, यो सडक स्तरोन्नति गर्न पनि उत्तिकै आवश्यक रहेको विभागका अधिकारीहरू बताउँछन् । ‘डेडिकेटेड डबल लेन’मा कुनै एक लेनमा गाडी बिग्रिएर रोकिए पनि बाँकी भएको ठाउँमा दोहोरो रूपमै सवारीसाधन आवतजावत गर्न सक्नेछन् । दुई लेन सडकमा भने कुनै एक लेनमा गाडी बिग्रिएर रोकिएमा एकतर्फी मात्रै यातायात सञ्चालन गर्न सकिनेछ ।
सडक विभागाले १५७.९५ किमि लामो बुटवल–पोखरा सडकखण्डलाई स्तरोन्नति गर्न यसअघि नै विस्तृत परियोेजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकनलगायतका प्रतिवेदन तयार गरिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन हाल स्वीकृतिका लागि वन मन्त्रालयमा रहेको छ । वन मन्त्रालयले सार्वजनिक सुनुवाइका लागि गत ६ चैतमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक पनि गरिसकेको छ । उक्त प्रतिवेदनअनुसार यस सडकखण्डलाई कम्तीमा सात मिटर क्यारिजवेमा विस्तार गरिनेछ । सडकको दुवैतर्फ थप १.५ मिटरको सोल्डर र एक मिटरको नाला पनि निर्माण गरिनेछ । डेडिकेटेड दुई लेनको सडक बनाउने भएमा यो डिजाइन तलमाथि हुन सक्नेछ ।
‘यस सडकको चौडाइ ठाउँ–ठाउँमा साँघुरो (५.५ मि–६ मि)सम्म रहेको भएर, यस आयोजनाको मुख्य उद्देश्य सडकखण्डलाई कम्तीमा पनि सात मिटर क्यारिजवे, सडकको दुवैतर्फ १.५ मिटरको सोल्डर र एक मिटरको नालासहितको बाह्रैमास सुचारु रहने दुई लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्नुका साथै सडकमा पर्ने पुलहरूको पनि आवश्यकताअनुसार मर्मत–सम्भार गरिनेछ,’ वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा भनिएको छ । बजार क्षेत्रमा भने चार लेनको सडक बनाउने योजना रहेको सडक विभागका प्रवत्ता अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।
निर्माण अवधि चार वर्ष, सुरुङ र भायाडक्टसहित पौने २० अर्ब लागत
प्रतिवेदनअनुसार परियोजनाको निर्माण अवधि चार वर्ष रहेको छ । त्योबाहेक त्रुटि सच्याउन थप एक वर्ष समय लाग्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । आयोजनाको कुल लागत भने पौने २० अर्ब हुने अनुमान गरिएको छ । त्यसमा सडक स्तरोन्नतिमा मात्रै १० अर्ब ३८ करोड ७० लाख लाग्ने रुपैयाँ अनुमान गरिएको छ । यसैगरी प्रस्तावित सुरुङ र भायाडक्ट बनाउन नौ अर्ब ३७ करोड २० लाख लागत अनुमान गरिएको छ । यसरी परियोजनाको कुल लागत भने १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
पुतली बजारमा बाइपास बनाइने
प्रतिवेदनअनुसार स्याङ्जाको पुतली बजार भने बाइपास बनाउने प्रस्ताव गरिएको छ । यदि कुनै सहरी क्षेत्रमा दुई लेनको सडकको निर्माण गर्न सम्भव छैन भने त्यहाँ बाइपास निर्माण गर्ने गरिन्छ । ‘हाल स्याङ्जाको पुतलीबजारको सडकमा धेरै घुम्ती रहेको र सडकको दुवै छेउमा बाक्लो बस्ती, व्यापारिक र आवासीय संरचनाहरू रहेका कारण नेपाल सरकारले पनि त्यहाँ सडकको क्षेत्राधिकार १३ मिटर तोकिदिएको छ ।
भविष्यमा १३ मिटरभन्दा चौडा सडकमा विस्तार गर्नुपरे सडकको दुवै छेउका संरचना भत्काउनुपर्ने हुन्छ । त्यसो गर्दा अधिकतम क्षतिपूर्तिको भुक्तानी गर्नुका साथसाथै स्थानीयको जीविकोपार्जनमा पनि प्रतिकूल असर पर्ने हुनाले स्थानीयको सम्भावित विरोध पनि सामना गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो सामाजिक द्वन्द्व ननिम्त्याउन त्यहाँ बाइपास निर्माणको प्रस्ताव गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
पाँचवटा सुरुङमार्ग बनाउने प्रस्ताव
यो राजमार्गमा पाँचवटा सुरुङ बनाउने प्रस्ताव पनि गरिएको छ । त्यसमा एक हजार एक सय २६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग अहिले निर्माणकै चरणमा छ । गत ११ माघमा उक्त सुरुङ छिचोलिएको थियो । त्योबाहेक थप चार ठाउँमा सुरुङ बनाउने प्रस्ताव गरिएको छ । मायातारीमा एक सय ३२ मिटर, स्याङ्जामा ९९ मिटर, सामकोशमा एक सय तीन मिटर र भालु पहाडमा एक सय ९१ मिटरको सुरुङ बनाउने प्रस्ताव गरिएको छ ।
मायातारीले तीन सय ४० मिटर, स्याङ्जाले तीन सय ४० मिटर, रामकोशले दुई सय मिटर र भालुपहाडले पाँच सय ८० मिटर सडकको लम्बाइ घटाउनेछ । यसैगरी विभिन्न ३८ ठाउँमा भायाडक्ट बनाउने प्रस्ताव गरिएको छ । त्यसमा आठ मिटरदेखि ९२ मिटर लामो भायाडक्ट बनाउने प्रस्ताव गरिएको छ । त्यसको उचाइ भने ६ देखि २० मिटरसम्म हुने प्रतिवेदनमा उल्लेख छ । यी भायाडक्टको कुल लम्बाइ ७७७.६ मिटर हुनेछ । यसले सडकको लम्बाइ ४.४२ किमि घटाउने प्रतिवेदनमा उल्लेख छ ।